Fast Nepal News

रंगमञ्चमा युद्धका घाउ

banner single news

काठमाडौँ — १६ भाद्र २०७८

काठमाडौँ , अर्घाखाँचीको सिद्धधारामा २०६० असोज २५ मा सेनासँगको दोहोरो भिडन्तका क्रममा सल्यानको कुमाख–२ खारखोलाका लालबहादुर वलीको आँखामा गहिरो चोट लाग्यो ।उपचार गर्न जाने क्रममा पक्राउ परेका उनलाई हिरासतमा करेन्ट लगाएर यातना दिएपछि उनको आँखाको ज्योति गुम्यो । माओवादी घाइते लडाकु, सल्यान दमाचौरकी सीता केसीसँग बिहे गरेका वलीले ऋण गरेर नै बमको छर्राबाट हड्डीमा क्यान्सरपीडित श्रीमतीको उपचार गरे । सशस्त्र द्वन्द्वले उज्यालो ल्याउने आसमा युद्धमा होमिएका वली दम्पतीको संसार नै अन्धकार छ । शारीरिक, मानसिक मात्र होइन, आर्थिक अभावको चपेटामा पिरोलिएका छन् दम्पती ।केही महिनाअघि मात्र दाङबाट कान्तिपुरका लागि दुर्गालाल केसीद्वारा प्रेषित सशस्त्र युद्धमा होमिएका लडाकुहरूको पीडा समेटिएको समाचारमा वली दम्पती दसवर्षे सशस्त्र द्वन्द्वका प्रतिनिधिमूलक पात्र हुन् । द्वन्द्वका क्रममा हजारौंले ज्यान गुमाए, कैयौं घाइते भए । बेपत्ता र यौनहिंसामा परेकाहरूको यकिन तथ्यांक राज्यसँग नै छैन । विस्थापितहरूको पीडा ज्युँका त्युँ छ । यस्तै पीडालाई मण्डला थिएटरले रंगमञ्चका माध्यममा देखाउने जमर्को गर्‍यो ।

सन् २०१५ देखि हरेक वर्ष बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार थिएटरले ‘युद्धका घाउहरू’ शीर्षकमा चारवटा लघु नाटक ‘थाहा’, ‘भँवर’, ‘लिई’ र ‘जिउँदो लास’ मञ्चन गराएको हो । मण्डला ड्रामा स्कुल पहिलो ब्याजका १६ जना प्रशिक्षार्थीर्मार्फत तयार गरिएको १२ देखि २० मिनेटका यी लघु नाटकलाई दर्शकले भर्चुअल माध्यममा नै हेरे । ‘थाहा’ नाटकमा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका परिवारको पीडा प्रस्तुत गरियो । आवाजविहीन बनेका द्वन्द्वपीडित परिवारको आवाज न त राज्यले सुन्यो न त सत्ताले । हराएका परिवारका सदस्यको अवस्था के छ, कहाँ छन् र कहिले फर्किने आशामा रहेका परिवारको पीडा नाटकमा समेटिएको छ । यसलाई लेखन तथा निर्देशन प्रदीप ढुंगाना, शिव परियार, आदित्य मिश्रा र निरज चौधरीले गरेका हुन् ।

‘भँवर’ ले भने द्वन्द्वकालमा यौनजन्य हिंसाबाट प्रभावितहरूको कथा समेटेको छ । यौनजन्य हिंसाका विषयमा काम गरिएको ‘द किचन स्टारी’ सँग छलफल गरेर पीडितहरूको भोगाइ र अनुभवलाई समेटेर नाटक तयार गरिएको हो । यसमा तत्कालीन समयमा विभिन्न उमेर तथा वर्गका महिलाले भोगेका पीडा, उनीहरूको स्वास्थ्य अवस्था, सामाजिक तथा राजनीतिक दृष्टिकोण र राज्यले गरेको उपेक्षा समेट्ने प्रयास गरिएको थियो । नाटकको परिकल्पना, लेखन, निर्देशन तथा अभिनय समृद्धि नेपाल, पासाङ ल्हामु शेर्पा, सुस्मिता पोखरेल, अनिल कुर्मी र सुस्मिता गुरागाईंले गरेका हुन् ।‘लिई’ मा तामे भान्जा भनिने गाउँको शिल्पी दलित पात्रको जीवन भोगाइ समेटिएको थियो । ग्रामीण भेगमा शिल्पमार्फत कृषिमा चाहिने उपकरण, दैनिक प्रयोगमा आउने हातहतियार बनाएर जीविका चलाइरहेका दलित समुदायका व्यक्तिलाई द्वन्द्वकालमा कसरी क्रान्तिकारीका रूपमा यातना दिइयो भन्ने कारुणिक दृश्य नाटकले जीवन्त रूपमा देखाएको थियो । क्रान्तिलाई सघाएको आरोपमा हातको औंला नै काटिदिएको पात्रको सत्य कथा समेटिएको नाट्य समूहको भनाइ छ । यसमा परिकल्पना, लेखन, निर्देशन सुमित्रा पेहिम र सञ्जय विश्वकर्माले गरेका हुन् भने विश्वकर्माको नै एकल प्रस्तुति रहेको थियो ।

Inside Article Ads

त्यसैगरी, ‘जिउँदो लास’ भने सशस्त्र द्वन्द्वमा सेनाले आतंककारी घोषित गर्दै अनाहकमा ज्यान लिएकाका परिवारले भोग्नुपरेका पीडा समेटिए । धादिङको जोगीमारा गाउँका १७ जनालाई कालीकोटमा काममा खटिएकै बेला तत्कालीन शाही सेनाबाट हत्या गरी आतंककारी घोषित गरिएको थियो । घरको भार थेग्ने घरमूली नै मारिएपछि विपन्न परिवारले भोगेको कथा नाटकमा छ । मोहन मैनालीको पुस्तक ‘मान्ठ डराएको जुग’ र उनकै वृत्तचित्र ‘जोगीमाराका जिउँदाहरू’ लाई आधारमा तयार गरिएको हो । सरिता कठायतको लेखन, अकाश नेपालीको निर्देशन, हाङ्ग ओ हाङ्ग राईको मञ्च परिकल्पना र दीक्षा चौधरीको प्रकाश परिकल्पना नाटक मञ्चन गरिएको हो ।महामारीलाई मध्यनजर गर्दै रंगकर्मीहरूले थिएटरमै नाटक लेखन, निर्देशन तथा अभ्यास गरे । दर्शकको अनुपस्थितिमा सुनसान बन्दै गएको रंगमञ्चलाई भर्चुअल माध्यमबाट जीवन्तता दिने प्रयास गरिएको रंगकर्मी सोमनाथ खनालले बताए । यसले महामारीकै बीच रंगमञ्च र दर्शकबीचको दूरी नजिक बनाउने उनको मत छ ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.