
मेलबर्न — १६ माघ २०७८
मेलबर्न , एस्ली बार्टीले ४४ वर्षयता अस्ट्रेलियन ओपन जित्ने पहिलो घरेलु खेलाडी हुनुलाई आफ्नो सबैभन्दा ठूलो सपना पूरा भएको मानेकी छन् । विश्व नम्बर एक खेलाडी बार्टी दोस्रो सेटमा एक समय २७ औं वरीयताकी अमेरिकी डेनियल कोलिन्सविरुद्ध ५–१ ले पछाडि परेकी थिइन् । तर, उनले उत्कृष्ट पुनरागमन रच्दै खेल ६–३, ७–६ (७/२) ले जितिन् । उनले जितेको यो तेस्रो ग्रान्ड स्लाम हो । यसअघि २५ वर्षीया बार्टीले सन् २०१९ मा फ्रेन्च ओपन र गत वर्ष विम्बल्डन जितेकी थिइन् । सेरेना विलियम्सपछि अहिले सक्रियमध्ये बार्टी तीन फरक कोर्टमा उपाधि जित्ने पहिलो खेलाडी पनि भएकी छन् । उनी भन्छिन्, ‘मेरा लागि सपना पूरा भएजस्तै हो । मलाई अस्ट्रेलियाली भएकामा धेरै गर्व छ ।’
नडाल र मेदभेदेभको भिडन्त
पुरुषतर्फ उपाधिका लागि आइतबार रुसी खेलाडी डानियल मेदभेदेभले र स्पेनिस राफेल नडाल भिड्ने छन् । नडालको सम्भावित महानताविरुद्ध तगारो तेर्स्याउने खेलाडी भेदभेदेभ हुनसक्ने छन् । नडाल टेनिस इतिहासमै सर्वाधिक ग्रान्ड स्लाम उपाधि जित्ने खेलाडी बन्ने अभियानमा छन् । ३५ वर्षीय नडालले २० ग्रान्ड स्लाम उपाधि जितेका छन् । उनी आफ्नो स्वर्णिम पुस्ताका खेलाडी सर्बियाका नोभाक जोकोभिच र स्विट्जरल्यान्डका रोजर फेडेररको बराबरीमा छन् । त्यसमध्ये जोकोभिचलाई अस्ट्रेलिया पुगेर पनि कोरोनाविरुद्धको खोप नलिएको हुनाले घर फर्काइएको थियो । फेडेरर भने चोटका कारण उपचारमा संलग्न छन् । यसको अर्थ स्पेनी खेलाडी नडालसामु आइतबारको फाइनल जितेर जोकोभिच र फेडेररलाई उछिन्ने अवसर हुनेछ । नडाल अब छैटौंपल्ट मेलबर्नमा फाइनल खेलिरहेका छन् । त्यसमध्ये सन् २००९ मा एकैपल्ट मात्र उनी विजयी रहेका छन् ।
अब मेदभेदेभसामु लगातार दोस्रो ग्रान्ड स्लाम जित्ने अवसर हुनेछ । गत वर्षको अन्तिम ग्रान्ड स्लाम फाइनलमा उनले जोकोभिचलाई यूएस ओपनमा हराएका थिए । यसक्रममा उनले जोकोभिचको लगातार चार ग्रान्ड स्लाम जित्नेक्रम तोडेका थिए । अब उनीसामु नडाललाई यस्तै ठूलो उपलब्धिबाट रोक्ने अवसर हुनेछ । फाइनल प्रवेश निश्चित भएपछि मेदभेदेभले भने, ‘म त्यस्तो महान खेलाडीविरुद्ध खेल्न गइरहेको छु, जसको लक्ष्य २१ औं ग्रान्ड स्लाम जित्ने छ । म यो चुनौतीका लागि तयार छु । मलाई के थाहा छ भने नडाल निकै शक्तिशाली खेलाडी हुन् र उनलाई हराउन मैले आफ्नो खेलजीवनकै उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।’ अर्कोतर्फ नडालले भने २१ कीर्तिमानी ग्रान्ड स्लाम उपाधिमा आफ्नो ध्यान कम रहेको दाबी गरेका छन् । उनी मान्छन्, प्रतियोगिता आफैंमा ठूलो हो ।
( कान्तिपुर दैनिक )
