Fast Nepal News

जोखिम मोलेर तरकारी बिक्री गर्दै किसान

banner single news

सल्यान — २० श्रावण  २०७८

सल्यान, लामो समयपछि कपुरकोटस्थित तरकारी हाटबजार खुला गरिएपछि किसान जोखिम मोलेरै भए पनि तरकारी बिक्री गर्न बाध्य छन् । कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै स्थानीय प्रशासनले बैशाख १४ गतेदेखि जारी गरेको निषेधाज्ञा जारी राखे पनि किसानलाई भीडभाडमै गएर तरकारी बिक्री गर्नुपर्ने बाध्यता भएको हो ।

वैशाख दोस्रो सातादेखि बन्द भएको तरकारी हाटबजार लकडाउन खुकुलो भएसँगै दुई सातादेखि खुलेको छ । ‘हाटबजार खुला भएपछि तरकारी बिक्री गर्न सजिलो भयो,’ कपुरकोट गाउँपालिकास्थित गर्पाका दलबहादुर घर्तीले भने, ‘तर भीडभाडमा कोरोनाको त्रासै त्रासबीच तरकारी बिक्री गर्नुपर्ने बाध्यता छ ।’ उनले खरिद गर्न आउने ग्राहकले भौतिक दूरी कायम नगर्दा र मास्क तथा सेनिटाइजर प्रयोग नगर्दा कोरोना संक्रमणको जोखिम बढेको बताए ।

Inside Article Ads

२२ वर्षदेखि व्यावसायिक कृषि गरिरहेका घर्तीसहित परिवारका चार सदस्य डोकोमा टमाटर, काउली, भेडेखुर्सानी, करेलालगायत तरकारी बोकेर मास्क लगाई कपुरकोट हाटबजारमा बिक्री गर्न आउँछन् । निषेधाज्ञा खुला भए पनि कोरोना संक्रमणको डरैडरमा तरकारी बिक्री गर्नुपर्ने बाध्यता भएको कपुरकोट गाउँपालिका–५ खालीका किसान भद्रबहादुर घर्तीले बताए । ‘लकडाउनका कारण ठूलो परिणाममा तरकारी कुहियो,’ उनले भने, ‘लकडाउन खुकुलो भएसँगै तरकारी बेच्न सहज भए पनि कोरोना सर्ने हो कि भन्ने डर छ ।’कपुरकोट हाटबजारमा कपुरकोटसहित रोल्पाको त्रिवेणी गाउँपालिका, नुवागाउँ, बुढागाउँ, सल्यानको त्रिवेणीका किसान तरकारी बिक्री गर्न आउँछन् । हाटबजारबाट बिक्री भएको तरकारी काठमाडौं, बुटवल, नारायणघाट, दाङ, नेपालगन्ज लगायत ठाउँमा पुग्ने गरेको छ ।

(कान्तिपुर दैनिक)

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.