Fast Nepal News

विद्यार्थीलाई स्वअध्ययन सामग्री

banner single news

जुम्ला — २५ श्रावण  २०७८

जुम्ला, चन्दननाथ नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले नगरभित्रका विद्यार्थीका लागि स्वअध्ययन सामग्री वितरण थालेको छ । कोरोना महामारीको संक्रमण अझै कम नभएकाले विद्यालय खोल्न समस्या भएपछि स्वअध्ययन सामग्री वितरण गर्न थालिएको हो ।अभिभावकको सहयोगमा बालबालिकालाई घरमै पढ्ने वातावरण मिलाउन स्वअध्ययन सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । अभियानअनुसार पहिलो चरणमा कक्षा १ देखि ३ सम्म भर्ना भएका सबै विद्यार्थीलाई विभिन्न पाठ्यपुस्तक वितरण गर्न लागिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत खडानन्द चौलागाईंले बताए ।

उनका अनुसार नगरपालिकाले संघीय सरकारको ३ लाख रुपैयाँ सहयोगमा स्वअध्ययनका लागि पुस्तक तयार गरेको छ । ‘तेस्रो लहरको कोरोना संक्रमणको जोखिम भएकाले तत्काल विद्यालय खुल्ने अवस्था देखिएन,’ उनले भने, ‘लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइस्तर कमजोर भयो ।’ उनले स्वअध्ययन सामग्रीमार्फत बालबालिकाको सिकाइ स्तर बढ्ने अपेक्षा गरे ।विद्यालय बन्द हुँदा बालबालिकाले पढ्न बिर्सिएकाले नगरपालिकाले वैकल्पिक शिक्षणको व्यवस्था मिलाएको हो । बालबालिकामा नियमित पढ्ने बानीको विकास गराउन स्वअध्ययन सामग्री समेटिएको पुस्तक तयार गरिएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् । ‘आमाबुबाले पनि केही सिक्ने र बालबालिकालाई पनि सिकाउन सजिलो होस् भनेर स्वअध्ययन पुस्तक तयार गरिएको छ,’ उनले भनिन्, ‘जसबाट बालबालिकाले अतिरिक्त ज्ञान हासिल गरी व्यवहारमा उतार्न सक्छन् ।’
Inside Article Ads

सरल नेपाली भाषाको प्रयोग गरी पुस्तक तयार गरिएकाले अभिभावकले सजिलै बालबालिकालाई पढाउन सक्ने उनले बताइन् । बालबालिकाको पहिलो पाठशाला नै घर भएकाले उनीहरूको शिक्षण सिकाइमा अभिभावकले पनि विशेष ध्यान दिनुपर्ने नगरप्रमुख सेजुवालको भनाइ छ । नगरभित्रका १० वडाका १९ विद्यालयमा पुस्तक वितरण गरिने नगरपालिकाले जनाएको छ । 

(कान्तिपुर दैनिक)  

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.