Fast Nepal News

४ गुणाले बढ्यो माछा आयात

banner single news

पर्सा — २२ श्रावण  २०७८

पर्सा, माछा आयातलाई प्रतिस्थापन गर्ने सरकारी प्रयासका बावजुद पनि भारतबाट माछाको आयात बढेको छ । अघिल्लो आवको तुलनामा गत आवमा वीरगन्ज नाकाबाट माछाको आयात बढेको तथ्यांकले देखाएको छ । वीरगन्ज माछा आयात हुने मुलुककै मुख्य नाका हो ।पशु क्वारेन्टाइन कार्यालय पर्साको तथ्यांकअनुसार अघिल्लो आवमा वीरगन्ज नाका हुँदै १० मेट्रिक टन आलो माछा आयात भएकामा गत आवमा यो परीमाण ५० मेट्रिक टन पुगेको छ । तुलनात्मक रूपमा यस्तो माछाको आयात ४ गुणाले बढेको हो । विगतमा भारतको आन्ध्र प्रदेशबाट आलो माछा आयात हुने गरेकोमा अहिले कोलकाताबाट आयात भइरहेको छ । कोलकातास्थित क्वारेन्टाइन कार्यालयबाट उत्पत्ति प्रमाणपत्र लिन सहज हुने भएकोले आयातकर्ता त्यता आकर्षित भएका हुन् ।

पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डा. हरेराम यादवका अनुसार अघिल्लो आवमा माछामासु आयात गर्दा भारतीय क्वारेन्टाइन कार्यालयबाट उत्पत्तिको सिफारिस अनिवार्य गरिएपछि वीरगन्ज नाकाबाट हुँदै आएको भारतीय माछाको आयात ह्वात्तै घटेको थियो । ‘अघिल्लो आवको फागुन अन्तिम सातादेखि नाकाहरूबाट भित्रिने राँगा, भैंसी तथा माछाको आयातमा भारतीय क्वारेन्टाइनबाट स्वास्थ्य उत्पत्तिको सिफारिस अनिवार्य गरिएको थियो,’ डा. यादवले भने, ‘यसले स्वदेशी उत्पादनले बजार पाउँदा माछा मासुमा आत्मनिर्भरता पनि वृद्धि हुँदै गएको थियो ।’
Inside Article Ads

पशु स्वास्थ्य सेवा ऐन २०५५ र त्यसको नियमावली २०५६ मा विगतमा नै रहेको उत्पत्ति प्रमाणपत्रको अनिवार्यताको प्रावधानलाई अघिल्लो आर्थिक वर्षदेखि नै कडाइका साथ लागू गरिएको उनले दाबी गरे । माछा आयातकर्ताहरूले कोलकाताबाट उत्पत्ति प्रमाणपत्र तथा अन्य आवश्यक कागजातसमेत ल्याउने गर्न थालेपछि भारतबाट माछाको वैध आयात बढ्दै गएको हो । भैंसी, राँगा आयातकर्ताहरूले भने अझै पनि यसरी व्यावसायिक रूपले उत्पत्ति प्रमाणपत्रको व्यवस्था गरेर चौपाया आयात गर्न चाहेका छैनन् । त्यसकारण पनि यस्ता चौपायाको अवैध तस्करी बढेको छ ।भारतको कोलकाता, चेन्नई, मुम्बई, दिल्ली, हैदराबादलगायतका सहरहरूमा क्वारेन्टाइन कार्यालय रहेको र त्यहाँबाट उत्पत्तिको सिफारिस हुन्छ । बिहारको सुगौलीसम्मको क्षेत्र कोलकाता क्वारेन्टाइन कार्यालयको क्षेत्रभित्र पर्छ ।

(कान्तिपुर दैनिक)

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.