
हुम्ला/मुगु — १९ श्रावण २०७८
हुम्ला/मुगु, शैक्षिक सत्र सुरु भइसक्दा पनि मुगु र हुम्लाका बालबालिकाको हातमा पाठ्यपुस्तक पुगेको छैन । ढुवानी भाडा महँगो हुँदा हुम्लामा ढुवानीमा समस्या देखिएको हो भने मुगुमा पनि सडक अवरुद्ध हुँदा पुग्न नसकेको हो । पुस्तक नपुग्दा पठनपाठन हुन सकेको छैन ।सडक यातायातले नछोएको हुम्लामा पुस्तक ढुवानी हवाई सेवाको माध्यमबाट गरिन्छ । त्यसरी ढुवानी गर्दा करिब प्रतिकेजी १ सय १० रुपैयाँसम्म पर्छ । पुस्तक ढुवानीका लागि सरकारले प्रतिकेजी ३४ रुपैयाँ मात्रै दिने गरेको छ । चालु वर्ष सिमकोट गाउँपालिकामा पाठ्यपुस्तक ढुवानीको जिम्मा रोकाया पुस्तक पसलले लिएको छ । उसले गाउँपालिकाभरिका लागि ५ हजार १ सय ४५ सेट पुस्तक ल्याउनुपर्ने छ । तर, पसलले ६ सय सेट मात्र किताब ल्याउन सकेको छ ।
हुम्लाको चंखेली र सर्केगाडमा भने सडक मार्गबाट पुस्तक ढुवानी हुने गरेको छ । कर्णाली करिडोर भएर ती पालिकामा पाठ्यपुस्तक ढुवानी हुने गरेको ठेकेदार मानदेव शाहीले बताए । उनका अनुसार गाडीबाट पुस्तक ढुवानी गर्दा प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म पर्ने गरेको छ । उनले चंखेलीका लागि २ हजार ४ सय २२ सेट पुस्तक आएको बताए । तर कालीकोटको जितेगाडामा बाटो बिग्रिएपछि सर्केगाडका लागि आउनुपर्ने २ हजार ५ सय ३४ सेट किताब बाटोमै अड्किएको उनले बताए । अदानचुलीमा पनि पाठ्यपुस्तक पुगिसकेको छ ।
पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएका व्यवसायी भने कोरोनाको कारण देखाउँदै पन्छिएको विद्यार्थीको गुनासो छ । ‘कोभिडका कारण विद्यालय खुलेका छैनन्,’ खार्पुनाथ–१ लालीस्थित मालिका माविका विद्यार्थी राजेन्द्र विकले भने, ‘किताब भए कम्तीमा घरमा बसेर त पढ्न सकिन्थ्यो ।’लामो समयदेखि विद्यालय बन्द हुँदा गत वर्ष पढेका पाठ पनि बिर्सिएको रलिङ माविका कक्षा ९ का विद्यार्थी छिरिङकाङसो लामाले गुनासो गरे । उनका अनुसार गाउँघरमा अहिले खेतीपातीका कामको चटारो छ । ‘पाठ्यपुस्तक भएको भए बिहान–साँझ त पढिन्थ्यो होला,’ उनले भने, ‘किताबै नभएपछि कसरी पढ्ने ?,’ उनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन हुनुपर्ने बताए ।
(कान्तिपुर दैनिक)
