Fast Nepal News

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

banner single news

काठमाडौँ — १९ श्रावण  २०७८

काठमाडौँ, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । मंगलबार बिहान उनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् ।झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए ।पारसले सन् २००४ मा मलेसियाविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका थिए । सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हालेका थिए । १० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरे । उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन् ।

नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा खेलेको भूमिका अविश्वसनीय छ ।उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय, ट्वान्टी-२० अन्तर्राष्ट्रिय र ट्वान्टी-२० मा सर्वाधिक रन बनाउने खेलाडी हुन् । पारसले नेपाली टोलीबाट १० वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका छन् । उनले १० खेलबाट ३१५ रन बनाएका छन् । त्यस्तै उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ७९९ र ट्वान्टी-२० मा ५६ खेलमा १ हजार ३ सय ७७ रन बनाएका छन् ।३३ वर्षे उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो खेलाडी हुन् । उनकै कप्तानीमा नेपालले २०१४ मा बंगलादेशमा टी-२० विश्वकप खेलेको थियो भने २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

पारसले लेखेका छन्–

सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।

२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरू प्रति म सदैव ऋणी रहनेछु

क्रिकेटरका रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरें । मेरो जीवनमा मैले देखेको सपना भनेकोनै नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउनेछौं।

अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन् ।

मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनेछौं भन्ने विश्वास लिएको छु ।

पारसको कप्तानीमा नेपाली क्रिकेटका मुख्य उपलब्धि

२००९ नोभेम्बर– एसीसी ट्वान्टी–२० प्रतियोगितामा कप्तानी जिम्मेवारी

२०१०– विश्व क्रिकेट लिग डिभिजन–५ उपाधि

२०११– एसीसी ट्वान्टी–२० कपमा सेमिफाइनल

२०१२– विश्व क्रिकेट लिग डिभिजन–४ उपाधि

Inside Article Ads

२०१२– ट्वान्टी–२० विश्वकप छनोटमा सातौं

२०१३– विश्व क्रिकेट लिग डिभिजन–३ उपाधि

२०१३– एसीसी ट्वान्टी–२० फाइनल

२०१३– विश्वकप छनोटमा तेस्रो भएपछि विश्वकपमा ऐतिहासिक छनोट

२०१४– ट्वान्टी–२० विश्वकपमा अफगानिस्तान र हङकङलाई हराए पनि बंगलादेशसँग पराजित, समूहबाटै बाहिर

२०१४– एकदिवसीय विश्वकप छनोटमा नवौं हुँदै डिभिजन २ बाट रेलिगेसन

२०१४– विश्व क्रिकेट लिग डिभिजन–३ उपाधि

२०१५– देखि २०१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसिप

२०१७– विश्व क्रिकेट लिग डिभिजन–२ फाइनल

२०१८– एकदिवसीय विश्वकप छनोटमार्फत ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता

२०१९– ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा सिंगापुरसँग पराजित हुँदै बाहिर

(कान्तिपुर दैनिक)

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.