
लुम्बिनी — ४ भाद्र २०७८
लुम्बिनी, रोल्पाको लुङ्गी गाउँपालिकाकी एक महिलालाई साउन २ गते आफ्नै ससुराले करणी गरे । घटनाको अर्को दिन वडाध्यक्षसहित आठ जनाले उक्त घटना गाउँमै मिलापत्र गरेर सामसुम पारे । त्यस्तो मिलापत्र पीडितलाई चित्त बुझेन । उनले साउन ४ गते जिल्ला प्रहरीमा ससुराले आफूमाथि जबरजस्ती करणी गरेको र अन्य आठ जनाले घटना मिलाउने प्रयास गरेको भन्दै किटानी जाहेरी दर्ता गराइन् । जाहेरी दर्ता गरेकै दिन प्रहरीले आरोपित सबैलाई पक्राउ गरी मुद्दा चलाएको जिल्ला प्रहरी रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले बताए । अहिले ससुरालाई हाडनाता र जबरजस्ती करणीको मुद्दा चलाइएको छ । उनी पुर्पक्षका लागि थुनामा छन् । आठ जना मतियारमध्ये एक जना १ लाख ५० हजार, चार जना ६० हजार र तीन जना ३० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
अर्घाखाँचीको शीतगंगा–२ की सिर्जना सुनारले गत चैतमा स्थानीय सुमन क्षेत्रीसँग प्रेमविवाह गरिन् । दलित भएका कारण परिवारका सदस्यले घरमा भित्र्याएनन् । बुटवलमा कोठा भाडामा लिई बसेका उनीहरूको सम्बन्ध चिसिंदै गयो । सुमनले सिर्जनालाई कुटपिट गर्ने, गर्भमा भएको ८ महिनाको बच्चा फाल्न दबाब दिने गर्न थाले । सिर्जनाले नमानीकन बसिरहेको र माइतीलाई बच्चा रहेको कुरा जनाएकी थिइन् । साउन २१ गते राती ११ बजेसम्म आफन्तीसँग कुरा गरेकी सिर्जना २२ गते बिहान आत्महत्या गरेर पंखामा झुन्डिएको अवस्थामा फेला परिन् । घटनापछि माइतीले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले सुमनलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।
रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) ले गत शनिबार आफ्नै घरमा बोलाई २१ वर्षीया एक महिलालाई करणीको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । शुक्लाले साउन २४ गते बिहान घरमै बोलाएर प्रहरी थुनामा रहेका श्रीमान्लाई छुटाइदिने आश्वासनमा करणी गर्ने प्रयास गर्दा महिला भाग्न सफल भएकी थिइन् । आफूहरूको अध्ययनले महामारीले भित्र्याएको बन्दाबन्दीले निम्तिएको आर्थिक समस्या, मदिरा सेवनका कारण विवेक गुमाएर मानिसले यस्ता कुकृत्य गरेको भेटिएको अनौपचारिक सेवा केन्द्र (इन्सेक)का लुम्बिनी प्रमुख भोला महतले बताए । उनले महिलामा आफूमाथि भएका घटनाबारे प्रहरी र अन्य संघसंस्थामा उजुरी दिनुपर्छ भन्ने चेतना वृद्धिले पनि घटना दर्ता भएको र संख्या बढेको सुनाए । ‘अहिले पनि महिलाप्रति हेर्ने दृष्टिकोण नकारात्मक नै छ,’ उनले भने, ‘मानसिक विचलनले पारिवारिक हिंसाका घटना बढेका छन् ।’
(कान्तिपुर दैनिक)
