Fast Nepal News

रैथाने बाली संरक्षण गर्न पकेट क्षेत्र

banner single news

जुम्ला — १३ श्रावण २०७८

जुम्ला, जुम्लाको पातारासी गाउँपालिकाले रैथाने बालीको संरक्षणका लागि सातवटा पकेट क्षेत्र निर्धारण गरेको छ । एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन रैथाने बाली संरक्षणको योजना अघि सारिएको हो । गाउँपालिकाले चक्लाबन्दी खेतीलाई जोड दिन, सामूहिक खेतीलाई बढावा दिन र कृषिलाई व्यावसायिक बनाउनका लागि पनि यो कार्यक्रम ल्याइएको जनाएको छ । बेरोजगार युवालाई गाउँमै रोजगारी दिने योजनासहित बाली संरक्षण कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष लछिमान बोहराले बताए । ‘गाउँपालिकामा भारतबाट रोजगारी गुमाएर फर्किएका युवाको संख्या पनि ठूलो छ,’ उनले भने, ‘उनीहरूलाई गाउँमै रोकी उत्पादनका काममा लगाउने हाम्रो योजना हो ।’

उनले बाँझो जग्गामा खेती गर्ने गरी पकेट क्षेत्र निर्धारण गरिएको बताए । गाउँपालिकाले रैथाने बालीहरू फापर, ओखर, आलु र तरकारीको छुट्टाछुट्टै पकेट क्षेत्र निर्धारण गरेको छ । ती बालीलाई ७ वटा ब्लकमा विभाजन गरी खेतीको अवधारणा अघि बढाइएको उनले बताए । ‘रैथाने बालीबाटै स्थानीयलाई आत्मनिर्भर बनाउने हाम्रो योजना हो,’ उनले भने, ‘अन्य निकायबाट पनि सहयोग जुटाई यसलाई बृहत् कार्यक्रम बनाउन लागेका हौं ।’

Inside Article Ads

उनले रैथाने बाली संरक्षणका लागि यो वर्ष २४ लाख १० हजार रुपैयाँ विनियोजन भएको जानकारी दिए । संघीय सरकारले पातारासी गाउँपालिका–१ स्यालागडीलाई फापर, २ नम्बर वडाको पेरेलाई सिमी, वडा नं. ३ लाई कालीमार्सी धान र ४ नम्बर वडाको लुमलाई चिनो तथा कागुनोको पकेट क्षेत्र घोषणा गरेको छ ।त्यस्तै, ५ नम्बर वडाको लोर्पामा ओखर, ६ नम्बरको उर्थुमा तरकारी र वडा नं. ७ को पट्मारामा आलुको पकेट क्षेत्र तोकिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । उनका अनुसार ७ वटै वडामा करिब ५ हजार हेक्टर जग्गामा छ ।

गाउँपालिकाले फापरमा ७ लाख ७० हजार, सिमीमा ५ लाख ८५ हजार, कालीमार्सीमा ४ लाख ८५ हजार, कागुनोमा ४ लाख ५ हजार, ओखरमा ५ लाख ८५ हजार र आलु पकेट क्षेत्रका लागि ८ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । उनले वडा नम्बर–३ स्थित हुरीलाई आलु पकेट क्षेत्र बनाउन आवश्यक प्रक्रिया सुरु गरिएको बताए । ‘रैथाने बाली संरक्षणमार्फत युवालाई गाउँमै स्वरोजगार बनाउने हाम्रो योजना हो,’ उनले भने, ‘ जसका लागि कृषि विकास कार्यालयसहित अन्य निकायसँग सहकार्य भइरहेको छ ।’

(कान्तिपुर दैनिक)

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.