
६ फाल्गुन ,काठमाडौँ —हुन त हिन्दूहरुको एक प्रमुख पर्व शिवरात्रि हो तर यो खासगरि शैव सम्प्रदायको प्रमुख पर्व हो । हिन्दूहरु चार रात्रिलाई प्रमुख रुपमा मान्ने गर्दछन् । मोहरात्रि, कालरात्रि, सुखरात्रि तथा महारात्रिका रुपमा चार रात्रिको बिशेष उल्लेख गर्ने गरिन्छ । मोहरात्रि भाद्र कृष्ण अष्टमीको रात अर्थात कृष्ण जन्माष्टमीलाई भन्ने गरिन्छ । कालरात्रि आश्विन शुक्ल सप्तमी अर्थात दशैको फूलपातीको रातलाई कालरात्रीका रुपमा लिने गरिन्छ । सुखरात्री कार्तिक कृष्ण औँसी अर्थात लक्ष्मी पूजाको रातलाई भन्ने गरिन्छ ।
महारात्रि फागुन कृष्ण चतुर्दशीको रात अर्थात शिवरात्रिलाई भन्ने गरिन्छ । यसरी मोहरात्रिमा जन्म, कालरात्रिमा बुद्धि र शक्ति बृद्धि, सुखरात्रिमा ऐश्वर्य बृद्धि तथा अन्तमा महारात्रिमा मोक्ष प्राप्ति हुने रुपमा मनाउने गरिन्छ । पहिलो बिशेष रात्रि मोहरात्रिमा कृष्णको जन्म भएको थियो । कृष्ण यदुवंशको अन्तका लागि पनि जन्म भएका थिए । कालरात्रिमा रक्तविजको हत्या गर्न भगवतीको जन्म भएको थियो । र असत्य माथि सत्यको जीतका रुपमा रक्तविज राक्षसको हत्या गरि प्रमाणित गराएका थिए । सुखरात्रिमा लक्ष्मीपूजा गर्ने प्रचलन छ । महारात्रिमा शिवको आराधना गरि मनाउने गरिन्छ । यस रातमा शिवको प्रादुर्भाव भएको रुपमा बिशेष पूजा आराधना गरेर मनाउने गरिन्छ । शिवभक्तिको कथा नेपालमा सातौ शताव्दीमा शुरु भएको मानिन्छ ।
पशुपतिको उत्पतिका कथा यहि सातौ शताव्दीमा भएको मान्न सकिन्छ । गोपालवंशीको समय गाई पालन गरेर जीविकोपार्जन गर्ने गोपालहरुले गाईका लागि पोषक घाँस उत्पादन गरिने धर्ति भित्रको काल्पनिक देवतालाई पूजा गर्ने गर्दथे । जमिन मुनि खाल्डो खनेर एक प्रस्तरलाई पूजा गर्ने गर्दथे । त्यो प्रस्तर पार्थिव शिलालाई गाईको दुध पनि नियमित चढाउने गर्दथे । उपत्यकाका नेवा:हरु अहिले पनि पाहाँचह्रेको दिन यसरी नै पूजा गर्ने गर्दछन् ।
यसरी पशुको रक्षकका रुपमा रहेको देवता पूजा गर्ने परम्परा गोपालहरुले शुरु गरेका थिए । पछि मिथिलाबाट भक्तपुरमा घरज्वाइका रुपमा ल्याइएका द्रोणवार ब्राम्हण स्थितीमल्ल देवले तैयार बनाउन लगाएको गोपाल बंशावलीमा धेरै सत्यताहरु बंग्याएको हामी पाउँछौ । स्थितीदेव ठाकुर थिए ब्राम्हण थिए तर उनले मावलीको उल्लेख गरि कर्णाटवंशको भन्न खोजेको पाउँछौ । यहि गोपाल बंशावलीमा पशुपतिको उत्पतिको कथा यसरी लेखिएको छ ।
बहुह्री नाम गरेको गाईले सधै बागमती किनारमा दुध चढाउने गरेको र पछि खनि हेर्दा त्यहाँ पशुपतिको ज्योतिर्लिङ्ग उत्पति भएको कथा लेखिएको छ । साथै सो बहुह्री गाईका मालिक रहेका भुक्तमान ग्वालालाई ने मूनी ऋषीले गोपालवंशको पहिलो राजा बनाइदिए । सातौ शताव्दीमा लिच्छवीकालमा प्रमुख रुपमा रहेका अंशुवर्मा नै प्रमुख शिवभक्त थिए । उनले जमिन भित्र खाल्डोमा पूजा गर्ने पार्थिव शिलालाई नै पशुपतिका रुपमा पूजा गरेको अनुमान गर्न सकिन्छ ।
तेह्रौ शताव्दीमा बंगालका सुल्तान समसुद्दिन इल्यासको उपत्यका आक्रमणको समय धेरै मठमन्दिर तथा महत्वपूर्ण हिन्दूस्थलहरु तोडफोड गर्ने क्रममा अंशुवर्माले स्थापना गरेको पशुपति पनि तोडफोड गरियो । अहिले आर्यघाट नजिकै परित्यक्त रुपमा रहेको पार्थिवशिला नै त्यो बेलाको वास्तविक पशुपति हुनुपर्दछ । पछि चौधौ शताव्दीमा ज्योतिर्लिङ्ग रुपमा पशुपतिनाथको मुर्ति बनाइएको थियो । चौधौ शताव्दीमा नै राजा यक्ष मल्लको समयमा पहिलो पटक भारतबाट शंकराचार्यको आगमन भए पछि पशुपतिको प्रचार अझ बढि हुन थाल्यो ।
यक्ष मल्लले नै भक्तपुरमा भारतीय मन्दिर दत्तात्रेयको मन्दिर बनाएका थिए । त्यतिबेला गोसाइ सम्प्रदायका अनुयायीहरु धर्मका कारणले भन्दा पनि ब्यापारका कारणले नेपाल आउन थालेका थिए । गोसाइहरु तिब्बतसम्म पनि पुग्दथे । यसरी नै आएका एक गोसाइ ब्यापारी गुरुबक्श गिरीले पशुपति दर्शन गर्न आउनेहरुका लागि सहज धर्मशालाका रुपमा भक्तपुरमा पूजारीमठ बनाइदिएका थिए । यसरी भारतबाट लामबद्ध रुपमा शिवरात्रिका लागि नेपाल आउने योगीहरु गिरीहरु तथा गोसाइहरुको भिड लाग्ने गर्दथ्यो । आज पनि शिवरात्रिको अवसरमा भारतका बिभिन्न मठमन्दिरहरुबाट योगीहरु आउने गर्दछन् ।
