
काठमाडौँ — १८ भाद्र २०७८
काठमाडौँ, कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया शुक्रबार वडा अधिवेशनबाट सुरु हुँदै छ । वडाबाटै आफ्ना प्रतिनिधि निर्वाचित गर्न संस्थापन र अर्को पक्षका केन्द्रीय नेताहरू लागिपरेका छन् । वडा तहबाट छानिने प्रतिनिधिले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरू तल्लो तहबाटै सक्रिय बनेका हुन् । वडा अधिवेशनलाई आफूअनुकूल बनाउन केन्द्रीय तहका अधिकांश नेता गृहजिल्ला पुगेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले वडा अधिवेशनलाई लक्ष्य गरेरै बिहीबार आफ्नो समूहबाट सभापतिका लागि एकमात्रै उम्मेदवार हुने उद्घोष गरेको छ । सभापतिमा उम्मेदवारी दिने अनौपचारिक घोषणा गरेका प्रधानमन्त्री देउवाले पनि आफ्नो प्यानल बलियो बनाउन सातवटै प्रदेशमा आफूनिकट केन्द्रीय सदस्यहरूलाई खटाएका छन् ।
केन्द्रीय नेतृत्वमा आउन चाहने नेताहरूका लागि वडा अधिवेशनमा मुख्य चासो छ । विभाजित मानिसकतामै वडा अधिवेशनमा जाँदा पार्टी र सत्ताको केन्द्रमा रहेका सभापति देउवालाई पराजित गर्न नसकिने निष्कर्ष निकाल्दै पौडेल पक्षले तल्ला तहका अधिवेशनलाई प्रभाव पार्न एउटै उम्मेदवार हुने ‘कार्ड’ फालेको हो । तर उद्घोष गरेजस्तो एकमात्रै उम्मेदवार बनाउन पौडेल पक्षलाई ‘फलामको चिउरा चपाउनुसरह’ बनेको छ ।संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसको प्रभाव पनि इतरपक्षमा परेको छ । संस्थापनबाहेक पक्षमा रहेका तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलाले केही समयअघि उम्मेदवार बन्ने उद्घोष गरे पनि पछिल्ला दिन मौन छन् । जनआधार बलियो भएका युवा नेता थापा र प्रदीप पौडेल आफ्नो पक्षबाट बाहिरिएपछि अब के गर्ने भन्नेमा सिटौला द्विविधामा छन् ।
सभापति निर्वाचित हुन कुल मतदाताको ५१ प्र्रतिशत मत प्राप्त गर्नुपर्छ । दुईभन्दा बढी उम्मेदवार हुनासाथ पहिलो चरणमा नतिजा आउने सम्भावना टर्ने भएकाले पनि पौडेलपक्षीय नेताहरू पहिलो चरणमा आ–आफ्नो परीक्षणका लागि उत्रने मानसिकतामा देखिन्छन् । ‘व्यक्तिको विषयलाई अहिले थाती राखेका छौं, दुई/तीन महिना हामीसँग समय छ, हामी सहमतिबाट एकमात्रै उम्मेदवार बनाउँछौं,’ पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडलेले भने, ‘लोकतान्त्रिक विधि, पद्धति, प्रक्रिया र मूल्य, मान्यता बचाउँदै पार्टीभित्र सामूहिक नेतृत्वको विकासका लागि एक भएर लड्छौं । हाम्रो एकतामा कुनै किसिमको आँच आउँदैन ।’पत्रकार सम्मेलनमा टिमका तर्फबाट पौडेलले धारणा राखेका थिए । उनले नेतृत्वका कमजोरीले पार्टी सामूहिक नेतृत्व र विधि पद्धतिबाट अघि बढ्न नसकेको बताए । नेतृत्वको इच्छाशक्ति नभएकै कारण चार वर्षमा हुनुपर्ने महाधिवेशन साढे पाँच वर्षपछि सुरु हुन लागेको र यसलाई पनि उपलब्धिका रूपमा मान्नुपर्ने अवस्था भएको पौडेलले बताए । आफ्नो टिमलाई विचार समूहका रूपमा व्याख्या गर्दै पौडेलले को–कसलाई के जिम्मेवारी दिँदा एकता गर्न सकिन्छ, त्यस दिशामा छलफल भइरहेको बताए ।वडा अधिवेशन एक दिनमै नसकिने भएको छ । वडा अधिवेशन एकै दिन गर्ने कार्यतालिका छ तर काठमाडौंसहित दुई दर्जनभन्दा बढी जिल्लामा शुक्रबार अधिवेशन नहुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशनका लागि ५६ जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसकेका छन् ।
जिल्ला पुगे पनि सबै वडामा प्रतिनिधि पुग्न नसकेकाले शुक्रबार करिब ४५ जिल्लामा मात्रै वडा अधिवेशन हुन सक्ने अनुमान समितिको छ । ‘पार्टीले ५६ जिल्लाको क्रियाशील सदस्यतामात्रै दिएकाले हामी त्यतिको मात्रै निर्वाचन तयारीमा लागेका हौं,’ निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले भने, ‘हुन नसकेका जिल्लाको भदौ २२ भित्र टुंग्याउने योजना बनाएका छौं ।’२१ जिल्लामा सदस्यता विवाद अझै टुंगिसकेको छैन । शीर्ष तहमा भएको समझदारीका आधारमा रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले अन्तिम सूचीको तयारी गरिरहेको छ । समितिले शनिबारसम्म सदस्यता सूची निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । भदौ २७ मा गाउँ/नगर अधिवेशनको तिथि रहेकाले त्यसअघि नै वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । पार्टी विधानमा चार वर्ष र संविधानमा साढे पाँच वर्षभित्र केन्द्रीय महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । तर लामो समयसम्मको सदस्यता विवाद र नेताहरूको अविश्वासले महाधिवेशनको तिथि धकेलिँदै आएको थियो । कांग्रेसको महाधिवेशन नभएको शुक्रबार साढे पाँच वर्ष पुग्दै छ । पार्टीको वैधानिकता जोगाउन कांग्रेसले शुक्रबारबाट वडा अधिवेशन सुरु गरी आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्न लागेको हो ।
( कान्तिपुर दैनिक )
