Fast Nepal News

नाकामा खोप लगाउन आनाकानी

banner single news

धनगढी, कञ्चनपुर — २८  पुस २०७८

धनगढी, कञ्चनपुर, कोरोना संक्रमितको संख्या दैनिक दोब्बरभन्दा बढी भइरहेको सुदूरपश्चिममा भारतबाट भित्रिनेहरूले कोरोनाविरुद्धको खोप लगाउन आनाकानी गरिरहेका छन् । गौरीफन्टास्थित हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार भारतबाट आउनेले खोप लगाउन आलटाल गर्छन् । ‘खोप नलगाएकालाई आग्रह गर्ने गरेका छौं तर धेरैले पछि लगाउँछु भनेर टार्नुहुन्छ,’ इन्चार्ज साउदले भने, ‘जबर्जस्ती गर्ने कुरा पनि भएन । कतिपय त लाइनबाटै फुत्केर निस्कने गरेका छन् ।’ गौरीफन्टाबाट दैनिक सात सयदेखि एक हजारको संख्यामा स्वदेश फर्किरहेका छन् । तीमध्ये दैनिक सरदर डेढ सय हाराहारीले मात्र खोप लगाउने गरेको उनले बताए । ‘लगभग सबैको एन्टिजेन परीक्षण गर्ने प्रयास गरिरहेका हुन्छौं,’ उनले भने, ‘कतिपय परीक्षण गर्न पनि मान्नुहुन्न ।’

सुदूरपश्चिममा कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र खक्रौला नाकामा खोप लगाउन सुरु गरिएको छ ।  दुई महिनादेखि नाकामै भेरोसेल र अस्ट्राजेनेका खोप उपलब्ध छ । बैतडीको झुलाघाट नाकाबाट भित्रिनेलाई जिल्ला अस्पताल पठाएर खोप दिने गरिएको छ । बाजुराको बुढीगंगा नगरपालिका–९ खारेखेतका अजित लुहार मंगलबार परिवारसहित घर फर्किए । भारतको बैंग्लोरमा काम गर्ने उनी संक्रमण बढेपछि फर्किएका हुन् ।

Inside Article Ads

‘कोरोना बढेपछि काम पाउन पनि गाह्रो हुन थाल्यो,’ उनले भने, ‘सातामा दुई/तीन दिन लकडाउन हुने भएकाले खाली बस्नुपर्छ ।’ परिवारलाई समेत जोखिम हुने भएकाले श्रीमती र छोरालाई लिएर आएको उनले बताए । उनी ५ महिनाअघि परिवारसहित बैंग्लोर पुगेका थिए । यतिबेला दैनिक ७/८ सयको संख्यामा घर फर्किरहेका छन् । मंगलबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा ७१ जनामा संक्रमण पुष्टि भएको छ । नाकामै परीक्षणसँगै खोप पनि लगाउने गरिएको छ । उनीहरूलाई जान्सन खोप लगाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए ।

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.