Fast Nepal News

नगर भवन बनाउन सुरु

banner single news

बागलुङ —  १ भाद्र २०७८

बागलुङ, चालु आर्थिक वर्षभित्र जिल्लाका २ नगरपालिकाले आफ्नै भवन बनाउने गरी काम थालेका छन् । गलकोट र जैमिनी नगरपालिकाले काम थालेका हुन् । चार बर्षमा यी दुइ नगरपालिकाले भाडाका लागि मात्रै १ करोड २० लाख रुपैयाँ खर्चिइसकेका छन् ।जैमिनीले वडा १ मा ८ रोपनी जमिन खरिद गरेर डीपीआर बनाइसकेको नगर प्रमुख इन्द्रराज पौडेलले बताए । कम्तीमा एक वर्षपछि बनाईसक्ने बताउँदै उनले भने, ‘आफ्नै भवन नहुँदा अहिले सेवा प्रवाहमा समेत समस्या छ ।’ भाडाका एउटै घरमा कार्यालय नअटेपछि विभिन्न स्थानमा सञ्चालन भइरहेका छन् ।

नगरपालिकाले गत आर्थिक वर्षदेखि नै जग्गा सम्याउने, सडक, खानेपानीजस्ता अत्यावश्यक पूर्वाधार तयार गर्न ६४ लाख रुपैयाँ लगानीमा काम गरिरहेको थियो ।मुख्य प्रशासकीय भवनका लागि भने गण्डकी प्रदेश र संघीय सरकारमा माग भएको पौडेलले बताए ।‘डीपीआर अनुसार ११ करोड लागत अनुमान छ, मुख्य प्रशासकीय भवनबाहेकका संरचना बनाइसक्दा थप एक करोड खर्च हुन सक्छ,’ पौडेलले भने, ‘चालु वर्षका लागि नगरपालिकाबाट पनि १ करोड विनियोजन गरेर काम थालिसकेका छौं ।’ डीपीआर, लागत स्टिमेटसमेत पठाइसके पनि कति रकम आउँछ भन्ने यकिन नभएकाले संघीय सरकारमा खोजी गर्न जाने योजना उनले सुनाए । प्रशासकीय भवन निर्माणका लागि जैमिनी–१ र २ का स्थानीयले ८ रोपनी जमिन निःशुल्क दिएका थिए ।

Inside Article Ads

गलकोटका प्रमुख प्रशासकीय अधिकृत तुलबहादुर विकका अनुसार चालु वर्षका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको हो । नगरपालिकाले गत वर्ष २ करोड ४५ लाख रुपैयाँमा वडा ६ मा ८ रोपनी ३ आना जग्गा खरिद गरेको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।‘जग्गा पास गरेर डीपीआर बनाउँदै छौं, छिट्टै सकेर काम पनि थालिन्छ,’ गैरेले भने, ‘जग्गा व्यवस्थापन पछि संघीय सरकारले लगानी गर्ने नीतिअनुसार संघीय मामिला मन्त्रालयमा बजेट माग भएको छ ।’बजेट प्राप्त भएमा एक डेढ वर्षमा भवन पूरा हुने उनले सुनाए । बागलुङ नगरपालिकाले भने कृषि ज्ञान केन्द्रमा कार्यालय सञ्चालन गरेको छ ।

(कान्तिपुर दैनिक)

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.