
काठमाडौँ – २६ श्रावण २०७८
काठमाडौँ, पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निकालेको छ ।महाराजगन्जस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रीय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकतालाई बचाउन सकिने निष्कर्ष निकालेको हो ।
तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको वैधानिकतालाई अझै पनि बचाउन सकिने निष्कर्षमा आफूहरु पुगेको वरिष्ठ नेता पौडेलले बताए । उनले त्यसका लागि पार्टी नेतृत्त्वले इमान्दार प्रयास गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए । वरिष्ठ नेता पौडेलले भने, ‘हाम्रो धारणा र सोचाइको निष्कर्ष के छ भने पार्टीको महाधिवेशन तोकिएकै मितिमा गरेर अझै पनि पार्टीको वैधानिकतालाई जोगाउन सकिन्छ । त्यसका लागि हामी सबैले इमान्दारपूर्वक प्रयास गर्नु पर्छ ।’
बैठकले महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यता सम्बन्धी विवाद थाती राखेर १३ औं महाधिवेशनकै प्रतिनिधिबाट प्रक्रिया अघि बढाउन सकिने पनि स्पष्ट पारेको छ । नेता पौडेलले सकिने ठाउँमा भने क्रियाशील सदस्यको विवाद समाधानका लागि २ दिन सम्मको समय लिन सकिने आफू पक्षको धारणा भएको पनि बताए । क्रियाशील सदस्यताको विवाद देखाएर नेतृत्वले पार्टीको वैधानिकतालाई धरापमा पार्न नहुने पौडेल पक्षको दाबी छ ।
