Fast Nepal News

कलामा गान्धी दर्शन

banner single news

काठमाडौँ — २० असोज २०७८

काठमाडौँ , सत्य र अहिंसाका पुजारी मानिने महात्मा गान्धीलाई अझै पनि धेरैले फरक–फरक तरिकाले सम्झिने गरेका छन् । अक्टोबर २ मा उनको १५२ औं जन्मजयन्ती विश्वभर मनाइयो । संयुक्त राष्ट्रसंघले यस दिनलाई विश्व अहिंसा दिवसका रूपमा मनाउँदै आएको छ । उनै गान्धीलाई नेपालका चित्रकारहरूले कलामार्फत सम्झिए । गान्धीको जीवन, दर्शन, सत्य तथा अहिंसात्मक मार्गलाई झल्काउने चित्र बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन भइरहेका छन् । ‘सिभाता लभ फाउन्डेसन नेपाल’ को पहलमा ‘बीपी कोइराला इन्डिया–नेपाल फाउन्डेसन’ सँगको सहकार्यमा गत शनिबारदेखि सुरु साताव्यापी प्रदर्शनीमा डेढ दर्जनभन्दा बढी चित्रकारले आ–आफ्ना सिर्जनामा गान्धी जीवन र दर्शनलाई प्रस्तुत गरेका छन् । तत्कालीन बेलायती सरकारले नुनमाथि लगाएको करमा विरोधस्वरूप गान्धीले ‘नुन सत्याग्रह’ का लागि कैयौं दिन पैदलयात्रा गरी आफैं नुन उत्पादन गर्ने प्रक्रियामा लागे ।

यस क्रममा गुजरातको अहमदाबादस्थित साबरमती आश्रमबाट ८० जनाको टोलीका साथ गान्धी समुद्र किनारमा पर्ने दाण्डी गाउँसम्मको यात्रामा निस्केका थिए । उनको यो यात्रामा हजारौं भारतीयले साथ दिएका थिए । गान्धीको ‘नुन सत्याग्रह’ लाई विजय थापाले ‘दाण्डी मार्च’ शीर्षक चित्रमा उतारेका छन् । ‘गान्धीको विभिन्न अहिंसात्मक आन्दोलनमध्ये दाण्डी गाउँसम्मको पैदल यात्रा विश्वका लागि प्रेरणादायी छ,’ उनले भने, ‘मलाई यसले असाध्यै छोएकाले चित्रमा उतारेँ ।’ स्वदेशी उत्पादनमा जोड दिन बेलायती उत्पादित वस्तु बहिष्कार गरेर गान्धीले परम्परागत धोती र आफैंले चर्खामा सुत काटेर बनाएको गम्छा लगाए । उनले चर्खा र खाँडीको प्रचार गरी भारतभर नै स्वदेशी उत्पादन र प्रेमलाई फिँजाए । जसले भारतीय जनतालाई एक जुट हुन र उनीहरूमा जागरण ल्याउने काम गर्‍यो ।

Inside Article Ads

आधारभूत शिक्षा, चिकित्सकीय ज्ञानको उपयोगमा जोड दिएर उनले अंग्रेज शैक्षिक संस्था, सरकार अड्डा, अदालत, काम, सम्मान सबै कुरामा बहिष्कार गर्न भारतीय जनतालाई अग्रसर गराए । उनको ‘असहयोग आन्दोलन’ तथा ‘भारत छोड आन्दोलन’ मा जनताको अग्रसरताले ततकालिन अंग्रेज सरकार पछाडि हट्यो । गान्धीका यिनै कदमलाई आईबी मल्ल, उमाशंकर शाह, चिराग बाङ्देल, राजन पन्त, एरिना ताम्राकार, भीमप्रसाद शर्मा, देवेन्द्र थुम्केली, विपना महर्जन लगायतले चित्रमा उतारेका छन् । गान्धीको मूल मन्त्र सत्य र अहिंसालाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्यायले ‘अन द वे टु पिस’ शीर्षकमा नीलो रंगसहितको आकाशको पृष्ठभूमिमा गान्धी र स्वयम्भूलाई चित्रण गरेकी छन् । पृथ्वी श्रेष्ठले हातमा कमलको फूल र परेवा लिएका गान्धीको शान्ति र अहिंसाको दर्शनलाई दर्शाउने जमर्को गरेका छन् । त्यस्तै, सुष्मा शाक्य तथा महेन्द्र राईले स्वदेशी उत्पादनलाई जोड दिने गान्धीको चर्खा आन्दोलन र व्यक्तित्वलाई चित्रण गरेका छन् । फाउन्डेसनले गान्धीको स्मरणलाई कलामार्फत प्रस्तुत गरेको यो पहिलो प्रदर्शनी हो ।

( कान्तिपुर दैनिक )

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.