Fast Nepal News

फरार अभियुक्त धमाधम पक्राउ

banner single news

अर्घाखाँची — २६ पुस २०७८

अर्घाखाँची , अर्घाखाँची अदालतले सार्वजनिक अपराधको मुद्दामा जरिवाना गरेपछि फरार रहेका भूमिकास्थान नगरपालिका–६ खिल्जीका सीता नेपाली र पार्वता नेपालीलाई ६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । अदालतले २०७२ फागुन १ गते सार्वजनिक अपराध मुद्दामा ४ हजार ८ सय रुपैयाँ जरिवाना फैसला गरेको थियो । त्यसपछि उनीहरू फरार थिए । घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले विशेष सूचनाका आधारमा साताअघि पक्राउ गरेको हो । अदालतले फैसला गरेको जरिवाना रकम असुल गरेको प्रहरी निरीक्षक गणेश खनालले बताए । ‘कानुनविपरीत गतिविधि गरेका सार्वजनिक अपराधदेखि अन्य उद्योगमा फरार रहेका व्यक्तिलाई विशेष सर्च गरेर पक्राउ गरेका छौं,’ उनले भने, ‘भागेर जहाँ गए पनि ढिलोचाँडो पक्राउ परिहाल्छन् ।’

Inside Article Ads
प्रहरीले अपराध गरेर फरार रहेकालाई पछिल्लो समय धमाधम पक्राउ गरेको छ । बिनाइजाजत सालका रुख कटान गरी फरार रहेका सितगंगा नगरपालिका–११ का ४८ वर्षीय बखानजंग आलेलाई प्रहरीले पक्राउ गरेको छ । २०६९ सालमा उनलाई अर्घाखाँची अदालतले बिनाइजाजत सालका रुख कटान गरेको मुद्दामा ४२ हजार ५ सय ९२ रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो । उनी जरिवाना नतिरी घरमै छुकीछिपी बसेका थिए । प्रहरीले साताअघि पक्राउ गरेपछि उनले पनि रकम तिरेका छन् । सिद्धारकै भविश्वर पल्लीलाई पनि बिनाइजाजत सालका रुख कटान मुद्दामा अदालतले ०६९ सालमा ४२ हजार ५ सय ९२ रुपैयाँ जरिवानाको फैसला गरेको थियो । जरिवाना नतिरी घरमा लुकेर बसेका उनले प्रहरीले पक्राउ गरेपछि रकम तिरे ।
सन्धिखर्क नगरपालिका–१० सन्त नेपालीलाई अर्घाखाँची अदालतले बहुविवाह मुद्दामा ११ महिना ८ दिन सजाय सुनाएको थियो । उनी तम्घासमा लुकेर बसेको अवस्थामा प्रहरीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएपछि उनी अहिले कारागारमा छन् । यस आर्थिक वर्षमा १० भन्दा बढी यस्ता फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । अदालतले कैद सजाय र जरिवाना फैसला सुनाएका मुद्दामा धेरै फरार रहने गर्छन् । ‘कैद र जरिवाना फैसना सुनाएका फरार अभियुक्त वर्षौंपछि पनि पक्राउ परेका छन्,’ प्रहरी नायब उपरीक्षक अम्मर थापाले भने, ‘कोही पनि उम्किन पाउँदैन । सार्वजनिक र विभिन्न अपराधमा सजाय सुनाइएका व्यक्तिलाई प्रहरीले विशेष सर्च गरेरै खोजी गर्छ ।’         

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.