Fast Nepal News

सांसद तानातान गर्दै जसपा र लोसपा

banner single news

जनकपुर/धनुषा —  १८ भाद्र २०७८

जनकपुर/धनुषा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा लाग्न चाहने जनता समाजवादी पार्टी (जसपा) का प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले तोकेको भदौ २२ सम्मको समय दुवै पार्टीका लागि ‘पीडादायी क्षण’ बनेको छ ।  सरकारले भदौ २ मा ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशका आधारमा छुट्याएका जसपा र लोसपाको आधार क्षेत्र प्रदेश २ हो । दल रोज्ने साइतले यी दुवै दलभित्र हलचल ल्याएको छ । स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसद दुवै दलको चेपुवामा परेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसहित दुवै दलका शीर्ष नेता जनकपुरमै बसेर जनप्रतिनिधि आफूतिर तान्न लागेका छन् ।

गत निर्वाचनमा प्रदेश २ मा उपेन्द्रको दल संघीय समाजवादीले २९ प्रदेश सांसद र २६ स्थानीय तहमा प्रमुख जितेको थियो भने महन्थको दल राजपाले २५ प्रदेश सांसद र २५ स्थानीय तहमा प्रमुख जितेको थियो । प्रदेश २ मा १ सय ७ सदस्यीय प्रदेशसभा र १ सय ३६ स्थानीय तह छन् । दल एक हुनुअघि प्रदेश २ मा यादवको संघीय समाजवादीसँग ३० र ठाकुरको राजपासँग २५ प्रदेश सांसद थिए । दुवै दल एक भएपछि प्रदेश २ मा ५५ सांसदसहित बहुमतको सरकार थियो । तर, ओली सरकारमा सहभागी हुने ठाकुर पक्षको निर्णयसँगै दल टुक्रिएपछि यादवको जसपातिर ३६ जना सांसद खुलेका छन् । जसमा ठाकुर पक्षका नवलकिशोर साह, रामनरेश राय, मनीष सुमन, सुरेश मण्डललगायत छन् । लोसपाले आफूतिर प्रदेश सांसदको संख्या २० पुग्ने दाबी गरेको छ ।दल विभाजनपछि सनाखत गर्न आयोगले तोकेको म्याद गुजार्न यादव–ठाकुरलाई ‘फलामको चिउरा चपाउनु’ जस्तै भएको छ ।

‘राजनीतिक तरलता आउनेबित्तिकै मधेसकेन्द्रित दल समस्यामा फस्ने गर्छन्,’ मधेस मामिलाका जानकार विजय मिश्रले कान्तिपुरसँग भने, ‘त्यसमा जनप्रतिनिधिको लोभलालच पनि देखिन्छ । हलचलको बेला राजनीतिक अवसर ताक्दा दलहरूबीचमा समस्या बढ्ने गर्छ ।’ प्रभाव क्षेत्रकै जनप्रतिनिधि तानातानमा परेपछि बुधबार लोसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेताहरू राजेन्द्र महतो र शरतसिंह भण्डारी जनकपुर आइपुगे । जनकपुरको सिटी स्टार होटलमा बसेका लोसपाका शीर्ष नेतासित यादवनिकट जनप्रतिनिधि र प्रदेश सांसदले भेट्ने क्रम बढेपछि यादव पनि बिहीबार जनकपुर झरेका छन् । दुवै दलका शीर्ष नेता जनप्रतिनिधि तानातानमा लागेका छन् ।भदौ २२ सम्म दल रोज्न निर्वाचन आयोगले दिएको समयावधिभित्र आफ्नो पक्षमा प्रदेश सांसद बढाउन लोसपा नेताहरू जसपाभित्र खेलिरहेका छन् भने जसपाले आफूलाई नोक्सानी हुन नदिन प्रदेश सांसदलाई निगरानीमा राखेको छ । जसपाका प्रदेश सांसद प्रह्लाद गिरीलाई बिहीबार लोसपाले आफूतिर तानेको छ । जसपाबाट असन्तुष्ट रहेका गिरीलाई लोसपाका प्रदेश सांसद जितेन्द्र सोनलले आफूसँगै लगेर निर्वाचन कार्यालयमा दल रोज्न लगाएका थिए ।

एमाले र जसपाका सांसद तानातान

Inside Article Ads

प्रदेश २ मा नेकपा एमालेबाट एकीकृत समाजवादीमा र जसपाबाट लोसपामा प्रदेश सांसद तान्न चलखेल सुरु भएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताले उपेन्द्र यादवनिकट सांसदलाई लोसपा रोजेको सनाखत गराएका छन् भने एकीकृत समाजवादीको सनाखत सूचीमा रहेका दुई सांसदलाई एमालेले आफूतिर फर्काएको छ ।जसपा अध्यक्ष यादवनिकट प्रदेश सांसद प्रह्लाद गिरीलाई लोसपाले सनाखत गराएको छ । अन्य तीन जना सांसदसँग नेताहरू दुई दिनदेखि छलफलमा छन् । एकीकृत समाजवादीको सनाखत सूचीमा रहेका बाराका प्रदेश सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ अन्तिम समयमा आएर एमालेतर्फ लागेका छन् । मौसम खराब भएको कारण देखाउँदै सनाखतका लागि आउन नसकेको जानकारी दिएका दुवै सांसद वीरगन्जमा एमालेको प्रदेश भेलामा सहभागी भएका थिए ।

प्रदेश २ मा २१ जना सांसद रहेको एमालेबाट ११ जना एकीकृत समाजवादीतर्फ लागेका छन् । प्रदेश निर्वाचन कार्यालयमा बिहीबार एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेको सनाखत गरेका छन् । सर्लाहीका प्रदेश सांसद डिल्ली उप्रेती भारतमा उपचारक्रममा रहेका कारण दूतावासमार्फत सनाखत गराउने प्रक्रिया अगाडि बढाएको प्रदेश सांसद शत्रुधन महतोले बताए ।निर्वाचन कार्यालयमा उपस्थित भएर प्रदेश सांसदहरू गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन र नागेन्द्र यादवले सनाखत गरेको महतोले बताए । निर्वाचन कार्यालयमा १० जना र दूतावासबाट उप्रेतीको सनाखत प्रक्रिया अगाडि बढाएको जानकारी गराउँदै महतोले बाराका सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ मौसम खराब भएका कारण आउन नसकेको बताए । एमालेभित्र दुवै समूहको भेलामा देखिइरहने विश्वकर्मा पछिल्लो समय नेपालनिकट थिए ।

महतो १३ सांसद र दुई मन्त्रालय लिएर प्रदेश सरकारमा सहभागी हुने तयारीमा जुटेका छन् । प्रदेश २ मा मुख्यमन्त्री लालबाबु नेतृत्वको सरकारमा १९ सांसद रहेको कांग्रेसले ३ र सात सांसद रहेको माओवादी केन्द्रले एक मन्त्रालय पाएका छन् । जनता समाजवादीले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिएको छ ।जसपाका ५५ सांसदमध्ये लोसपामा १५ जना खुलेका छन् । प्रदेश सांसद डिम्पल झा र प्रह्लाद गिरीले बिहीबार लोसपा रोजेको सनाखत गरेका छन् । यसअघि बुधबार १० जनाले लोसपाको पक्षमा सनाखत गरेका थिए । ‘लोसपाको पक्षमा १२ जनाले सनाखत गरेका छन्,’ सांसद उपेन्द्र महतोले भने, ‘मलगायत तीन जना सांसदको सनाखत गर्न बाँकी छ ।’ महतो, जितेन्द्र सोनल र अभिराम शर्माले सनाखत गरेका छैनन् । उपेन्द्र यादवनिकट सांसदहरूलाई लोसपामा ल्याउन प्रयास भइरहेको उनले बताए । उनका अनुसार यादवनिकट तीन जना सांसद लोसपामा आउन सकारात्मक छन् ।

( कान्तिपुर दैनिक )

Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.