
सल्यान — १० भाद्र २०७८
सल्यान , सुर्खेतको गर्वाकोट नगरपालिका–१ गर्वाकोट डाँडास्थित राउटे बस्तीमा आयोजित स्वास्थ्य शिविरमा परीक्षण नगराई टाढैबाट हेरिरहेका राउटेजिल्ला प्रशासन कार्यालय र सेनाको सबुज गणको सहकार्यमा गत शनिबार गुर्भाकोट नगरपालिका–१ मा राउटे समुदायका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । तर उक्त शिविरमा १० जनाले मात्र उपचार गराए । लामो समयदेखि घरेलु उपचार र जडिबुटीको भरमा रहेका राउटे समुदायलाई अस्थायी बस्तीमै पुगेर गुणस्तरीय उपचार सेवा दिन खोजे पनि अधिकांश राउटेले आफ्ना स्वास्थ्य समस्या बताउनै चाहेनन् ।अधिकांश राउटेले उपचार गराउन आनाकानी गरेको जिल्ला अस्पतालका डा. भीमकान्त जैसीले बताए । ‘हेर्दा सबै बिरामीजस्ता देखिए, तर कसैले पनि उपचार गराउन मानेनन्,’ उनले भने, ‘केही बालबालिकालाई मात्र उपचार गरी फर्कियौं ।’ उनले राउटे अगुवाले नै उपचार गराउन नमान्दा उनीहरूका लागि लिएको सबै औषधि फिर्ता भएको बताए ।
राउटे बस्तीमा सहजकर्ताका रूपमा काम गर्दै आएकी दुर्गा खत्रीले धेरै अनुरोध गरेपछि ३४ वर्षीया राउटे महिला विलन शाही रक्तचाप नाप्न राजी भइन् । डा. जैसीले उनको रक्तचाप कम भएको बताए पनि उनले आफूलाई केही नभएको भन्दै थप चेकजाँच गर्न मानिनन् । ५६ वर्षीय चन्द्रमान शाहीले रक्तचाप जाँच गराउन पनि आनाकानी गरे । केही बालबालिका भने बिस्कुट वितरणपछि मात्र स्वास्थ्य जाँच गर्न राजी भएको डा. जैसीले बताए ।सहजकर्ता खत्रीका अनुसार उपचारका लागि डाक्टरको टोली आउन थालेको थाहा पाएपछि केही राउटेहरू शनिबार बिहान नै विभिन्न बहानामा जंगलतिर गइसकेका थिए । अहिले राउटे समुदाय गुर्भाकोटडाँडास्थित सडकमा त्रिपाल टाँगेर अस्थायी रूपमा बसिरहेका छन् । ‘उनीहरूलाई डाक्टरको भन्दा जडिबुटीकै भर छ,’ उनले भनिन्, ‘उपचार गराउन नमान्दा दुई महिनामै चार जनाको अकालमै ज्यान गएको छ ।’बस्तीमा कोही बिरामी भए जडिबुटी ल्याएर उपचार गर्ने गरेको राउटे मुखिया सूर्यनारायण शाहीले बताए । ‘हामी जंगलमा बस्ने मान्छे, त्यसैले जंगली जनावर र कन्दमुलको भर पर्दै आएका छौं,’ उनले भने, ‘डाक्टरको औषधिले हाम्रो स्वास्थ्य झन खराब बनाउँछ ।’
उनले अधिकांश राउटेहरू सुई लगाउन डराउने गरेको बताए । उनले अहिलेसम्म एउटा औषधि पनि सेवन गरेका छैनन् । एक महिनादेखि ज्वरोले थलिएका २६ वर्षीय राउटे खगेन्द्र शाहीले बताए । ‘जडिबुटीले ज्वरो चट भयो,’ उनले भने, ‘हामीलाई औषधिभन्दा गतिलो त्रिपाल र खाना चाहिएको छ ।’ उनले पनि अहिलेसम्म मेडिकलको औषधि प्रयोग नगरेको दाबी गरे । उनले चाडपर्व मनाउनका लागि खसीको व्यवस्था गर्न शिविरमा आएको टोलीसँग आग्रह गरे । अहिले राउटे समुदायमा कोही नयाँ मानिस आएर कोरोना खोप लगाइदिन्छन् कि भन्ने डर रहेको खत्रीले बताइन् ।उनका अनुसार यसअघि सुर्खेतबाट आएको डाक्टरको टोलीले राउटे समुदायको स्वाब संकलन गर्न खोजे पनि अधिकांशले स्वाब दिन मानेनन् । ‘सबैलाई खोपकै डर छ,’ उनले भनिन्, ‘विभिन्न बहानामा कोरोनाविरुद्धको खोप लगाइदिन्छन् कि भनेर उनीहरू नयाँ मान्छेको नजिक पर्न छोडेका छन् ।’
सोसेकबाट ३ वर्षदेखि राउटे समुदायको उपचारमा खटिएका स्वास्थ्यकर्मी विनोद बीसीले कोही बिरामी भए जबरजस्ती उपचार गर्ने गरेको बताए । ‘कोही बिरामी भए औषधि खुवाउन जबरजस्ती गर्नुपर्छ,’ उनले भने, ‘अधिकांशले मदिरा सेवन गर्ने हुँदा सबै बिरामीजस्ता देखिन्छन् ।’ उनले अत्यधिक मदिरा सेवनकै कारण एक महिनामा दुई पुरुषको ज्यान गएको बताए ।४६ घरपरिवार रहेको राउटे समुदायमा मृत्युदर बढिरहेको छ । १ सय ४२ जना राउटेमध्ये १० जनाले मात्र शिविरमा स्वास्थ्य परीक्षण गराएको टोलीले जनाएको छ । ‘बिस्कुट र चामल देखाएपछि मात्र केही राउटे उपचार गराउन राजी भए,’ डा. जैसीले भने, ‘उपचार गराएका सबैमा छाला र बाथ (हातखुट्टा दुख्ने) समस्या देखियो ।’प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले चेतना अभावकै कारण राउटे समुदाय जडिबुटीको भरमा रहेको बताइन् ।
‘दिनहुँ वर्षा हुँदा राउटे बस्तीको बिजोग छ,’ उनले भनिन्, ‘न शरिरमा गतिलो कपडा छ न खुट्टामा चप्पल नै, अधिकांश राउटे पोषिलो खाना खान नपाउँदा बिरामी बनेका छन् ।’ उनीहरूको उचित बासस्थानको लागि पहल भइरहेको उनले जानकारी दिइन् । मदिरा पूर्ण रूपमा नियन्त्रण नगरेसम्म राउटे समुदायलाई सुधार्न नसकिने कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । ‘बर्सेनि समुदायको संरक्षण तथा सचेतनाका लागि लाखौं रकम खर्च भइरहेको छ,’ उनले भने, ‘तर उचित बसोबास, पोषणयुक्त खानपिन, सरसफाइलगायतका काम प्रभावविहीन बनेका छन्, भत्ताको रकम पनि राउटेले मदिरा सेवन गरी सक्ने गरेका छन् ।’
( कान्तिपुर दैनिक )
