
पाल्पा — २८ मंसिर २०७८
पाल्पा , निर्माण व्यवसायीले अघिल्लो वर्षको ठेक्काको काम नसकेपछि सडक डिभिजनले पुन: सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द गरेको छ । राजमार्ग मंगलबारदेखि पुस १३ गतेसम्म १५ दिन दैनिक ६ घण्टा बन्द हुने सडक डिभिजन पाल्पाले जनाएको छ । यसअघि पनि दैनिक ८ घण्टा बन्द हुँदै आएको थियो । निर्माण व्यवसायीको लापर्वाहीले अघिल्लो वर्षदेखिका काम नसकेको र काम छिटो सक्नका लागि सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्ड १५ दिनसम्म बन्द रहने सडक डिभिजनले जनाएको छ । रुपन्देहीको सिमाना तल्लो सिद्धबाबादेखि झुम्सा पुलसम्मको खण्डका साथै चर्चरे कालीमाटीदेखि गौडेपुलसम्म सडक चौडा गर्न बन्द गरेको सडक डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए ।
यसअघि पनि पटकपटक निर्माण व्यवसायीले काम नसकेको भन्दै सडक डिभिजनले दैनिक १५ घण्टासम्म सडक बन्द गरेको थियो । घुम्तीमा सडक चौडा गर्ने, दोभान बजार क्षेत्रमा अघिल्लो वर्ष नै ठेक्का भएको धर्मकांटा राख्ने स्थानको कामका साथै पर्खाल लगाउने र नाली बनाउनका लागि सडक बन्द गरेर काम गर्न लागेको हो । घुम्ती कटान गर्दा सवारी साधनले समस्या ल्याएको भन्दै निर्माण व्यवसायीले सवारी साधन बन्द गर्न आग्रह गरेको थियो । गत असारदेखि नै घुम्ती कटान, सडक चौडालगायतका काम भन्दै दैनिक यात्रुले सास्ती भोग्नु परेको छ । सडक डिभिजन र प्रशासन कार्यालयको छलफलबाट दैनिक राती साढे ९ बजेदेखि बिहान ४ बजेसम्म लागि सडक बन्द गरिएको सडक डिभिजनले जनाएको छ ।
यसअघि दिउँसोमा पनि बन्द गरिएको थियो । यसअघि गत मंसिर २५ गतेदेखि पाल्पाबाट गुल्मी जाने तानसेन–रिडी सडकखण्ड पनि दैनिक ६ घण्टा बन्द गरिएको छ । लघुवादेखि जोर्ते भिर आसपास क्षेत्रमा बाटो चौडा गर्ने कामका लागि समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायी प्रदीप/शाइन जेभीले यातायात बन्द गर्न आग्रह गरेअनुसार बन्द गरिएको हो । पछिल्लो समय बुटवल–नारायणगढ सडकमा घण्टौ जाम हुने भएकाले बुटवल पश्चिम जाने सवारी साधन पोखरा हुँदै आउने गरेको यात्रु कमल पाण्डेयले बताए । उनका अनुसार सयौं सवारी साधन सडकमा ६ घण्टासम्म जाममा बस्नुपर्दा समस्या खेप्नु परेको छ ।
( कान्तिपुर दैनिक )
