Fast Nepal News

अलैंचीले मजदुर खर्च उठाउनै धौधौ

banner single news
पुस ४, २०७९आनन्द गौतम ताप्लेजुङ — दुई दशकदेखि अलैंची खेती गरिरहेका फुङलिङ नगरपालिका–६ का भीमबहादुर गुरुङलाई असोज–कात्तिकमा मजदुर खोज्नै संकट हुन्छ । अलैंची बगानमा सरसफाइ गरेर फसल टिप्ने यो सिजनमा उनलाई कम्तीमा २ सयदेखि २ सय ५० जनशक्ति आवश्यक पर्छ । यति बेला बगान पन्छाउने, अलैंचीको थुँगा टिप्ने, छोडाउने र भट्टी लगाएर सुकाउनुपर्छ । तर मजदुर जनशक्ति बन्दोबस्तीका लागि उनले गाउँ–गाउँ चहार्नुपर्छ । सदरमुकाममा डेरा बसेर पढ्नेलाई अनुकूल हुने गरी बिहान, दिउँसो वा बेलुका छोडाउनका लागि प्रयोग गर्छन् । यति गरेर पनि बाली भित्र्याउन उनलाई हम्मे पर्छ । सदरमुकाम फुङलिङमा अक्सफोर्ड आवासीय माध्यमिक विद्यालयका सञ्चालक गणेश सिग्देलको समस्या पनि उस्तै हो । विद्यालयबाट झन्डै एक महिना बिदा लिएर उनी बर्सेनि गाउँको बगानमा पुग्छन् । फक्ताङलुङ गाउँपालिका–५ इखावुको संसाबुको बगानमा टेन्ट टाँगेर बस्छन् । कामदारको खोजीमा उनी सावादिन, खेजेनिमलगायत गाउँसम्म पुग्छन् । त्यसले मात्रै नपुगेर तेह्रथुम, पाँचथर, संखुवासभालगायत जिल्लासम्म पनि सम्पर्क गर्छन् । यो अलैंचीको घट्दो मूल्यले निम्त्याएको समस्या हो ।

 

नौ वर्षअघि हरेक मजदुरलाई दैनिक एक हजार रुपैयाँ ज्याला दिने अलैंची उत्पादकलाई अहिले पाँच सय रुपैयाँ बेहोर्न पनि हम्मे छ । ‘मैले ८० देखि ९५ हजार रुपैयाँ प्रतिमनले बेचेको थिएँ,’ गुरुङले भने, ‘अहिले २५ हजार रुपैयाँमा झरेको छ ।’ टिप्ने काममा महिला–पुरुष ज्याला समान छ । रातभरि बस्नुपर्ने भएकाले भट्टी लगाउनेलाई बढी दिनुपर्ने सिग्देल बताउँछन् । छोडाउनेलाई ढाकीमा छोडाएअनुसारको ज्याला दिन थालिएको उनले जनाए । अलैंचीको मूल्य मनको १ लाख २० हजारसम्म पुग्दा गाउँबाट विदेश जाने क्रम रोकिन थालेको थियो । साउनदेखि कात्तिक अन्तिमसम्म टिप्ने र छोडाउने काम पाउँथे । लगातार मूल्य घटेपछि अलैंचीको आम्दानीबाट परिवार चल्छ भन्ने भर नभएर बेरोजगार स्थानीय गाउँमा बस्न छोडेको अलैंची जोनका अध्यक्ष बालमणि बराल बताउँछन् । ‘उत्पादकले पनि उत्पादन भएअनुसारको पारिश्रमिक दिने हो,’ उनले भने, ‘फाइदा छैन भनेर खेती छाड्ने क्रम बढेको छ, त्यसबाट आम्दानी हुन्छ भनेर कसरी भर परेर जनशक्ति गाउँमा टिक्नु र !’ अहिले किसानले नै स्याहारमा कम चासो दिन थालेको कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापाको भनाइ छ ।
‘मूल्य घटे पनि उत्पादन बढाए लाभ हुने थियो,’ उनले भने, ‘माटो परीक्षण, कृषि परामर्शका लागि वार्षिक ८/१० जना किसान पनि आउँदैनन् ।’ कृषि ज्ञान केन्द्र, अलैंची जोन, गाउँपालिका तथा नगरपालिकाका प्राविधिकबीच समन्वय नभएका कारण पनि अलैंची खेतीमा समस्या रहेको किसानहरूले जनाए । ‘एकै जिल्लाका यी तीन निकायबीच समन्वय भएको पाइँदैन,’ गुरुङले भने । कसैले अनुदान, कसैले भट्टी, कसैले पञ्जालगायतका सामग्री वितरण गरिरहँदा आआफ्नै तरिका रहेको पाइन्छ । मूल्य पर्खन अलैंची भण्डारण गर्न सक्नुपर्छ । अहिलेसम्म किसानले आफ्नै घरमा र धेरैजसो भण्डारण सदरमुकामका गोदाममा व्यापारीले गर्छन् । ती भण्डारण गृह पनि गुणस्तरीय छैनन् । लामो समय राखे ढुसी लाग्ने जस्ता समस्या देखिन्छन् । ‘हामीले सदरमुकाममा ५/७ रोपनी जग्गा पाए जिल्लाभरिको अलैंची भण्डारण गर्न मिल्ने भण्डार गृह बनाउने सम्बद्ध निकायहरूसँग प्रस्ताव गरेका हौं,’ बरालले भने, ‘तर सुरक्षित स्थानको भण्डारण गृह पनि बनाउन सकिएको छैन ।’ राम्रो भण्डारण गृह भए पुच्छर काट्ने, ठूलो र सानो दाना छुट्याएर ग्रेडिङ गर्ने काम जिल्लामा हुने थियो । यसले पनि रोजगारीको अवसर प्रदान गर्ने उनको बुझाइ छ ।
समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

Inside Article Ads
Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.