Fast Nepal News

भागबन्डा मिलाउन मन्त्रालय टुक्र्याइँदै

banner single news

रूपन्देही — २ भाद्र २०७८

रूपन्देही, मन्त्रीका आकांक्षी धेरै भएपछि लुम्बिनी सरकारले मन्त्रालय बढाउने तयारी गरेको छ । लुम्बिनीमा हाल १० सदस्यीय मन्त्रिमण्डल छ । सुरुमा तीन वर्ष ७ सदस्यीय मन्त्रिमण्डल रहेको लुम्बिनीमा पूर्वमुख्यमन्त्री शंकर पोखरेलले सत्ता जोगाउनकै लागि गत वैशाख १९ मा मन्त्रालय फुटाएर १० पुर्‍याएका थिए ।अहिले दुई ठूला दलका आकांक्षी व्यवस्थापन गर्न १० बाट बढाएर १५ सम्म मन्त्री पुर्‍याउने गरी गठबन्धनमा छलफल जारी छ । विश्वासको मत लिएपछि मात्र मन्त्रालयको संख्या यकिन गर्ने र दुवै दलबाट मन्त्री बन्नेको टुंगो लाग्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खानले बताए । ‘मन्त्रालयको संख्या केही बढ्छ नै,’ उनले भने, ‘संविधान र कानुनको सीमाभित्रै रहेर मन्त्रालयको संख्या निर्धारण हुन्छ ।’ ८७ सदस्यीय प्रदेशसभामा संविधानअनुसार १७ जनासम्म मन्त्री बनाउन सकिन्छ । तर १७ नै भने नपुग्ने उनको भनाइ छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार विश्वासको मत लिने तयारी गरेका थिए । तर मंगलबारको बैठक एमालेले अवरोध गरेपछि त्यसको प्रतिवाद र आगामी रणनीति तयार गर्न सत्तापक्षीय गठबन्धन छलफलमा जुटेको छ । एमालेले अहिलेको गठबन्धनमा सहभागी दुई सदस्य आफ्नो दलको भन्दै कारबाहीका लागि सिफारिस गरेको छ । एमालेले उपनिर्वाचनमार्फत दाङबाट निर्वाचित विमला खत्री वली र सरकारमा सहभागी नवलपरासी पश्चिमबाट निर्वाचित अजय शाहीलाई पदमुक्त गर्न मंगलबार नै सिफारिस गरेको हो । तत्काल कारबाहीको माग गर्दै एमालेले निरन्तर प्रदेशसभा बैठक अवरुद्ध गर्ने रणनीतिमा छ ।अहिलेको गठबन्धनबाट ४२ जनाको समर्थनमा केसी मुख्यमन्त्री नियुक्त भएका हुन् । अहिले कायम ८० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४१ जना आवश्यक पर्छ ।
तीमध्ये एमालेले गरेको कारबाहीको सिफारिसको विषयमा कानुनी परामर्शमा पनि सत्तापक्षीय गठबन्धन जुटेको छ । स्रोतका अनुसार मंगलबारको अनौपचारिक छलफलमा माओवादी रोज्ने खत्री र स्वतन्त्र हैसियतबाट सरकारमा सहभागी शाहीलाई कुनै कारबाही गर्न नमिल्ने निष्कर्ष निकाल्दै ‘प्रदेशसभा बैठकमा पेलेरै अघि बढ्ने’ मा गठबन्धन सहमत भएको छ ।सत्तापक्षीय नेता एवं माओवादीका पूर्वमन्त्री सुदर्शन बरालले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रालयको विषयमा छलफल सुरु हुने बताए । उनी गठबन्धनबाट मन्त्रालय बाँडफाँटका लागि बनेको कार्यदलका सदस्य पनि हुन् । स्रोतका अनुसार मुख्यमन्त्री केसी बुधबार नै विश्वासको मत लिने तयारीमा छन् । नेता बरालले पनि त्यसको संकेत गरे । ‘ठ्याक्कै डेट त तोकिएको छैन,’ उनले भने, ‘तर एक/दुई दिनमै लिनुहुन्छ ।’ प्रतिपक्षको विरोध गर्ने धर्म भन्दै उनले विरोध जारी रहे पनि विश्वासको मत लिने प्रक्रिया अघि बढ्ने बताए ।
गठबन्धनबाट मुख्यमन्त्रीसहित माओवादीबाट २, कांग्रेसबाट १, जसपाबाट ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ । मुख्यमन्त्रीमा केसीसहित माओवादीका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजनामन्त्री छन् । कांग्रेसबाट डिल्लीबहादुर चौधरी सहरी तथा ग्रामीण विकासमन्त्री र जसपाका सहसराम यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् । जसपाका दुई र स्वतन्त्र एक गरी तीन जना बिनाविभागीय मन्त्री छन् । स्रोतका अनुसार माओवादी र कांग्रेसबीच ४/४ मन्त्री र १/१ जना राज्यमन्त्री बनाउने सहमति छ ।

मन्त्रीका लागि माओवादीबाट गुल्मीका सुदर्शन बराल, पाल्पाका तुलाराम घर्ती, दाङका इन्द्रजित थारू, विमला वली खत्री, बर्दियाका तिलकराम शर्मा, बाँकेकी कृष्णा केसीको चर्चा छ । दाङकी दामाकुमार शर्माको पनि चर्चा छ । तर, उनले विमलालाई मन्त्री बनाएमा आफ्नो दाबी नहुने बताएकी छन् । बराल यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए । त्यस्तै, कांग्रेसबाट रूपन्देहीकी रमा अर्याल, बसिउद्दिन खान, नवलपरासीका बैजनाथ कलवार, पाल्पाका वीरबहादुर राना र बाँकेका सुरेन्द्रबहादुर हमालको नाम चर्चामा छ ।

Inside Article Ads

नेकपा एमालेले पार्टी परिवर्तन गरेको भन्दै दुई सदस्यलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ । सूर्य चुनावचिह्न लिएर नेकपाबाट दाङ–३ (ख) बाट निर्वाचित विमला खत्री वलीले नेकपा विघटनपछि एमालेको संसदीय दल र पार्टीका बैठकमा सहभागी भएको भन्दै माओवादी दल रोज्ने निर्णय अस्वीकार गर्दै आएको छ । त्यस्तै नवलपरासी पश्चिम–१ (ख) बाट सूर्य चिह्न लिएर स्वतन्त्र समूहबाट निर्वाचित अजय शाही अहिलेको सरकारमा मन्त्री बनेका छन् ।

एमालेले खत्रीलाई एमाले संसदीय दल र केन्द्रीय समितिबाट र शाहीलाई एमाले संसदीय दलले कारबाही गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई मंगलबार पत्राचार गरेको हो । उनीहरू दुवैलाई पदमुक्त नगरेसम्म प्रदेशसभा बैठक चल्न नदिने रणनीतिमा एमाले छ । शाही केसी नेतृत्वको सरकारमा बिनाविभागीय मन्त्री छन् । खत्री मन्त्री बन्ने प्रयासमा छन् । एमाले प्रमुख सचेतक भूमीश्वर ढकालले शाही र वली दुवैले पार्टी र संसदीय दलको विधान एवं पार्टी निर्देशनविपरीत गतिविधि गर्दै गठबन्धन र सरकारमा सहभागी भएकाले पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको बताए ।

‘यसअघिका कारबाही र राजीनामा मसी सुक्न नपाउँदै हुने गरेका थिए,’ उनले भने, ‘तर, हाम्रो पत्राचारमा बेवास्ता गरेपछि बैठक अवरुद्ध गरेका छौं । यो कारबाही नभएसम्म निरन्तर रहन्छ ।’ पूर्वमुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति कार्यक्रम असफल बनाउन दुवैले विपक्षीलाई सहयोग गरेको र संसदीय दलको निर्देशनविपरीत सरकारमा समेत सहभागी भएकाले कारबाही गरेको उनले बताए । तर, मन्त्री शाहीले आफू स्वतन्त्र समूहबाट निर्वाचित भएकाले एमालेले कारबाही गर्न नसक्ने र वलीले आफ्नो दल रोज्न पाउने अधिकार भएकाले एमालेले आफूलाई कारबाही गर्न नपाउने बताएका छन् ।

(कान्तिपुर दैनिक)

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.