
कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ ।
बार एशोसिएसनले मंगलबार विज्ञप्तिमा भनेको छ, ‘वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्मानननीय प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराज्यूले अविलम्व राजीनामा दिई मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ भनी नेवाएको सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा नेबाएको मिति २०७८/०७/०५ गतेदेखिको निरन्तर बैठकको निर्णयअनुसार उहाँलाई पद त्याग गर्न आह्वान गर्दछौं ।’न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको समितिको प्रतिवेदन अनुसार पेशी व्यवस्थापन, वेञ्च गठन लगायतका कुरामा प्रधानन्यायाधीले चासो नदिएको बारले बताएको छ । नीतिगत रुपमा गर्न सकिने नियमावली, कार्यविधि, मापदण्ड निर्माण समेतका काममा र इजलास नियमित गर्ने समेतका कुराहरुमा समेत सुधार नभएको बारको भनाइ छ ।
केही मुद्दाहरुमा अस्वाभाविक रुपमा पेशी नचढाई सुनुवाइ गर्न ढिलाई गरेको, केही मुद्दाहरुमा अविश्वसनीय तरिकाले छिटो पेशी राखी सुनुवाई गर्ने गरेको, मन्त्रिपरिषद् र संवैधानिक नियुक्ति समेतमा हिस्सेदारी खोजेको, प्रधानन्यायाधीश विपक्ष भएका मुद्दाको पेशी लामो समयसम्म प्रारम्भिक सुनुवाइमा नचढेको बारले आरोप लगाएको छ । त्यस्तै कुनै मुद्दाहरु निश्चित न्यायाधीशहरुको इजलासमा मात्र पेशी चढाउने, विचौलिया व्यक्तिहरुलाई संरक्षण गरेको पनि बारले बताएको छ ।
