Fast Nepal News

सेन्मिखाको गीत

banner single news

काठमाडौँ — १५ भाद्र २०७८

काठमाडौँ, भोजपुरको चखेवा भन्ज्याङका वनपाखा र मेलापातमा गुन्गुनाइरहन्थे । मौका मिलेमा चाडपर्वको छेको पारेर साथीसंगी बसेर लोकलहरीमा मायाप्रेमदेखि दुःख र पीडाका कथाहरू गीतैमार्फत पोख्थे २४ वर्षीय सेन्मिखा राई । पाखापखेराका वनमा गुन्जिने उनका भाकाले अब फराकिलो आयाम पाएको छ । सेन्मिखालाई अब सबैले सुन्न पाइने भएको छ । ठेट पूर्वेली भाका र लय समेटिएको ‘हिमालैचुली त्यो पल्लोपट्टि’ बोलको उनको गीत हालैमात्र सार्वजनिक भएको छ । गीतमा कृष्णबहादुर राईका शब्द र जितेन बान्तवा राईको संगीत छ ।

हिमालैचुली त्यो पल्लोपट्टि रूख सुक्यो सर्लङ्ङै

लुगा है फाटे सियोले सिउने, मन फाटे भर्लङ्ङै…

‘हेर्ने कथा’ मार्फत आफ्नै थातथलो जन्मभूमिलाई माया गर्ने पौरखीका रूपमा चिनिएका सेन्मिखाको गीतलाई पनि दर्शकस्रोताले रुचाएका छन् । केही महिनाअघि मात्र उनको जीवन दिनचर्यामा संघर्षको कहानी ‘हेर्ने कथा’ टिमले ‘सेन्मिखाको कथा’ एपिसोडमा प्रस्तुत गरेको थियो ।

सिसालाई काटी जोर गोली, बाँचेको छौं र यो बोली

तीनतले घर त बाबाको, भेटिँदो रैछ कहाँ कहाँको…

पूर्वेली मौलिक संस्कति, सभ्यता, जीवनपद्धति र शैलीलाई समेटिएको लोपोन्मुख भाकालाई आफ्नो स्वरमा सार्वजनिक गर्न पाउँदा सेन्मिखा औधी खुसी छन् । औपचारिक रूपमा रेकर्ड भएर सार्वजनिक भएको उनको यो पहिलो गीत हो । गीत रेकर्डकै लागि उनले पहिलोपल्ट काठमाडौंमा पाइला टेके । काठमाडौंमा आएर गीत रेकर्ड नै गरौंला भन्ने कहिल्यै सोचेका थिएनन् । यद्यपि संगीतप्रेमी सेन्मिखालाई गीत गाउने रहरचाहिँ थियो । उनको रहरलाई पूरा गरिदिए अर्का संगीत सर्जक जितेनले । जितेनले पनि उनलाई ‘हेर्ने कथा’बाटै चिनेका थिए । ‘मैले पहिले सेन्मिखाजीलाई चिनेको थिइनँ,’ उनले भने, ‘उहाँको पूर्वेली भाकाहरू सुनेपछि निकै प्रभावित भएँ । भाकालार्ई जगेर्ना गर्नलाई उहाँको काका प्रकाश राईमार्फत उहाँलाई काठमाडौं ल्याउने काम भयो ।’ साउनको अन्तिम सातातिर काठमाडौं आएका सेन्मिखाले गीतलाई दुई/तीन पटक सुनेपछि रेकर्ड गर्न राजी भए । गीत रेकर्ड भयो र लगत्तै भिडियो पनि बनाइयो ।

‘गीतकै लागि काठमाडौं नै जान्छु भन्ने सोचेको थिइनँ तर गाउने मनचाहिँ हो,’ उनले भने, ‘गाउँघरतिरै गाइरहने जस्तो गीत भएकाले सारै गाह्रोचाहिँ लागेन ।’ उनले औपचारिक रूपमा संगीत प्रशिक्षण लिएका छैनन् । अवसर पाएमा सिक्ने रहर छ । उनले भने ‘सिक्ने मन त कसलाई नहोला । बाध्यता र परिस्थिति पनि बुझ्नुपर्‍यो नि ।’ तथापि पूर्वेली लोकसंगीतलाई संरक्षण गर्नुपर्छ भन्ने पक्षमा उनी छन् । गाउँमा बूढापाकाहरूले गाएका भाकाहरूलाई वनजंगलमा गुन्गुनाउँदा गुन्गुनाउँदै उनले पूर्वेली भाकाका लय समाते । पश्चिमी लोकभाकादेखि आधुनिक पाराका गीतहरू उनी वनजंगलमा घाँसदाउरा गर्दै सुन्छन् । सबैभन्दा बढी चाहिँ उनी पूर्वेली भाकासँग भिजेका छन् । अग्रज सर्जकहरू राजेशपायल राई, पार्वती राई, खेमराज गुरुङका गीतहरूले निकै प्रभावित भएको उनले सुनाए । पछिल्लो समय मौलिक लोकभाका ओझेलमा परेका छन् । नयाँ पिढीमा पूर्वेली लोकभाकाको रसले नछोएको सेन्मिखाको सुनाउँछन् । ‘हाम्रो यता बूढाबाजेहरूले गाउने लोक लहरी भाकाहरू अहिले काकाहरू, दाइ र मसरहका साथीले गाउँदैनन् । लोप हुँदै गए पनि मचाहिँ गाउने गर्छु,’ उनले भने ।

Inside Article Ads

रातोलाई भाले खोरैमा किकिरी, बास्छ लौ बिहानी

तिमी र हामी भेट भाको आज, गरौं लौ चिनजानी…

सेन्मिखालाई सहर देखाउने र यतैको रमझममा स्थापित गराउनुभन्दा पनि लोपोन्मुख भाकालाई संरक्षण गर्नु आफ्नो उद्देश्य रहेको जितेनले प्रस्ट्याए । ‘लोकसंगीत उहाँको चाहना हो । उहाँले गीतसंगीतकै लागि गाउँ छोड्नुपर्छ भन्ने छैन,’ उनले थपे, ‘उहाँको लगन र मिहिनेत छ । पुर्खाको संगीतलाई उहाँले पछ्याइरहनुभएको छ । त्यसैलाई हामीले यहाँसम्म ल्याउने काम गर्‍यौं ।’गीत रेकर्डलगत्तै सेन्मिखा चखेवा भञ्ज्याङतिर फर्किसकेका छन् । संगीतमा नाम कमाउन र यतैतिर स्थापित हुने उनको रहर छैन । काठमाडौंको पहिलो यात्रा नै उनलाई सुखद लागेन । ‘उनले भने, ‘काठमाडौंमा पहिलोचोटि जडीबुटी भन्ने ठाउँमा राति पुगें । साह्रै निसास्सिएको जस्तो भयो । काम सकिनेबित्तिकै फर्किहालें ।’ सेन्मिखाको काठमाडौंमा थुप्रै आफ्ना नजिकका आफन्तहरू छन् । यसअघि उनलाई कहिल्यै यता आउन मन लागेन । उनलाई काठमाडौंका मान्छे निष्ठुरी जस्तो लाग्छ ।

‘मलाई मात्र त्यस्तो लागेको हुन सक्छ । हामी गाउँमा जन्मेको मान्छेलाई जन्मेको ठाउँ नै प्यारो लाग्दो रहेछ,’ उनले हाँस्दै भने । सेन्मिखाको बाबु लामो समयदेखि वैदेशिक रोजगारीकै सिलसिलामा देश बाहिर छन् । चखेवा भन्ज्याङमा बाजेबजै, काकाकाकीसँगै उनको आफ्नै संसार छ । वनजंगल चहार्दै भेडा चरण, घाँसदाउरासँगै उनले मौलिक लयलाई सँगसँगै डोर्‍याउँदै हिँडेका छन् । पूर्वेली भाकाहरू रेकर्ड गर्ने उनको अझै इच्छा छ । भन्छन्, ‘अब फेरि कसैले बोलाए काठमाडौं त आउँछु तर उतैतिर बस्ने मन छैन । गाउँ नै प्यारो लाग्छ ।’

गाईको चरन

जन्मै त गाउँमै हो कहाँ हो मरन…    

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.