
बागलुङ — ८ भाद्र २०७८
बागलुङ, दुई दिनयता लगातार झरीसँगै खसेको पहिरोले बागलुङ सदरमुकाम जोड्ने तीनवटा सडक अवरुद्ध भएका छन् । सदरमुकाम आउजाउ ठप्प भएपछि यात्रीले सास्ती खेपेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–खहरे खण्डको बोक्सेमा खसेको पहिरोले सोमबार रातिदेखि नै सवारी रोकिएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । लोकमार्ग अवरुद्ध भएपछि पश्चिम बागलुङका गलकोट, ताराखोला, बुर्तिवाङ, निसीखोला, तमानखोला र काठेखोलाका बासिन्दाले आवतजावत गर्न नपाएका हुन् । खाद्यान्न ढुवानीमा समेत समस्या परेको स्थानीय व्यवसायी कृष्ण कँडेलले बताए ।
बगलुङदेखि बेनी जाने रत्नेचौरतर्फको सडक पनि पहिरोले अबरुद्ध छ । कालीगण्डकी करिडोर तथा बागलुङ कुस्मीसेरा खण्ड भने डेढ महिनादेखि नै अवरुद्ध छ । ‘माथिल्लो खण्डबाट निरन्तर पहिरो झर्छ, त्यसैले रोक्नै सकिन्न, जोखिम भएकोले पैदल यात्रा समेत कठिन भएको छ’ पल्लीमगरले भने, ‘पानी नपरेको बेला माथिल्लो खण्डमा गएर ढुंगा खसाल्ने प्रयाससमेत असफल भयो ।’ यो खण्डमा दर्जनभन्दा बढी पहिरा छन् ।पहिरो छिचोल्न नसकेपछि पर्वतको कुस्मा हुँदै बागलुङ आइपुगेको जैमिनी नगरपालिका ८ छिस्तीकी जमुना अधिकारीले बताइन् ।
केही समयअघि करिडोरमा जोखिम मोलेर जिप पार गरेका थिए । सोमबारयता भने ठप्पै छ ।बागलुङ–कुस्मीसेरा सडक गत साउन पहिलो साताबाटै अवरुद्ध भएको थियो । ठूलो पहिरोले तीनवटा घुम्ती समेत बगाएको छ । यो सडक अवरुद्ध हुँदा दक्षिण बागलुङका सयौंले सास्ती खेपेका छन् ।
(कान्तिपुर दैनिक)
