
गोरखा — २० श्रावण २०७८
गोरखा , मनास्लु पदमार्गअन्तर्गत यारुबगरमा बुढीगण्डकीले पैदलमार्ग कटान गरेपछि बनेको भीरमा काठे भर्याङ राखेर स्थानीयले आउजाउ थालेका छन् । एक महिनादेखि पदमार्ग अवरुद्ध बनेपछि खच्चड व्यवसायीले भीरमा भर्याङ राखेर खाद्यान्न ढुवानी थालेका छन् । यारुबगरकै अन्य स्थानमा काठ र फल्याक बिछ्याएर हिँड्न मिल्ने बनाइएको छ ।आर्खेतबाट डेढ दिन हिँडेर यारुबगर खच्चडबाट पुगेको सामान कटान भएको ठाउँमा पिठ्युँमा बोकेर तार्ने गरेको सिर्दिबासका खच्चड व्यवसायी कान्छा गुरुङले बताए । ‘बाटो बन्द छ, माथि खाद्यान्न सकिँदै गयो, खच्चडलाई पनि कति दिन बसाउने ?,’ उनले भने, ‘तल्लो क्षेत्रमा रोकिएका खच्चडले यारुबगरसम्म सामान पुर्याउने, बाटो बिग्रिएको ठाउँमा भर्याङ राखेका छौं, त्यहाँ मान्छेले बोक्ने अनि माथि खच्चडले जगत, फिलिमसम्म सामान पुर्याउने गरेका छौं ।’ यारुबगरको बाटो कटानपछि भीर देखिएको ठाउँमा ठाडो भर्याङ राखेको उनले बताए ।
कुखुराको दाना पनि अभाव देखिएको जगतका गणेश कार्कीले बताए । ‘केही कुखुरा खान नपाएर मरे, चामल खुवाएर केही बचाएँ, अरूको अवस्था पनि यस्तै हो’ उनले भने, ‘चामल सकिँदै गएको छ, कुखुरालाई खुवाउने दाना छैन, दुई/चार दिनयता यारुबगरमा भर्याङ राखेर सामान ढुवानी हुन थालेपछि केही सामान पुगेका हुन् ।’ २ हजारमा पाइने ३० केजीको एक बोरा दानालाई ३८ सय रुपैयाँ परेको र त्यही पनि हारालुछ हुने उनले बताए ।चुमनुब्रीअन्तर्गत सामागाउँ, ल्हो, प्रोक, छेकम्पार, चुम्चेत, सिर्दिबास, बिही पुग्ने एकमात्र पदमार्ग भत्किएपछि स्थानीय समस्यामा परेका हुन् । असार पहिलो साता कटान भएको जगत खण्डको पदमार्ग मर्मत भएको छ । असार तेस्रो साताको भेलले यारुबगरस्थित क्यान्टिलिभर पुलसँगैको एक सय मिटर पदमार्ग बगाएपछि आउजाउमा जोखिम बढेको हो । ‘सानो पानी परे अझै बाटो बिग्रन्छ,’ जगतका राजेन्द्र कार्कीले भने ।
बाटो बिग्रिएर उपभोग्य सामग्री ढुवानी हुन नसकेपछि उत्तरी गोरखाका खाद्य संकट जोखिम बढेको छ । पसलमा रहेको स्टक सामान सकिएको चुमनुब्री–६ चुम्लिङका लोप्साङ लामाले बताए । ‘तलको बाटो कटानमा पर्यो, चाइना जान नाका बन्द छ, तल नि जान नसक्ने, तिब्बतको बजारमा पनि जान नपाउने बीचमा पर्यौं,’ उनले भने, ‘खानेकुरा सिद्धिँदै गयो, केही पाइनै छाड्यो, पसलहरू खाली भएका छन्, किन्छु भन्दा पनि चामल तेल पाइँदैन ।’धान नफल्ने उक्त क्षेत्रमा उत्पादित कृषि उपजले ४ महिना पनि धान्दैन । ‘कोदोको ढिँडो खान थालेका छौं,’ उनले भने, ‘एक महिनादेखि केही सामान पनि गाउँमा आएको छैन ।’ उत्तरी गोरखामा आरुघाटलगायत तल्लो बजारबाट खच्चडमार्फत उपभोग्य सामग्री ढुवानी हुने गर्छ ।
उपभोग्य सामग्रीका लागि तिब्बतको बजारको पनि भर पर्ने सीमा क्षेत्रका बासिन्दा कोरोना जोखिमका बीच २ वर्षदेखि सामागाउँ र छेकम्पारको नाका बन्द भएपछि समस्यामा परेका हुन् ।बाटो मर्मतका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालय र प्रदेश सरकारसँग पनि आग्रह गरेको छ । ‘असार २५ गते गृह मन्त्रालयलाई पत्राचार गरेर लार्के सडकको ट्र्याक खोल्न खटिएको नेपाली सेनालाई बाटो मर्मतका लागि खटाउनका लागि भनेका छौं,’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने, ‘अहिले भर्याङ हालेर आउजाउ भइरहेको छ, जोखिम छ/छैन बुझ्न प्रहरीलाई पनि भनेका छौं ।’ हेलिकप्टरबाट ढुवानी भएको उपभोग्य सामग्रीले मात्र धान्न नसक्ने भन्दै बाटो मर्मतमा जोड दिएको उनले बताए ।
(कान्तिपुर दैनिक)
