
परासी — १० भाद्र २०७८
परासी, वारपार नदेखिने गरी नारायणीमा बाढी उर्लिएको छ । भेलले खेतीयोग्य जमिन कटान सुरु गर्दा तटीय क्षेत्रका बासिन्दामा चिन्ताको लहर चल्छ, बाढीले धान खेत र बस्ती नै पो लैजाने हो कि १ भेल बस्तीमा पस्दा बालबच्चा, अन्नपात र वस्तुभाउ जोगाउन केही समय आफन्तकहाँ आश्रय लिने र पानी घटेपछि फर्कने क्रम बर्सेनि चलेकै हुन्छ ।बाढीकै बेला तटीय क्षेत्रमा केहीलाई भने जोखिम मोलेर काठ, दाउरा र सामान बटुल्न भ्याइनभ्याइ चल्छ । यसरी बटुलेका काठ इन्धन र आम्दानीको स्रोत बनेका छन् । डुंगा हुनेले साथीभाइसँग मिलेर बाढीमा हेलिँदै दाउरा बटुल्छन् । डुंगा नहुने किनारको रूखमा डोरीले बाँधेर भेलमा हेलिँदै दाउराको जोहो गर्छन् ।
गत साता सुस्ता–३ रेवाका पाँच युवा काठ बटुल्न नारायणीको बीचमा पुगे । काठको गोलिया समातेर किनारसम्म ल्याउने क्रममा भेलले उनीहरू सवार डुंगा डुबायो । ४५ वर्षीय मंगल विन र भारत भैंसालोटनका ३० वर्षीय दशरथ कोइरीलाई भने भेलले बगायो । डुंगासँगै डुबेकाको खोजीमा सुरक्षा निकाय र स्थानीय बासिन्दा सक्रिय भए तर साता बित्यो, उनीहरूको अवस्था अझैसम्म अज्ञात छ । अन्य तीन जनालाई भने स्थानीयले उद्धार गरेका थिए । सुस्ता आउजाउका लागि नारायणीमा सञ्चालन हुने जेनेरेटर जडान गरिएको डुंगा गत साउनमा बाढीले बगाएर भारत पुर्यायो ।
नेपाली र भारतीय सुरक्षाकर्मीको सहयोगमा सीमापारि करिब तीन किलोमिटर टाढाबाट उक्त डुंगा फिर्ता ल्याइएको थियो । स्थानीयका अनुसार नारायणीको बाढीले २०७६ सालमा तीन जनालाई बगाएको थियो । उनीहरूको पनि अहिलेसम्म अत्तोपत्तो छैन ।नारायणीको भेलले बर्सेनि यहाँका स्थानीयको ज्यान लिने गरेको छ । यो क्षेत्रबाट बगाएका बिरलै फेला पर्ने गरेका छन् । ‘कामका लागि आवतजावत गर्दा पनि डुंगा पल्टिन्छ, कहिले काठ समाउन जाँदा बगाउँछ,’ बुधबार नारायणी नदी किनारमा भेटिएका भैरव विनले भने, ‘यसपालि आफ्नै परिवारको सदस्य गुमाउनुपर्यो ।’ अहिले बालबालिकादेखि वृद्धवृद्धा सबै नारायणी किनारमा भेटिन्छन् । किनारमा दाउरा बटुल्नेको भीडले मेलाको झल्को दिन्छ । नदीले बगाउने घटना भइरहँदा पनि यहाँका बासिन्दा हेलिन छाड्दैनन् ।
सुस्ता–५ का ३० वर्षीय छोटुलाल कोइरीको दैनिकी नदी किनारमा बित्ने गरेको छ । गत वर्ष साथीसँग मिलेर १ लाख ३० हजार रुपैयाँको काठ बिक्री गरेको उनले बताए । यसपालि उनले काठको चाङ लगाएका छन् । लामो बाँसमा फलामको अंकुश बनाएर भेलले बगाएका काठ किनारतर्फ ल्याउने गर्छन् । ठूलो काठ वा रूख बगाएर ल्याएको देखे दुई चार जना डोरी लिएर भेलमा पस्छन् । कोइरीले भने ‘बगेर आएको दाउरा जम्मा गरे आम्दानी हुन्छ । जोखिम हुँदाहँॅदै पनि नदीमा हेलिनु बाध्यता छं ।’जिल्ला प्रशासन कार्यालयले नारायणी नदीमा जलस्तर बढेको समयमा किनारमा नबस्न र सतर्क अवस्थामा रहन सूचना जारी गर्छ । तर सर्वसाधारणसम्म उक्त सूचना नै पुग्दैन । सूचना पुगिहाले पनि वर्षभरिलाई दाउराको जोहो गर्न यहाँका विपन्न समुदायलाई नदीमा हाम नफाली उपाय छैन । ‘बाढी आएको क्षेत्रमा नजान र नदीमा नपस्न पटकपटक सूचना जारी गरेका छौं । जोखिम मोलेर नदीमा हेलिँदा मानिसहरू बेपत्ता हुने क्रम बढेको छ,’ पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने, ‘बेपत्ता भएकाहरूको खोजीका लागि अत्यावश्यक उपकरण नहुँदा समस्या छ ।’
( कान्तिपुर दैनिक )
