
काठमाडौँ — ६ भाद्र २०७८
काठमाडौँ, कांग्रेसले साताअघि बनाएको १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार अब वडा तहको अधिवेशन हुन ११ दिनमात्रै बाँकी छ । तर, अधिवेशनमा ती वडाका मतदाता को–को हुने ? अझै निर्क्योल भइसकेको छैन । नेताहरूलाई सदस्यताको विषयमा उठेका विवाद मिलाउन हम्मेहम्मे परेको छ ।अधिवेशन आउन ११ दिन मात्रै बाँकी हुँदासमेत मतदाताको नामावली नपाएपछि निर्वाचन समिति अलमलमा परेको छ ।गत शनिबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र नेता रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई सदस्यताको विवाद मिलाउने जिम्मेवारी दिएको थियो । तर, त्यो कार्यदलले अहिलेसम्म अन्तिम जुटाउन सकेको छैन ।
कार्यदलमा निरन्तर छलफलपछि त्यसलाई टुंगोमा पुर्याउन आइतबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहित कार्यदलले बसेर सहमतिको खोजी गरिने र बेलुकासम्म सभापतिलाई बुझाउने तयारी रहेको कार्यदलका सदस्य रमेश लेखकले बताए । यसअघि शुक्रबार पनि कार्यदलका सदस्यहरूले सभापति देउवा र वरिष्ठ नेता पौडेलसँग पनि छलफल गरेका थिए ।विवाद समाधानका लागि क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरू समेत खटिरहेका छन् । संस्थापन र संस्थापन इत्तर पक्षका बीच सदस्यताका विषयमा समान धारणा नबन्दा विवाद सुल्झिएको छैन । नेताहरूलाई विवाद समाधानका लागि ठाँउैपिच्छे फरक–फरक मापदण्ड बनाउनुपर्ने अवस्था बनेको छ । सदस्यताको विवाद नसुल्झिएका कारण नेताहरूले अझैपनि क्रियाशील सदस्यता नवीकरण छुट भएको भए १० भदौसम्म त्यस्तो नवीकरण गरिदिने निर्णय गरेका छन् । एक नेताकाअनुसार अहिले छुटेको नवीकरण समेत भइरहेको छ ।
कांग्रेसले आगामी ९—१३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने गरी १८ भदौबाट तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । तर, सदस्यताको विवाद समाधानमा भएको ढिलाइले यो कार्यतालिका समेत प्रभावित हुने अवस्था बनेको छ । २३ भदौपछि कांग्रेसको वैधता रहने वा नरहने ? भन्ने प्रश्न छ । कांग्रेस नेताहरूले वैधता समाप्त हुने मितिभित्रै वडा अधिवेशन सुरु गरेर वैधता जोगाउन सकिने तर्क गरिरहेका छन् । निर्वाचन समितिले मतदाता नामावली प्राप्त भएको १९ दिनपछि मात्रै वडा तहको अधिवेशन गर्न सकिने समयतालिका केन्द्रीय समितिमा बुझाएको थियो । तर, वडा अधिवेशन गर्न तोकेको मिति आउन अब ११ दिनमात्रै बाँकी छ । त्यसकारण यो मितिमा पनि वडा अधिवेशन नहुने आशंका बढेको छ ।
(कान्तिपुर दैनिक)
