Fast Nepal News

भदौ पहिलो साताबाट स्थानीय अधिवेशन

banner single news

काठमाडौँ — २० श्रावण  २०७८

काठमाडौँ, नेपाली काँग्रेसले देशभरका सबै जिल्लाको क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिएर भदौ पहिलो साताबाट स्थानीय तहको अधिवेशन सुरु गर्ने भएको छ । पार्टीको शीर्ष नेतृत्वले बिहीबारसम्ममा क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिने बताइएको छ ।सदस्यता टुङ्गो लागेपछि स्थानीय तह अधिवेशनको कार्यतालिका सार्वजनिक गरिने भएको छ । महाधिवेशन तयारीबारे जानकारी दिँदै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनको मतदाता रहेका क्रियाशील सदस्यताको विवाद मिलेपछि अधिवेशन सम्पन्न गर्न सहज हुने बताउनुभयो ।

यसअघि बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यताको विवाद देखिएका जिल्लाको विवाद मिलाउने जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वलाई दिँदै पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।उहाँले पार्टीमा विशेष महाधिवेशनको सम्भावना नरहेको र पार्टी सभापति देउवा विशेष महाधिवेशन नभई विधिवत् रूपमा पूर्ण महाधिवेशनकै पक्षमा रहनुभएको जानकारी दिनुभयो । यसअघिको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पनि सभापति देउवाले आफू भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहेको बताउनुभएको थियो ।पार्टीमा अब धनुषा, सर्लाही, बारा, सप्तरी, सिन्धुपाल्चोक र रसुवा गरी छवटा जिल्लामा क्रियाशील सदस्यताको विवाद समाधान गर्न बाँकी छ । बाँकी सबै जिल्लामा क्रियाशील सदस्यताको विवादको छिनोफानो भइसकेको छ ।

Inside Article Ads

यसैबीच, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइरालासहितका नेताहरूको मङ्गलबार पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा क्रियाशील सदस्यताको विवाद, महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल गरिएको छ । पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले क्रियाशील सदस्यताको विवाद नभएका जिल्लामा महाधिवेशनका लागि सहज भएको र विवाद भएका जिल्लामा के गर्न उपयुक्त हुन्छ भन्ने विकल्पमा छलफल गरिएको जानकारी दिनुभयो ।

(गोरखापत्र अनलाइन )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.