Fast Nepal News

यात्रा अनुभव: शैलुङ: जहाँ स्वर्गीय सुखानुभूति हुन्छ ।

 ✍️ मुरारी राज मिश्र

banner single news

यसपटक शैलुङ जाने सल्लाह भएको छ, तपाईं पनि जानुपर्छ है !” साथी सुभाष अर्यालले कार्यकक्षमा पस्दै भन्नुभयो ।

दुई बर्ष अघि २०७८ चैत १२ मा परिवार सहित रामेछापस्थित सानो शैलुङ पुगेर आएपछि, ठूलाे शैलुङ पुग्ने मेराे चाहना पटकपटकको प्रयासकाे बाबजुद पनि सफल हुन सकिरहेकाे थिएन । यस्ताे अवस्थामा सुभाष सरकाे कुराले मभित्रकाे दमित आकांक्षा पुन: जुर्मुरायाे । जाने सहमति जनाएँ । 

यात्रा भन्नासाथ उर्जा बढेको महसूस भएर मेरो मन प्रफुल्लित भइहाल्छ । बेलुका घरमा आएर उत्साहित हुँदै “म त अफिसका साथीहरूसंग शैलुङ जाने भएँ नि” भनेर श्रीमतीजीलाई सुनाएँ । उनलेे पनि त्यहाँ जान चाहेकी थिइन्, त्यसैले हाेला मुखले नभनेपनि उनकाे मुखाकृतिमा `संगै जान नपाएको भन्ने जस्तो´ हल्का असन्तुष्टिकाे भाव झल्किएकाे महसूस गरें मैले । 

“म गएर आएपछि, कस्तो ठाउँ रहेछ, बसाइ र खानपिनकाे व्यवस्था केकस्ता रहेछन्, अप्ठ्यारो सजिलो कस्तो छ, सबै कुरा बुझिन्छ, अनि फेरि जाउँला नि हामी !” मैले आफूलाई लागेको असजिलो मेटाउने र बाताबरण सहज पार्ने उद्देश्यले भनें । उनी फिस्स हाँसिन् ।

भ्रमण कार्यक्रमकाे अघिल्लो दिन साँझ, लुगाफाटा र दैनिक आवश्यकताका केही सरसामान हालेर हलुका ब्याग ठीक पारें । यात्रामा सकभर कम सामान लिएर हिंड्नुपर्छ पर्छ भन्ने मेराे मान्यता हाे तर जाडो स्थानमा जाने भएकाले जे पर्ला पर्ला भनेर एउटा ज्याकेट पनि थपें ।

निर्धारित दिन २०८० फागुन २८ गते बिहान नित्यकर्म सकेर म तयार भएँ । कालाे चिया र सातु खाएपछि, पाैने ६ बजे ब्याग भिरेर तयार भएँ । वसन्तऋतु सुरु हुनैलाग्दा पनि बाहिर चिसै थियोे । भाेलि फर्कंदा सजिलो हुन्छ भनेर स्कुटर लिएर जाने अघिल्लो दिनकाे साेचाइ भएतापनि, खै किन हाे लैजाने मुड चलेन । त्यसैले हेलमेट थन्क्याएर ब्याग बाेक्दै घरबाट निस्किएँ । 

चाबहिलबाट बस चढेर, भेला हुने स्थान पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय डिल्लीबजार पुग्दा ६:२० बज्याे । साथी पद्‌मप्रसाद आचार्य म भन्दा अघि पुगिसक्नु भएकाे रहेछ । बस भने आईपुगेकाे थिएन । हामी गफिन थाल्यौं । फाट्टफुट्ट गर्दै साथीहरू जम्मा हुने क्रम जारी रह्यो । 

साँढे ६ बजे सहचालक सहित बस लिएर चालक राजु भाइ आइपुगे । बाँकी साथीहरूलाई बाटो बाटोमा नै चढाउने सल्लाह बमोजिम जम्मा भएका हामीलाई लिएर बिहान ७:१५ मा झण्डै १२५ किलोमिटर परकाे शैलुङसम्मकाे यात्राको लागि पुतलीसडक हुँदै हाम्रो बस घुईंकियाे ।

बिहानको समय अझ त्यसमाथि ल्हाेसारकाे सार्वजनिक बिदा परेकाले हाेला सडकमा सवारीकाे चाप थिएन । अनामनगरबाट थापागाउँमा पुगेर बस राेकियाे । प्रधानाध्यापक रीता तिवारी यहाँबाट बसमा चढ्नु भयाे । ड्राइभर सिटकाे ठ्याक्कै पछिल्लो सिटमा संगै बसेका हामी, बलराम पाैडेल र म गफ गर्दै बाटोमा चढ्ने साथीहरूकाे बारेमा जानकारी लिंदै थियौं । अगाडिको सिटमा रहनुभएका ध्रुवराज थापा, काे-काे साथी कहाँ-कहाँ कुरेर बसेका छन् भनेर बुझ्न फाेनमा ब्यस्त हुनुहुन्थ्यो । अरु साथीहरू पनि सबै आआफ्नै तालमा थिए ।

हामी अघि बढ्दै गयाैं । काेटेश्वर कटेर जडिबुटी पुग्दा सवारीसाधनको निकै चाप देखियो । ड्राइभरहरुकाे सडक लेन अनुशासन पालना नगर्ने प्रवृत्ति र यात्रु तान्नका लागि तँछाडमछाड गर्ने व्यवहारका कारण ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे परेकाे महसूस भयाे । त्यहाँ नजिकैबाट राजेन्द्र महरा, सृजना खड्का र सीता श्रेष्ठ बस चढ्नु भयाे । बाँकी दुईजना विजया ढुंगेल र पवित्रा ढुंगेल गठ्ठाघरबाट चढेपछि चालकदलका २ सहित हामी २९ जना आफ्नो गन्तव्य पछ्याउँदै अघि बढ्यौं । 

अलि अगाडि पुगेपछि सडक बिस्तारकाे काम भईरहेकाे देखियो । सडकमा झन्डै झण्डै सवारी अवरुद्धकाे अवस्था थियोे । चालक राजु भाइले सिधै नगई भित्री बाटोबाट नाला हुँदै जाँदा उचित हुने सल्लाह दिए । हामी साेही बमोजिम बनेपा पुग्याैं । त्यहाँ पानी र केही खाद्य सामाग्री किनियाे । गाडीमा इन्धन भर्ने काम पनि भयाे ।  
अगाडिको बाटो कतै राम्रो त कतै खराब थियोे । यस्तो व्यस्त सडककाे मर्मत संभारकाे काम समयमै हुन नसकेको देख्दा राज्य संयन्त्रप्रति खेद उत्पन्न भयाे । राज्य सञ्चालकहरुले जनहित भन्दा स्व-हितलाई प्राथमिकता दिएको सम्झंंदा मन चसक्क दुख्याे । यसै क्रममा बाटोका दृश्यलाई नियाल्दै बिहान ९ बजे केराधारी पुगेर चिया नास्ताका लागि बस राेकियाे ।

यताको बाटो आउँदा प्रायः यहीँ नै चियानास्ता गर्छाैं हामी । सहायक प्रधानाध्यापक मुनाकुमारी निराैलाले राेटी, तरकारी र चियाको अर्डर दिनुभयो । नास्ता आउन केही समय लाग्ने भएकाले काेही तस्बिर खिच्न थाले भने काेही बाताबरण अवलोकन गर्न लागे । यहाँ करिव एकघण्टा बिताएर पाँचखाल, दाेलालघाट, सुनकाेशीकाे किनारै किनार हुँदै हाम्राे यात्रा अघि बढ्दै गयाे । 

माैसम खुलेको थियोे । पारिलाे घामका कारण गर्मीकाे पारा चढ्दै थियोे । सुकुटेमा पुगेेर बिहानको खाना खाने पूर्वनिर्धारित कार्यक्रम अनुसार हामी ११ बजेतिर पर्यटकीय गन्तव्यकाे रुपमा परिचित सुकुटेकाे रिभर वे रिसाेर्ट पुग्यौं । यहाँ पनि तस्बिर खिच्ने र खाेला किनारबाट प्राकृतिक दृश्यावलोकन गर्ने काम भयाे । गर्मीको फाइदा उठाउँदै जीवराज आचार्य, ईश्वर पाेखरेल र विनय लम्साल लगायतका केही साथीहरूले स्वीमिङ पुलमा पाैडी खेल्न समेत भ्याउनुभयाे । खाना खाएर केही बेरकाे विश्राम पछि १२:३० मा हामी बलेफी, खाडीचाैर, ठुलो पाखर हुँदै मुडे तर्फ लाग्यौं ।

अपरान्हकाे समयमा खाएकाे खानाले यात्रा टाेलीमा आलस्यता जगाएछ क्यारे, बसमा प्रायःजसो साथीहरू माैन देखिए ! काेही भाते निन्द्रामा परे । सूर्यनारायण आकाशबाट आगाे ओकल्दै थिए । बाटोका दृश्य नियाल्दै अघि बढ्ने क्रममा करिब १०० किमि दुरि पार गर्दै दिउसाे १:५० बजे हामी आलुकाे लागि प्रसिद्ध सिमावर्ती राजमार्गीय मुडे बजार पुग्यौं । 

यहाँबाट शैलुङ जाने बाटो छुट्टिने रहेछ । चालक भाइलाई शैलुङमा हामी बस्ने हाेटेलवालाले केही सामान ल्याईदिन भनेका रहेछन्, उनले पसलबाट सामान गाडीमा राख्न लगाए ।

पहिलेपहिले शैलुङमा उत्पादन भएकाे आलुलाई बिक्रीका लागि मुडेमा ल्याएर भण्डारण गर्ने गरिएको र सोही कारण शैलुङको आलुलाई बजारमा मुडेको आलु भनेर चिनिन थालेको स्थानीयकाे मत पाइन्छ । तर अहिले भने मुडेमा मुख्य बालीकोरुपमा आलु खेती नै हुने गरेको रहेछ ।

मुडेबाट दाहिनेतर्फकाे कच्ची बाटो हुँदै १ बजे बस गुड्याे । धुलाैटे बाटोका कारण गाडी गुड्दा कुइरीमण्डल धुलाे उड्थ्याे । उखरमाउलाे गर्मीमा गाडीकाे झ्याल खाेल्न पनि धुलाेका कारण गाह्रो थियोे । बाटोकाे छेउमा भने लाेभलाग्दाे हरियाली देखिन्थ्याे । ढकमक्क फुलेका चिमाल र लालीगुराँसले सुन्दरता बढाएका थिए । 

अलि अगाडि मागापाैवा भन्ने ठाउँबाट मागा देउराली बाघखाेरसम्म भने राम्रो पिचबाटो थियोे ।त्यहाँबाट उकालो सुरु भयो । ढुंगायुक्त कच्चीबाटो भएकाले पञ्चमीकाे पाइला सारेको गतिमा बस अघि बढ्याे । याे बाटो बर्षात् माैसममा जान कठिन हुने रहेछ । 

बाटोबाट जङ्गल र हिमाली दृश्य देखिन्थ्यो । वरपर सुख्खा पाखाबारी, फाट्टफुट्ट, बस्ती र पात-पत्करले भरिएको खाङ्ग्रे ढाडमा बाेकेका महिलाहरु देखिए । मुडेबाट करिब डेढघण्टा उकालो, ओरालो, घुम्ती पार गरेर ३:३० मा शैलुङ उक्लिने द्वार मानिने कालापानी भन्ने स्थानमा पुग्यौं हामी । हाम्रो आजको बसाइ र खानपिनकाे व्यवस्था यहींकाे `हाेटेल शैलुङ इन´ मा थियोे ।

हाेटेलकाे भाइले हामीलाई बस्ने काेठा देखाए । एट्याच बाथरुमयुक्त २ र ४ जना बस्न मिल्ने काेठाहरु थिए । साथी केशवराज वाग्ले र मैले एउटेै काेठामा बस्ने सल्लाह गर्‍यौं । अनि सामान थन्क्याएर फ्रेस भएर चियापान गर्न जम्मा भयाैं । 

“यहाँबाट शैलुङ पुग्न कति समय लाग्छ भाइ ?” मैले चिया पिउँदै गर्दा हाेटेलकाे भाइलाई साेधें । “हामी त ३५-४० मिनेटमा पुग्छौं, तपाईहरुलाई सवा एकघण्टा लाग्ला ! फेरि फर्कनु पनि पर्छ, यात्राले थाक्नु भएको हाेला त्यसैले भाेलि बिहानै उक्लिनु उपयुुक्त हुन्छ” उनले भने ।  

“अलि तलतिर गुप्तेश्वर महादेवकाे गुफा छ, २० मिनेटमा पुगिन्छ बरु अहिले त्यहाँ पुग्नुहाेला” उनले थप सल्लाह दिए । उनकै भनाइ मानेर दिनको ४:१५ बजे, हामी एक ग्रुप त्यतातिर लाग्यौं । केही साथीहरू भने हाेटेलमै बसेर रमाइलाे गर्न थाले ।

ओर्लंदै गर्दा अलि तल घना जङ्गल र बाटोकाे छेउका कान्लामा गुलावी रंगका गुराँस फुलेका देखिए । साथी उज्ज्वल खनाल र म गफिंदै संगै हिंड्दै थियौं, हामीले मन थाम्न सकेनौं, झट्पट् एक-एक थान फाेटाे खिचिहाल्याैं । यताउता सबैतिर पानीको अभावका कारण, सिचाइ हुन नसकेका सुख्खा पाखाे बारी थिए । यहाँको मुख्य बाली आलु रहेछ । मंसिर-पाैषमा राेपिएकाे आलु जेठ-असारमा खनिने कुरा त्यहाँ भेटिएका रमेश तामाङबाट जानकारी पाईयाे । घाम लागेता पनि त्यहाँ चलिरहेको चिसाे हावाले गर्दा जाडो भएको महसुस हुन्थ्याे ।

गुप्तेश्वर महादेवकाे गुफा तल जङ्गलकाे खाेंचमा रहेको पहरामा रहेछ । महादेवकाे मूर्तिकाे पछिल्लो भागमा सुतेर छिर्नुपर्ने धर्मद्वार भनिने गुफा थियोे । दर्शन, गुफा प्रवेश र अवलोकन पछि हामी फर्कियाैं । हाेटेलकाे आँगनमा आगाे बाल्ने व्यवस्था गरिएको थियोे । तातोपानी खाँदै हामीहरु आगाे नजिकै झुम्मियाैं ।

केही छिनपछि बारविक्यू सुरु भयाे । साथीहरूले हाेटेल भित्र नाचगान सुरु गर्न थाले । बाहिर चिसाे सिरेटाे चल्दै गरेकाले जाडो बढ्दाे क्रममा थियोे । मैले बिहान ब्यागमा हालेको ज्याकेट सम्झेँ । झट्‌पट् काेठामा गएर लगाएँ । ज्याकेट ल्याएर राम्रै गरिएछ भन्ने लाग्यो । 

रातकाे खाना तैयार भएकाे खबर आयाे । खाना खाए पश्चात्, भाेलि बिहान  ७ बजे शैलुङ उक्लने भएकोले ६:३० अगावै नास्ता ठीक गर्न हाेटेल सञ्चालिका मिश्रीमाया श्रेष्ठ बहिनीलाई जानकारी गराएर ९ बजे सबैजना आआफ्नो काेठातर्फ लाग्यौं ।

बाहिरको बाताबरण चिसाे भएपनि भित्र भने साेचेभन्दा बढी न्यानाे थियो । ओढ्ने ओच्छाउने कुराकाे व्यवस्थापन राम्रै थियो । भाेलिपल्ट बिहान चाँडै उठ्नु पर्ने हतारो नभएको र वाईफाईकाे उपलब्धताले गर्दा सुत्नु अगावै केही समय माेवाइलमा बिताईयाे । घरपरिवारसँग कुराकानी भए । राति १० बजे ओछ्यानमा पल्टिएको थकाइले पनि हाेला मज्जाले निदाईएछ । 

बिहान ५ बजे उठ्दा हल्का चिसाे महसुस भयाे । रातभरीकाे चिसोले हाेला, पानी हातैले ठिहिर्‍याउने गरि निकै चिसाे भएछ । नित्यकर्म सकेर बाहिर निस्कंदा आँखैमा हिमाल ठाेक्किए । नजिकै गाैरीशंकर लगायतका हिमाल टल्किरहेका थिए । सूर्याेदय हुँदै गर्दा हिमालमा ठाेकिएका सूर्यकिरणले राता देखिएका हिमाली दृश्यले मन हर्षविभाेर भयाे । तस्बिर खिचियाे । मनले रेडियोमा बज्ने राष्ट्रिय गीत गुन्गुनाउन थाल्यो –
“बिहान उठ्ने बित्तिकै, 
हिमाल देख्न पाइयोस् …”

सबै जना जम्मा हुँदै गर्दा नास्ता तयार भयाे । साथीहरूले नास्ता गर्दै गर्दा, मैले हाेटेल सञ्चालिका मिश्रीमाया बहिनीलाई “आज मङ्गलबार म लसुन-प्याज खान्न, त्यसैले मेरालागि लसुन-प्याजकाे लाटलुट नगरीकन आलु फ्राई तरकारी बनाईदिनु हाेला” भनें । उनले हुन्छ भनिन् । 

म चिया र राेटी खाँदै थिएँ उनले ढाेकाबाट मलाई सम्वाेधन गर्दै साेधिन् “लसुन-प्याज नहालिकन अलिकति चाेखाे मासु पनि राखिदिऊँ त सर तपाईंका लागि ?” उनले भनेको `चाेखाे मासु´ शव्द सुन्नासाथ मलाई एक्कासी हाँसो उठ्याे । साथीहरू पनि सबैजना हाँसे । उनलाई  अप्ठ्यारो लागेछ क्यार बिस्तारै भनिन् “लसुन-प्याजमात्रै नखाने तर मासु खानुहुन्छ हाेला भन्ने लागेर साेधेकी मैले ।” उनकाे साेझाेपन र सरल स्वभावले एकैछिन बाताबरण रमाइलो बन्याे ।

नास्ता सकेर ७:२५ शैलुङकाे उकालोतिर हाम्रा पाइलाहरु बढे । सूर्याेदय भइसकेको भएतापनि जङ्गलछेउको बाटो त्यसमाथि हल्का सिरेटाे चलिरहेकाेले माैसम चिसिएकै थियोे । केही अगाडि पुगेपछि ढुंगाकाे विशाल पर्खालयुक्त सिंढीहरू देखिए । शैलुङ गाउँपालिका दाेलखाद्वारा २०७८ असारमा करिव ५ कराेडकाे लागतमा निर्माण सुरु गरिएकाे आधा किलोमिटर भन्दा लामो यस पर्खाललाई `मिनी ग्रेटवाल´ नामाकरण गरिएको रहेछ ।

लगभग २० मिनेटमा ग्रेटवाल पार गरेपछि जङ्गल र थुम्काहरु सुरु भयाे । यहाँबाट देखिने हरेक दृश्य मनमाेहक थिए । प्रकृतिकाे कलाकारिताले मुग्ध बनायो । एउटा ठूलो थुम्काेमा चढेर विशाल त्रिशूल सहितको महादेवकाे दर्शन गरे पश्चात् हामी उचाइतर्फ लाग्यौं । 

बाटाेका ठाउँ ठाउँमा यात्रुहरु ढुंगाहरु खप्टेर चैत्य झैँ आकृति बनाउँदै गरेका देखिन्थे । यसबारेमा जिज्ञासा राख्दा सहकर्मी यानकुमारी गुरुङले “बुद्ध धर्ममा स्तूप बनाउँदा ठूलाे पुण्य मिल्ने विश्वास रहेको र स्तूप बनाउन नसक्नेले पनि यसरी ढुंगा मिलाएर राखेमा स्तूप बनाए बराबरकै पुण्य मिल्ने र मनाेकामना पूरा हुने किम्बदन्ती रहेकाे” जानकारी दिनुभयो । 

तलतिर ओर्लिंदै गरेका कालापानी निवासी स्थानीय पदम श्रेष्ठले यहाँको बारेमा हामीलाई थप जानकारी दिनुभयो । उहाँका अनुसार एकसय आठभन्दा बढी सानाठूला थुम्काहरु लहरै रहेकाले यसलाई शैलुङ भनिएकाे रहेछ ।चाैंरीकाे चरन क्षेत्र पनि यही नै रहेछ । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस डाँडालाई साङ्गेलुङ भनिन्थ्यो, पछि अपभ्रंश हुँदै शैलुङ हुन गएको भन्ने मान्यता पनि भेटियो । 

किंवदन्ती अनुसार तत्कालीन बौद्ध गुरुले यस भूमिमा मुठीमुठी चामल राखेका थिए । त्यही मुठी बढेर थुम्का बनेको हाे भन्ने किम्बदन्ती रहेछ । यस्तै, परापूर्वकालमा यहाँ सयौँ ऋषिमुनिहरू तपस्यारत हुँदा कलियुग शुरु भएपछि, कलिको पाप देख्न नपरोस् भनेर तपस्या गरिरहेकै स्थानमा सबै ऋषिमुनिले समाधि लिएकाले त्यहि स्थानमा यी थुम्काहरु उत्पन्न भएको भन्ने अर्को  किम्वदन्ती पनि छ । 

यिनै जानकारी बटुल्दै र प्राकृतिक दृश्यकाे रसास्वादन गर्दै हामी उकालो चढ्न थाल्यौं । केही साथीहरू हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल शैलुङकाे टुप्पोमा पुगिसकेका थिए । शशी गाैतम र राधिका सापकोटालाई भने उकालाे चढ्न अलिक कठिनाइ भएकोले आराम गर्दै सुस्तसुस्त उक्लंदै हुनुहुन्थ्यो । 

भीमसेनकाे तरबार, बुद्धकाे पाइला, पृथ्वीकाे नाइटो लगायतका स्थानकाे अवलोकन गर्दागर्दै हामी पाैने नाै बजे दाेलखा र रामेछापको सिमावर्ती क्षेत्र शैलुङकाे टुप्पोमा पुग्यौं । लक्षित ठाउँमा पुग्दा मन हर्षले पुलकित भयाे । हाम्रा शरीरले हिंडाइकाे थकान भुल्याे ।

दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित, समुन्द्री सतहबाट करीब ३४०० मिटर उचाइमा रहेको यस रमणीय, प्राकृतिक, धार्मिक र पर्यटकीय स्थलबाट जतासुकै आकर्षक थुम्काथुम्की देखिए । चारैतिर टलल टल्किएका गाैरीशंकर, सगरमाथा, माछापुच्छ्रे, गणेश, जुगल लगायतका हिमाल हामीलाई नै देखेर हाँसिरहेका झैँ लाग्याे । काठमाडौँ उपत्यका र तराईका केही भागहरू समेत देखिने यहाँको बाताबरण देखेर ओम गुरुङले गाएको
“जहाँ ढुंगा ढुंगामा देवताकाे बास छ,
जहाँ थुम्का थुम्कामा स्वर्गकाे आभास छ…।” भन्ने गीतको याद आयाे । 
फाेटाे फिचर

मालाका लुङजस्तै लहर मिलेका, कतै बटारिएका, कतै अङ्कमाल गरे झैँ त कतै आपसमा मिलेर टाँसिएजस्ता अनेक बान्कीका थुम्काहरूले गर्दा जताततै देखिएका कलात्मक परिदृश्य र प्राकृतिक छंटाहरुलाई धेरै मनभरी र केही क्यामेरामा कैद गरियाे । यहाँ देवस्थान, स्तुपा, चैत्य, विशाल गुम्बा र भ्यूटावर समेत बनेका रहेछन् । 

एउटा डाँडाबाट ओर्लेर अर्को डाँडामा चढेपछि, कसरी चढ्ने हाेला भनेर बढाे कठिनपूर्वक उक्लिएकाे पहिलो डाँडाे निकै हाेचाे देखिने र प्रत्येक डाँडा आफैंमा प्राकृतिक भ्यूटावर भएको ठाउँमा, राज्यको कराेडाैं खर्चेर कंक्रिटकाे भ्यूटावर बनेकाे दृश्य भने उदेकलाग्दो देखिन्थ्याे । यसले प्रकृतिमाथि सुन्दरतामा कुरुपता थपेको महसुस भयाे । 

अझ, “भ्यूटावर बन्दा कैयाैंले राेजगारी पाए, निर्माण सामाग्रीहरु बिक्री भएकाले उद्योग फस्टाए, अर्थव्यवस्था चलायमान भयाे, राज्यले कर पायाे” भनेर प्राकृतिक सम्पदा बिगार्दै-मास्दै जाने पक्षकाे पक्षपोषण गर्न उद्यत नेताका तर्कहरु स्मृतिमा आउँदा त मन नराम्ररी कुंडियाे । 

बरु, याे रकमले बाटोकाे सुधार र पानीको अभाव झेलिरहेकाे यस ठाउँमा सिचाइकाे समुचित व्यवस्था गरिदिएको भए खेती गर्न सजिलो भई स्थानीयकाे जनजीवनमा सुधार हुन्थ्यो कि भन्ने साेचाइ पनि मनमा आए । यस्ता प्राकृतिक ठाउँमा धार्मिक, सामाजिक वा जातीयताकाे आडमा कंक्रिटका संरचना बनाउन राेकेर प्राकृतिक यथारुप नै रहन दिँदा अझ बेस हुन्थ्यो भन्ने पनि लाग्यो ।

गाउँपालिकाका तर्फबाट यहाँ कुरुवा रहनुभएका नेवारी समुदायका परिवारले चियापसल राख्नुभएको रहेछ । हामीले चियापान गर्‍‍याैं । सवा दस बजिसकेको थियोे, मनले भने त्यहाँबाट फर्कन मानिरहेकाे थिएन । तर बाध्यता थियोे, हामी फर्कन थाल्यौं । ओरालोमा ज्ञानाेदय मा.वि.का पूर्व प्रधानाध्यापक नातिकाजी महर्जन सर सहितको टाेली भेटियो । दुर्गम स्थानमा अकस्मात् परिचित भेटिंदा बेग्लै सुखानुभूति भयाे । 

साथीहरू आआफ्नो तालमा फर्कंन थाले । अलि तल पुगेपछि हामी १०-१२ जना जुरे महादेव भनिने प्राचीन शैलुङ्गेश्वर महादेव दर्शन गर्न दायाँतिर माेडियाैं । सिढीहरु झरेर जङ्गलकाे तल फेदीमा पुगेर ओढारमा रहेका महादेवकाे दर्शन भयाे । यहाँ दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर नजिकै गोदावरी र धर्म नामका दुइटा गुफा रहेछन् । गोदावरी गुफामा हरेक १२ वर्षमा मेला लाग्दाे रहेछ । त्यहाँ दूध कुण्ड पनि रहेकाे र मेला लाग्दा मात्र कुण्डबाट दुध झर्ने स्थानीयबाट जानकारी पाईयाे । 

दर्शन पश्चात् अगाडि रहेका टाेलीका साथीहरू तल तल हुँदै अघि लागे, हामी पछाडिकाले पच्छाउँदै गयाैं । करिव १० मिनेटकाे हिंडाइपछि बलराम पाैडेलले “माथि चढ्नु पर्नेमा हामी तल पाे ओर्लेका छाैं त !” भनेर बाटो भुलेकाे शंका गर्नुभयो ।

अगाडिबाट “बाटो छ, यतैबाट आउनुस्” भन्ने साथीहरूकाे भनाइ आएपछि हामी तलतिरै लम्कियाैं । निकै पर पुगेपछि, बाटाे भुलेकै रहेछौं भन्ने पक्का भयाे । हामी रनभुल्लमा पर्‍यौं । शैलुङ चढ्दा गाह्राे भएका २ जना साथी पनि हामीसंगै आउनु भएको थियोे । हिंड्न  गाह्रो भएका उहाँहरु, सिधै हाेटेल नगएर ब्यर्थै यतातिर आईएछ भनेर पछुतो मान्न थाल्नुभयाे । 

मध्यान्हकाे गर्मी, साथमा पानी समेत थिएन । उसैमाथि घना जङ्गल, वन्यजन्तुको डर पनि थियोे । तर, बाटो पहिल्याउँदै अघि बढ्नुकाे विकल्प थिएन । हाेटेलबाट साथीहरूकाे फाेन आईरहेकाे थियो । हामीले बाटो भुलेकाे जानकारी गरायौं । अघि बढ्दै गर्दा एकठाउँबाट माथितिर मिनी ग्रेटवाल देखियाे । त्यसलाई पच्छाउँदै उकालो चढ्न थाल्यौं । अन्ततः करिब डेढघण्टा शैलुङकाे जङ्गलमा बाटो भुलेका हामी १२:३० बजे असिनपसिन हुँदै हाेटेल आईपुग्याैं ।

सबैले खाना खाईसकेका थिए । हामीले हतार हतार खाना खायौं । हिसाबकिताब गरेर हाेटेलमा बिल चुक्ता गर्ने काम भयाे । काेठाबाट सामान झिकेर बस चढ्याैं । दिनकाे १:०५ हामी चढेको गाडी, आएकै बाटाे पच्छाउँदै गन्तव्य तर्फ लाग्याे । बाहिर गर्मीले प्रचण्डरुप लिएको थियोे । बाघखाेर हुँँदै मागा देउराली पुगेपछि ढकमक्क गुराँस फुलेको स्थानमा बस राेकियाे ।

शाैचका लागि बसबाट ओर्लिएका साथीहरू गुराँसका हाँगा भाँच्न पुगेछन् । हामी आउँदा कतिपय ठाउँका गुराँसका बाेेटहरु नाङ्गा र भाँचिएका हाँगा तथा फूलहरु भूईंमा छरपस्ट देख्दा गुराँस फूलेकाे देख्न पाइएन भनेर दुख लागेको थियो । अहिले हामीले पनि यसरी नै जथाभावी भाँचेपछि, अब आउनेले के हेर्लान् भन्ने लाग्यो । स्थानीय निकायले यात्रुहरुमा बढेको यस्तो बाँदरे प्रवृत्ति राेक्नुपर्ने र व्यवस्थित तरिकाले गुराँस बेचेर आयआर्जन गर्न सके हुन्थ्यो कि भन्ने तर्क मनमा आए । 

प्रकृतिको साैन्दर्यताकाे रसास्वादन छाेएर, हातमा लिएर हैन कि आँखा र मनले गर्नुपर्छ ।भीरका रुखहरुमा ढकमक्क फुलेका गुराँस जति मनमाेहक देखिन्छन् भुइँमा छरपस्ट फूल र हाँगाहरुमा त्यो सुन्दरता कहाँ भेटिन्छ ?प्राकृतिक साैन्दर्य त नियाल्न पाे मजा आउँछ । याे साैन्दर्यता मास्न उद्दत मानवीय प्रवृत्ति देखेर दिक्क लाग्याे । पढेलेखेकाहरुले नै भ्रमण संस्कृति र अनुशासनकाे पालना नगर्नु तथा ब्यक्तिभित्र आत्मरतीमा रमाउने प्रवृत्ति बढ्दै जानु पक्कै पनि चिन्ताको बिषय हाे ।

मुडे बजारबाट अघिल्लो दिन बिहान चियानास्ता गरेकाे केराबारीमा आएर एक कप चियापान गरेपछि पहिलेकै बाटो हुँदै अघि बढ्यौं । साँझ झमक्कै परिसकेकाे थियोे । साथीहरू पहिले चढेकै ठाउँमा ओर्लनुभयाे । नयाँ बानेश्वर पुगेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि म पनि उत्रिएँ । त्यहाँबाट टेम्पो चढेर साँढे सातबजे घर पुगेर तिथि र गते मिलेको आफ्नो जन्मदिन समेत परेको आजको दिनमा शैलुङ्गेश्वर महादेवकाे दर्शन सहित अविस्मरणीय शैलुङ भ्रमणकाे बिट मारियो । 
अस्तु ।

सहभागीहरु:
रीता तिवारी, मुनाकुमारी पौडेल, ध्रुवराज थापा , बलराम पौडेल, सुभाष अर्याल, राजेन्द्रसिंह महरा, पद्मप्रसाद आचार्य, जीवराज आचार्य, शशी गौतम थापा, केशवराज वाग्ले, पवित्रा ढुंगेल, यानकुमारी गुरुङ्ग, सृजना खड्का, मीरा जोशी, राधिका सापकोटा, दुर्गाकुमारी पन्त, ईश्वर पोखरेल, उज्वल खनाल, सुरेश घिमिरे, बिजया ढुङ्गेल, सीता श्रेष्ठ, चिरञ्जिवी पौडेल, विनय लम्साल, सुष्मा डंगोल, कौशीला मल्ल, सुनिता पहरी र मुरारीराज मिश्र ।

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.