Fast Nepal News

मापदण्ड पालना गर्दै पढाइ

banner single news

बझाङ — १६ भाद्र २०७८

बझाङ , लामो समय बन्द बझाङका सामुदायिक तथा निजी विद्यालयमा मंगलबारदेखि पठनपाठन सुरु भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सोमबारको बसेको बैठकले जोखिम घटेको भन्दै विद्यालय खोल्ने निर्णय गरेको हो ।पछिल्लो केही दिनयता जिल्लामा संक्रमितको संख्या शून्य भएको र स्थानीय स्तरमा विद्यालय खुलाउनुपर्ने आवाज उठ्न थालेपछि यो निर्णय लिइएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।सरकारले जारी गरेको स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८ ले जोखिमको मूल्यांकन गरी आवश्यक योजना जिल्लास्तरमा नै तयार गर्न सक्ने व्यवस्था गरेको थियो । यही कार्यविधिमा टेकेर स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको डीसीसीएमसीका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

‘सबै पालिकामा कोरोना संक्रमण घट्दो क्रममा छ । केही दिनयता संक्रमण दर पनि शून्यमा झरेकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो,’ प्रजिअ अधिकारीले भने, ‘अरू सबै क्षेत्र खुलिसकेकाले विद्यालय मात्र बन्द गर्न नहुने चौतर्फी दबाब आइरहेको थियो । यो सबै कुरालाई मध्यनजर गरेर विद्यालय खोल्ने निर्णय गरिएको हो ।’जिल्लामा संक्रमणको अवस्था मूल्यांकन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भौतिक रूपमा कक्षा सञ्चालन गर्दा फरक नपर्ने देखिएकाले पठनपाठन सुचारु गरिएको प्रजिअ अधिकारीले बताए । ‘कक्षा सञ्चालन भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्नेप्रति सबै सचेत हुन भने जरुरी छ,’ उनले भने ।पछिल्लो समय संक्रमणको अवस्था पत्ता लगाउन परीक्षणको दायरा बढाइएको थियो । सार्वजनिक सेवा लिन आएकाहरूलाई समेत परीक्षणको दायरामा ल्याई जिल्लामा शून्य संक्रमण रहेको निष्कर्ष निकालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलबार मात्रै जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएका ६९ जनामा परीक्षण गर्दा शून्य संक्रमण भेटिएको थियो ।

Inside Article Ads

यसअघि जिल्लाको विकट साइपाल गाउँपालिकाले भने साउन महिनादेखि नै विद्यालय सञ्चालन गरेको थियो । कोभिडको संक्रमण दर घट्न थालेपछि जिल्लाका अधिकांश निजी विद्यालयहरूले पनि भदौको सुरुदेखि नै पठपाठन सुचारु गर्दै आएका थिए । यस्तै डीसीसीएमसीको बैठकले जिल्लामा कोभिडको संक्रमण दर घट्दै गएको र संक्रमितको संख्या शून्य रहेको भए पनि जोखिम भने कायमै रहेको निष्कर्ष निकालेको छ ।छिमेकी जिल्ला र भारतबाट मानिसहरू आवतजावत भइरहेकाले संक्रमण फैलन सक्ने भन्दै (न्यून जोखिम) एक्लो लकडाउन गर्ने निर्णय भएको हो । भदौ ३० गतेसम्म जिल्लाका १२ स्थानीय तहमध्ये साइपाल गाउँपालिकाबाहेकका सबै ठाउँमा सभा सम्मेलन, जुलुस जस्ता कार्य निषेध गर्ने निर्णय गरिएको छ । साइपाल गाउँपालिकाका सबैले कोभिडविरुद्ध खोप लगाइसकेको हुँदा साइपाल गाउँपालिकालाई जोखिममुक्त क्षेत्रमा राख्ने निर्णय संकट व्यवस्थापन केन्द्रले गरेको छ ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.