Fast Nepal News

गाउँमा व्यावसायिक खेतीको लहर

banner single news

गुल्मी —  ६ पुस २०७८

गुल्मी , उमेरले भर्खर २३ वर्ष पुग्दै गरेका कपिल ज्ञवालीको दैनिकी बारीमा फल्दै गरेका कृषिजन्य उपजको रेखदेखबाट सुरु हुन्छ । उनलाई सघाउन २८ वर्षीय दाजु कमल पनि बिहानै बारीमा पुग्छन् । गोलभेडा र भेडेखुर्सानी खेतीको गोडमेल गर्न पुग्छन् । भर्खरका यी दुई दाजुभाइ मिलेर गुल्मीको रुरु गाउँपालिका–४, जोर्तेपोखरामा लोभलाग्दो कृषि खेती गरिरहेका छन् । काठमाडौंको जनमैत्री कलेजबाट व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण कपिल दाजुभाइले गाउँ फर्केर व्यावसायिक कृषिमा रमाएको देखेर गाउँले छक्क परेका छन् । ज्ञवाली दाजुभाइले दाजुभाइ कृषि फर्ममार्फत ५२ रोपनी जग्गामा तरकारी खेती लगाइरहेका छन् । विगत चार वर्षदेखि व्यावसायिक खेती सुरु गरेका दाजुभाइले अहिले राम्रै आम्दानी गर्ने गरेको बताए । ‘चार वर्षअघि ३० लाख रुपैयाँ लगानी गरेका हौं,’ कपिलले भने, ‘अहिले सबै खर्च कटाए वार्षिक ४० लाख रुपैयाँजति नाफा हुन्छ ।’ होटल व्यवस्थापनमा प्रवीणता पत्र तह पूरा गरेका कमल केही समय वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेर फर्किएका हुन् ।

दुई सिजनमा तरकारी उत्पादन गर्ने ज्ञवाली दाजुभाइले एक सिजनमा सिमी–गोभी उत्पादन गर्छन्, अर्को सिजनमा टमाटर र क्याप्सीकमको उत्पादन गर्ने बताए । प्रविधिको उच्चतम् प्रयोग गरेर व्यावसायिक कृषि खेती गर्दा आफूले मिहिनेत गरे अनुसारकै प्रतिफल लिन सकिने कपिलले बताए । ‘पहिला प्रविधिका बारेमा खासै थाहा भएन,’ उनले भने, ‘अहिले पछिल्लो दुई वर्षमा भने प्रविधिको प्रयोग पनि गर्दै छौं ।’ आफूहरूजस्तो युवाले गाउँ फर्केर व्यावसायिक कृषि खेती गर्दा पनि राज्यका तर्फबाट भने कुनै सहयोग नपाएको उनीहरूको गुनासो छ । पहुँचका भरमा कृषिको अनुदान पाउने प्रवृत्तिका कारण पनि आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ । रुरु गाउँपालिका–६ रिमुवाका प्रेमबहादुर थापाले पनि तरकारी खेतीबाट वार्षिक रूपमा पाँच लाख आम्दानी गर्छन् । उनले तीन रोपनी जग्गामा तरकारी लगाएका छन् । ‘मैले तीन रोपनी जग्गामा सिमी, गोभी, आलु र मुला लगाएको छु,’ उनले भने, ‘तरकारी बेचेर वर्षमा पाँच लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’ ६३ वर्षीय थापाले १० वर्षदेखि तरकारी खेती गरिरहेको बताए । आफैं बजार व्यवस्थापन गरेर रिडी, बलेटक्सार र बुटवललगायतका सहरमा तरकारी बिक्री गरिरहेका थापाले गाउँपालिकाले प्लास्टिक टनेल सहयोग गरेको बताए ।

Inside Article Ads
रुरु गाउँपालिका–३ जिम्मालटोलका ५३ वर्षीय चोलानाथ ज्ञवालीले पनि वार्षिक ६ हजार लिटर खुदो बिक्री गर्छन् । उनी पनि १० वर्षदेखि खुदो उत्पादनमा छन् । ‘मेरा पुर्खादेखिकै पेसा हो,’ उनले भने, ‘मैले त्यसलाई व्यावसायिक बनाएको मात्र हुँ ।’ व्यावसायिक रूपमा खुदो र गुँढको बिक्री गरेरै ज्ञवालीले आफ्ना चार सन्तानलाई उच्च शिक्षा दिलाएका छन् । ज्ञवालीका तीन छोरीले बीबीए र छोराले व्यवस्थापनमा स्नातकोत्तर पूरा गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाका अनुसार वार्षिक रूपमा ६ करोड ४० लाख रुपैयाँ बराबरको कृषि उपज यहाँबाट निर्यात हुन्छ । गाउँपालिकाबाट वार्षिक रूपमा १ करोड ७५ लाख बराबरको दुध, २ करोडभन्दा बढीको गुँढ र खुदो, तरकारीबाट १ करोड, बाख्रापालनबाट १ करोड र अण्डा उत्पादनबाट ६२ लाख रुपैयाँ बराबरको कृषि उपज निर्यात हुने गरेको रुरु गाउँपालिकाका लेखा अधिकृत मनीष पाण्डेयले बताए । गाउँपालिकाले रुरुक्षेत्रभरिका तरकारी, फलफूल तथा खाद्यान्नबालीका २ सय ४१ जना व्यावसायिक कृषकलाई भिटामिन तथा विषादी वितरण गरेको रुरुक्षेत्र गाउँपालिकाका कृषिशाखा प्रमुख पवित्रा गौतमले बताइन् । उनका अनुसार गाउँपालिकाले अहिलेसम्म ४१ जना कृषकलाई १ सय १२ वटा प्लास्टिक टनेल, आठ जना कृषकलाई एक/एक थान स्प्रेयर, ३२ जना कृषकलाई मिनिटिलर, च्यापकटर र ह्याचारी मेसिन दुई जनालाई, कुटानीपिसानी मेसिन १६ जनालाई, पिसानी मिल ५ जनालाई वितरण गरेको बताइन् ।    

( कान्तिपुर दैनिक )

Visited 50 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.