
काठमाडौँ — ४ भाद्र २०७८
काठमाडौँ, एमालेले १४ सांसदलाई पदमुक्त गर्नका लागि संसद् सचिवालयमा पठाएको पत्रमा गत वैशाख २७ मा प्रतिनिधिसभामा ह्वीप उल्लंघन गरेकाले कारबाही गरिएको जनाएको छ ।एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा वैशाख २७ मा विश्वासको मत लिने बेला प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहेका २८ मध्ये १४ सांसदलाई पदमुक्त गर्न भन्दै मंगलबार संसद् सचिवालयलाई पत्र पठाएका थिए ।ओलीले पठाएको पत्रमा माधवकुमार नेपालसहित १४ सांसदलाई दल त्याग गरेको विषय उल्लेख गर्दै ‘ह्वीप उल्लंघन’ मा कारबाही गरिएकाले प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिदिन भनिएको छ ।
‘पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मिति २०७८ वैशाख २७ गते दिनको १ बजे प्रतिनिधिसभामा नेपालको संविधानको धारा १०० (१) बमोजिम विश्वासको मत लिने र सो मतदानमा सबै प्रतिनिधिसभा सदस्यलाई विश्वासको मतको पक्षमा मतदान गर्न मिति २०७८ वैशाख २६ गते राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८ बमोजिम निर्देशन (ह्वीप) जारी गरिएको तर पार्टीबाट निर्वाचित २८ जना माननीय सदस्यहरूले उक्त ह्वीप उल्लंघन गर्नुभएको व्यहोरा संसदीय दलका मुख्य सचेतक माननीय विशाल भट्टराईले केन्द्रीय कमिटीलाई जानकारी दिनुभएको थियो,’ केन्द्रीय कमिटीले १४ सांसदलाई कारबाही गर्नका लागि गरेको निर्णयमा भनिएको छ ।
साउन २५ मा बसेको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा वैशाख २७ पछि एकैपटक साउन ४ मा केन्द्रीय कमिटी बैठक बसेको र उक्त बैठकले ह्वीप उल्लंघन गर्ने सांसदलाई स्पष्टीकरण सोधिएको उल्लेख छ । ‘ह्वीप उल्लंघन भएपछि मिति २०७८ साउन ४ मा पहिलोपटक बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको अनुशासन उल्लंघन गर्ने र पार्टीविरुद्ध निरन्तर क्रियाशील रहेका केही सदस्यलाई केन्द्रीय कमिटीको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्धको गतिविधिमा निरन्तर संलग्न भएको र विश्वासको मतको प्रस्तावको पक्षमा मतदान नगरी ह्वीप उल्लंघन गर्नुभएको हुँदा प्रतिनिधिसभाको सदस्यबाट किन निष्कासन नगर्ने भनी स्पष्टीकरण माग गर्नुभएको थियो ।’
यी सांसदले ह्वीप उल्लंघनसँगै दल त्याग गरेको भन्दै ओलीले संसद् सचिवालयलाई पत्र लेखेका छन् । जसको विषय ‘दल त्याग गरेको सूचना सम्बन्धमा’ लेखिएको छ । त्यसको व्यहोरामा भनिएको छ, ‘यस दलका तर्फबाट प्रतिनिधिसभाका माननीय सदस्यहरूले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८(१) (क) बमोजिम कार्य नगरी दलको निर्देशन (ह्वीप) उल्लंघन गरेकाले यस दलको केन्द्रीय कमिटीको २०७८ साउन २५ को निर्णयअनुसार ऐ. ऐनको दफा ३२ (२) बमोजिम प्रतिनिधिसभा सदस्यसमेत नरहने गरी यस दलबाट समेत निष्कासन गरिएकाले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपिसमेत साथै राखी यो सूचना गरिएको छ । दफा ३५ बमोजिम तत्काल सदनलाई जानकारी गराई दफा ३६ बमोजिम स्थान रिक्तको सूचना निर्वाचन आयोगमा शीघ्र दिनुहुन अनुरोध छ ।’
वैशाख २७ मा ओलीले प्रधानमन्त्रीका रूपमा विश्वासको मत लिँदा एमालेका २८ जनाले ह्वीप उल्लंघन गरेका थिए । पहिलो चरणमा १४ जनालाई प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरिएको र अर्को चरणमा त्यसरी ह्वीप उल्लंघन गर्ने अन्यलाई पनि सिफारिस गरिने एमालेको साउन २५ को निर्णयमा उल्लेख छ । संघीय संसद्लाई लेखेको पत्र र निर्वाचन आयोगलाई बोधार्थ दिएको पत्रमा एमालेले वैशाख २७ पछि केन्द्रीय कमिटी बैठक एकैपटक साउन ४ मा बसेको भनिएको छ ।तर, एमालेको केन्द्रीय कमिटीको १३ औं बैठक असार १८ र १९ गते बालुवाटारमा बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनको मिति तोक्नेदेखि लिएर पार्टीको तल्लो तहका अधिवेशनका मिति तोक्नेसम्मका निर्णय गरेको थियो ।वैशाख २७ मा आफ्नै पार्टीका सांसदले ह्वीप उल्लंघन गरेर अनुपस्थित हुँदा ओलीले ९३ मत मात्रै पाएका थिए ।
(कान्तिपुर दैनिक)
