
रुकुम पश्चिम — ६ पुस २०७८
रुकुम पश्चिम, निर्माण सुरु भएको झन्डै ४ वर्षपछि मुसीकोट नगरपालिका–३ धैरेनीचौरमा ३३/११ केभी र ३ एमभीएको विद्युत् सबस्टेसन निर्माण भएको छ । रुकुम पश्चिम र रुकुम पूर्वको विद्युत् समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले झन्डै ८ करोड रुपैयाँको लगानीमा सबस्टेसन तयार गरेको हो । २०७५ वैशाखमा सबस्टेसन निर्माणको जिम्मा लिएको वाइबा कन्स्ट्रक्सनले २०७७ वैशाख ३१ मा काम सक्ने गरी सम्झौता गरेको थियो । तर कम्पनीको ढिलाइले बल्ल सबस्टेसन निर्माण भएको हो । प्राधिकरणले छिट्टै सबस्टेसन सञ्चालन हुने जनाएको छ । तयारीस्वरूप ११ दिनयता सल्यानको शीतलपाटीदेखि सबस्टेसनसम्मको विद्युत् लाइन चार्जिङको काम भइरहेको छ । लाइन चार्जिङको काम सल्यानको बागचौर नगरपालिकादेखि बांगेलाकुरीसम्म भइसकेको छ ।
रुकुम पश्चिम र रुकुम पूर्वमा गरी १६ हजारभन्दा बढी उपभोक्ताको घरमा प्राधिकरणको विद्युत् जडान भएको छ । रुकुम पश्चिमका १५ हजार उपभोक्ताको घरमा र पूर्वका १ हजार ३ सय घरमा विद्युत् लाइन जडान भएको हो । विद्युत् आपूर्ति नियमित हुने भएपछि स्थानीय पनि उत्साहित छन् । ‘भनिएअनुसार भयो भने त राम्रो भयो,’ बाँफिकोट गाउँपालिका–६ का डिलबहादुर कुसारीले भने, ‘पटकपटक गइरहने र सन्तुलनमा नभएको विद्युत्ले साह्रै दुःख दिएको छ ।’ पछिल्लो चरणमा जिल्लाका प्रायः ठाउँमा विद्युतीकरण भएको छ । तर विद्युत् नियमित नहुँदा समस्या छ । अब विद्युत् नियमित हुने भएपछि खुसी लागेको अर्का उपभोक्ता आशीराम खत्रीले बताए । ‘बत्ती अनियमित हुने भोल्टेज पनि तलमाथि भइरहँदा उपकरणमा पनि ठूलो क्षति बेहोर्नुपरेको थियो,’ उनले भने, ‘अब त्यसो हुँदैन भनिएको छ, यसबाट उत्साहित नै छौं ।’
( कान्तिपुर दैनिक )
