Fast Nepal News

सिनारियोमा देखिएको नेपाली टोली

banner single news

काठमाडौँ — ७ भाद्र २०७८

काठमाडौँ , त्रिवि क्रिकेट मैदानमा आइतबार नेपाली क्रिकेटको सिनारियो प्रशिक्षण चलिरहेको थियो । सामान्यतः सिनारियो प्रशिक्षणले नेपालको टोली कसरी निर्माण भइरहेको छ भन्ने देखाउँछ । ओमानमा आईसीसी विश्वकप लिग २ का खेल अगाडिको अन्तिम प्रशिक्षणले नेपालको त्यही चित्रलाई देखाइरहेको थियो । कुशल भुर्तेल र आसिफ शेख ओपनिङ ब्याटिङमा आएका थिए । त्यसपछिको दोस्रो जोडी कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीको थियो । तेस्रो जोडीमा आरिफ शेख र रोहित पौडेल तथा चौथो जोडीमा शरद भेषावकर र विनोद भण्डारीले आधा–आधा घण्टा जस्तो क्रिजमा बिताए । सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने, सुशन भारी र पवन सर्राफसहित केही नेट बलरहरूले नेपाली ब्याट्सम्यानको परीक्षण लिइरहेका थिए । ब्याट्सम्यानहरूले पनि नेपाली बलरलाई जोखिरहेका थिए ।

वैशाखमा सम्पन्न तीन देशीय ट्वान्टी–२० कपले नेपालको ओपनिङ जोडीमा कुशल र आसिफलाई अगाडि ल्याएको थियो । ओमानको त्रिकोणात्मक शृंखलाबाट स्थापित हुने आशामा यो जोडी रहेको छ । सुरुआती अवसरमा राम्रो सफलता पाइसकेकाले कुशल र आरिफले नै ओपनिङ गर्न सक्ने प्रशिक्षक ह्वाटमोरले जनाउँदै उनीहरू अर्को अवसरका लागि योग्य भएको बताए ।यसअघि ज्ञानेन्द्रले एकदिवसीय र ट्वान्टी–२० दुवै संरचनामा नेपालबाट ओपनिङमा ब्याटिङ गर्दै आएका थिए । ‘उनीहरू क्लिक भइरहेका छन्, राम्रो भइरहेका भएर हामीले उनीहरूलाई पुस पनि गर्नुपर्छ । ट्वान्टी–२० बाट एकैपटक सफल हुन्छभन्दा पनि लामो समयका लागि स्थापित हुने मौका पनि दिनुपर्छ,’ ज्ञानेन्द्रले कुशल र आसिफको ओपनिङ जोडीका बारेमा भने, ‘ट्वान्टी–२० मा सफल भएकाले एकदिवसीयमा किन नगर्ने ?’

सेप्टेम्बर १४ देखि २० सम्म हुने विश्वकप छनोटको आधार रहेको लिग २ मा नेपालले अमेरिका र घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै छ । त्यसअघि नेपालले सेप्टेम्बर ५ र सेप्टेम्बर ८ मा पपुवा न्युगिनीसँग मस्कटमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ । लिग २ को तयारीका क्रममा हुने यी दुई खेलबाट ज्ञानेन्द्र पुनः तेस्रो नम्बरमा फर्किन संकेत सिनारियो प्रशिक्षणले देखाएको थियो ।पछिल्लो समयमा पारस खड्काले तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका थिए । पारसले गत महिना अप्रत्याशित रूपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । पारसबिना नेपालले १७ वर्षयता पहिलो पटक ५० ओभरको क्रिकेटमा प्रतिस्पर्धा गर्नेछ । सन् २००४ मा ‘डेब्यु’ गरेयता पारसले बिरामी पर्दा वा चोट लाग्दाबाहेक सबै प्रतियोगिता खेल्दै आएका छन् ।

‘दुःखका साथ भन्नुपर्दा हामी उनलाई गुमाइरहेका छौं, उनीसँग लामो अनुभव थियो, उनले नेपाल क्रिकेटका लागि आवश्यक सबै गरेका थिए,’ ह्वाटमोरले नेपाली क्रिकेटका सर्वाधिक खेलाडी पारसका बारेमा भने, ‘उनी जाँदा रहेको ठूलो खाडल नेपालले पुर्नुपर्नेछ । नेपालको क्रिकेट विकासमा उसको लिगेसी सधैं रहन्छ । मैले पारसलाई जति बुझेको छु, त्यस हिसाबमा उनलाई आफ्नो स्थानमा खेल्न युवा खेलाडी तयार भएकाले नै यो निर्णय लिन सहज भएको हो ।’कप्तान ज्ञानेन्द्रदेखि अनुभवी खेलाडी शरद भेषावकर र नेपाली ग्लोबल स्टार सन्दीप लामिछाने पारस कमी महसुस हुने भए पनि नेपाली क्रिकेट अब नयाँ लक्ष्यका साथ अगाडि बढ्नुपर्ने बताइरहेका थिए । मध्यक्रमको ब्याटिङमा ज्ञानेन्द्र, दीपेन्द्र, रोहित, आरिफ, शरदसहित कुशल मल्ल रहेका कारण पनि पारसको अनुभव महसुस हुन नदिने विश्वास प्रशिक्षक ह्वाटमोरको छ ।

पूरा तयारी ओमानमै

नेपाली टोलीको आइतबार सिनारियो प्रशिक्षणमात्र थियो, जुन बिनाबाधा राम्रोसँग भएको थियो । प्रशिक्षक ह्वाटमोर सिनारियो प्रशिक्षण यति चुस्त रूपमा भइरहँदा पत्रकारहरूलाई त्यो हेर्न पाएकामा भाग्यमानी भनिरहेका थिए । कारण यसअघिका प्रशिक्षण वर्षाका कारण प्रभावित हुँदै आएका थिए ।एक महिना छोटो नेपालको बन्द प्रशिक्षण वर्षा र मौसमसँग दोहोरी खेल्दै बितेको छ । आइतबार पनि नेपालको बिहान ९ देखि १२ बजेसम्म प्रशिक्षणको तालिका थियो । तर कीर्तिपुरमा बिहानको वर्षाका कारण दिउँसो १ बजे प्रशिक्षण सुरु भएको थियो । मंगलबार ओमान लाग्नुअघिको अन्तिम दिन पूरै सिनारियो प्रशिक्षण हुन सकेकाले ह्वाटमोरलाई राहत प्रदान गरेको थियो ।

‘जुन सुविधा हामीसँग थियो, त्यसमा सम्भव भएको राम्रो प्रशिक्षण गर्ने प्रयास गरेका थियौं । स्किलका हिसाबले हामी अझै लयमा आइसकेका छैनौं । अझ राम्रो प्रशिक्षण गर्न पाएनौं । आजको प्रशिक्षण सबैभन्दा राम्रो हो,’ ह्वाटमोरले भने । पपुवा न्युगिनीसँगको दुई एकदिवसीय खेल अगाडि नेपालले ओमानमा एक साता प्रशिक्षण गर्नेछ, त्यहींबाट चुस्त हुने दाउ ह्वाटमोरको छ ।कप्तान ज्ञानेन्द्र पनि मौसमका कारण सोचेअनुरूपको तयारी हुन नसकेको जनाउँछन् । ‘यो हाम्रो हातमा छैन, जति सम्भव छ गरेका छौं । प्रशिक्षण समय परिवर्तन गरेर, फिटनेसमा ध्यान दिएर हामीले राम्रो गर्ने प्रयास गरेका हौं,’ ज्ञानेन्द्रले भने, ‘ओमानमा हामी चाँडो गइरहेका छौं, त्यहाँ गएर राम्रो प्रशिक्षण हुन्छ होला ।’ वैशाखमा भएको मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय प्रतियोगितापछि नेपाली टोली पहिलो पटक प्रशिक्षणमा उत्रिएको हो ।

Inside Article Ads

५० ओभरको कमी

लिग २ मा नेपालको यो दोस्रो शृंखला हो । २०२० को फेब्रुअरीमा काठमाडौंमा अमेरिका र ओमानसँग नेपालले प्रतिस्पर्धा गरेको थियो, जुन लिग २ मा नेपालले खेलेको एकमात्र शृंखला हो । त्यसमा नेपालले अमेरिकासँगको दुवै खेल जितेको थियो भने ओमानसँगको दुवै खेल हारेको थियो ।त्यसयताका सबै शृंखला कोभिड–१९ कारण स्थगित हुँदै आएका छन् । ह्वाटमोर जनवरीमा नेपालको प्रशिक्षक भएका थिए र उनको प्रशिक्षणमा नेपालले त्रिदेशीय ट्वान्टी–२० प्रतियोगिता जितेको थियो । श्रीलंकालाई १९९६ मा एकदिवसीय विश्वकप जिताएका ह्वाटमोरको प्रशिक्षणमा नेपाल पहिलो पटक ५० ओभरको खेलमा उत्रन लागेको हो । फागुनमा भएको काठमाडौं मेयर कपयता नेपालले ५० ओभरको खेल खेलेको छैन ।

अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय संरचनामा नखेलेको नेपालले डेढ वर्ष भइसकेको छ । शरदका लागि ओमान भ्रमण डेढ वर्षपछिको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । ‘धेरैपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाइरहेकाले पूरा टोली नै उत्साहित छौं,’ शरदले भने, ‘म यसलाई पुनरागमनका रूपमा लिन्नँ किनभने नेपालले नै डेढ वर्षपछि एकदिवसीय खेल्दै छ । एसोसिएट क्षेत्रकै लागि बरु यो पुनरागमन हुन सक्छ । किनभने ५० ओभरको खेल हुन पाएको छैन । घरेलु क्रिकेट जस्तो भए पनि अन्तर्राष्ट्रिय क्रिकेट दबाब र सम्मानका लागि खेलिन्छ ।’ उनले नेपालको जस्तो तयारी अरू टिमको पनि त्यस्तै हुने आशंका गरे ।

‘हाम्रो टोलीमा धेरै युवा खेलाडी छन्, उनीहरूमा लामो संरचनाको खेलमा त्यति अनुभव छैन । त्यसैले टिमलाई कसरी सन्तुलित बनाउने र एक्सपोज गर्ने भन्नेमा सोचिरहेका छौं । त्यसैले यी दुई खेल हाम्रालागि महत्त्वपूर्ण छ,’ पपुवा न्युगिनीसँगको पहिलो दुई खेल धेरै हिसाबमा प्रयोगका रूपमा रहनेमा ज्ञानेन्द्र जोड दिन्छन् । कोभिडको यस्तो समयमा प्रतियोगिता हुनु नै ठूलो भएको उनी जनाउँछन् ।कुशल र आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्नै बाँकी छ । विक्रम सोब र गुलशन झा अन्तर्राष्ट्रिय क्रिकेटमै पहिलो खेलको प्रतीक्षामा छन् । घरेलु प्रतियोगितामा दुई खेलको मात्र अनुभव बोकेका गुलशन पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । ‘पहिलो पटक परेकाले मलाई कुनै दबाब छैन, जे सिकेर आएको छु, त्यही प्रदर्शनमा देखाउनेछु । नेपाल टिममा बसेर अझै सिक्नेछु,’ गुलशनको सिक्नमा जोड छ ।

लिग २ मा ओमन १० खेलमा १६ अंक जोडी शीर्षस्थानमा छ भने अमेरिका १२ खेलमा १२ अंक जोडी दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ९ अंक, नामिबिया ९ खेलमा ८ अंक र यूएई ७ खेलमा ७ अंक जोडी क्रमशः तेस्रोदेखि पाँचौं स्थानमा छन् । पपुवा न्युगिनी सबै ८ खेल हारी पुछारमा छ । लिग २ को शीर्ष तीन टोलीले एकआपसमा समान ३६ खेल खेलेपछि शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्नेछन् ।नेपालले अन्य टोलीको तुलनामा धेरै कम खेल खेलेको छ । ओमानमा राम्रो नतिजा ल्याएर नेपाल लिग २ को अंक तालिकामा माथि उक्लन आतुर छ ।

(कान्तिपुर दैनिक)

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.