Fast Nepal News

बजार नपाउँदा अदुवा कुहिने चिन्ता

banner single news

तनहुँ — २० माघ २०७८

तनहुँ , जिल्लाको दक्षिणी भेगका किसानले उत्पादन गरेको अदुवाले बजार पाएको छैन । अदुवा खरिद गर्न ग्राहक नआएका र आएकाले पनि विभिन्न बहाना बनाएर भाउ घटाउँदा बिक्री गर्न नसकेको किसानहरू बताउँछन् । जसका कारण खनिएको र खन्न बाँकी दुवै अदुवा कुहिने हो कि भन्ने चिन्तामा किसानहरू छन् । ‘वैशाखमा प्रतिधार्नी दुई सयमा बीउ खरिद गरी अदुवा लगाएको हुँ । अहिले बिचौलियाहरू विभिन्न बहाना बनाएर प्रतिधार्नी ७०/८० रुपैयाँ दिन्छु भन्छन् । त्यसैले बेचिनँ,’ ऋषिङ गाउँपालिका–४ भीरकोटका टंक श्रेष्ठले भने, ‘करिब ४ सय धार्नी अदुवा खनिसकेको छु । २ सय धार्नी अझै बारीमै छ । यस क्षेत्रका सबैजसो किसानले उचित मोलभाउ नपाउँदा अदुवा खनेका छैनन् । कतै बारीमै कुहिने त होइन भन्ने चिन्ता लाग्न थालेको छ ।’ गत वर्ष १ सय २० रुपैयाँ धार्नीमा बेचिरहेको अदुवा यस वर्ष मूल्य बढ्लाभन्दा झनै कम मूल्यमा माग्न आउँदा निराश बनेको अर्का किसान पुष्प श्रेष्ठले बताए । ‘करिब ५ सय धार्नी अदुवा छ । अहिले त ग्राहक किन्न आएको पनि देख्दिनँ,’ उनले भने, ‘यसलाई न पोलेर खाना मिल्ने न उसिनेर ।

बीउ राखौं भने पनि धेरै हुन्छ । व्यापारीले प्रत्यक्ष किसानसँग नभेट्दा हामी मारमा छौं ।’ काँचो अदुवाले बजार नपाएपछि सुठो बनाएर बिक्री गर्न किसानहरूबीच छलफल पनि भइरहेको उनले बताए । ‘काँचो अदुवा घाटा खाएर बेच्नुभन्दा सुठो बनाएर बेच्दा मोलभाउ नि राम्रो पाइन्छ भन्ने सुनेका छौं, त्यसैले हामी सुठो बनाउने तयारीमा छौं,’ उनले भने । काँचो अदुवाले बजार नपाएकै कारण ३ वर्षदेखि सुठो बनाएर बिक्री गर्दै आएको बताउँछन् घिरिङ–२ भीरकोटका शेरबहादुर थापा । उनका अनुसार काँचो अदुवाभन्दा सुठो बिक्री गर्दा फाइदा भएको छ । गतवर्ष एक हजार रुपैयाँ धार्नीमा सुठो बेचेका उनले अहिले ७ सय रुपैयाँ धार्नीमा बेच्ने तयारी गरेका छन् । ‘घिरिङका अधिकांश किसानले अदुवा सुठो बनाएर नै बिक्री गर्ने गर्छन् । नारायणघाट, तराई क्षेत्र र छिमेकी मुलुक भारतबाट समेत अदुवा खरिद गर्न आउने गर्छन्,’ उनले भने । पुर्खौदेखि अदुवा खेती गर्दै आएका भीमाद नगरपालिकाका किसान चूणामणि गर्जाका अनुसार स्थानीय नै बिचौलिया बनेर किसानबाट कम मूल्यमा खरिद गर्ने र उच्च मूल्यमा व्यापारीलाई बिक्री गर्न लागि परेका छन् । भने, ‘व्यापारीसँगै प्रत्यक्ष कुराकानी गरी बिक्री गर्न पाए हामी किसान पनि मारमा पर्ने थिएनौं ।’

Inside Article Ads

स्थानीय सरकारले पनि किसानका उत्पादन बजारीकरणमा त्यति चासो नदिएको किसानको गुनासो छ । जिल्लाको भीमाद नगरपालिका, ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाका ग्रामीण क्षेत्रका किसानले व्यावसायिक रूपमा अदुवा खेती गर्छन् । तर यो सिजनमा अदुवाको बजारीकरणमै समस्या भएपछि धेरै किसानले अदुवा खनेकै छैनन् । यहाँ उत्पादित अदुवा स्थानीय बजार, पोखरा, नारायणघाट र भारतमा बढी बिक्री हुने गरेको छ । भारतबाट माग घटेका कारण उत्पादित अदुवाले बजार नपाएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी बताउँछन् । उनका अनुसार यस वर्ष किसानले ५ सय १५ हेक्टर क्षेत्रफलमा अदुवा लगाएका छन् । ७ हजार ६ सय टन अदुवा उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष ५ सय १२ हेक्टर क्षेत्रफलबाट ७ हजार ५ सय ८० टन अदुवा उत्पादन भएको थियो ।              

( कान्तिपुर दैनिक )

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.