Fast Nepal News

भ्रष्टाचारको चमत्कार (कविता )

— डा. बमबहादुर थापा ‘जिताली'

banner single news


सरकारका मन्त्रीहरु भ्रष्ट छैनन् कोही
सुन, हात्ती हत्याएर बनेका छन् गोही ।
अठहत्तर अडियोको समाचार सुन्दा
लाखमाथि करोडमा कति हुन्छ गुन्दा ?

जेब्रा झोला भरिएको हात्ती कल्ले खायो ?
मन्त्रीपुत्र, भ्रष्ट सूत्र भएभर आयो ।
नाइकेले भन्नुहुन्छ खान दिन्न घूस
भ्रष्टाचार चमत्कार भएको छ जुस ।।

काण्डमाथि प्रकाण्ड छन् मण्डलमा सारा
ढुङ्गामाटो पाटो, बाटो चपाउने दाह्रा ।
दाह्राभन्दा बङ्गारा झन् हात्ती चपाउँछन्
घ्याम्पे भुँडी हुनेहरु सारा पचाउँछन् ।।

चमत्कार हुन थाल्यो चम्चा डाडु मिल्दा
सहकारी भिजिट भिसा चारै दिशा निल्दा ।
दायाँ–बायाँ मिलाएर खाने बाटो खने
खान बाँकी केही छैन ! दुनियाले भने ।।

युवाशक्ति बेची खाए श्रम, सीप तारी
युवा पनि नपाएर बेच्न थाले नारी ।
नर नारी नारायण बेचेका छन् पारि
निर्देशन, सुशासन चलेको छ वारि ।।

आलोपालो गरी खान बाह्र बूँदा बने
मिलिजुली खाएपछि खाल्टो आफैं खने ।
शान्तिक्षेत्र पल्टाउने परिपञ्च पाले
सेतोलाई खैरो पारे सम्पन्नता फाले ।।

खैरोलाई कालो पार्ने प्रगतिमा लागे
आदर्श र विकासका नीति सबै भागे ।
गरिबीमा पैलो पारे यसै गरी–गरी
भ्रष्टाचार चमात्कार चल्यो चर्खासरि ।

सत्ताभित्र सनातनी भूमि हरण गरे
सात पुस्ता पुग्ने गरी झोले भुँडी भरे ।
मिसनमा कमिसन बनेको छ तारो
किसानको भैँसी आज बसेको छ थारो ।।

भ्रष्टाचारी जति सबै सदनमा सरे
धुन्दुकारी, हन्तकाले मन्त्री हुने अरे !
नीतिगत भ्रष्टाचार मन्त्रीजीले गर्छन्
जेलभित्र मन्त्री होइन कर्मचारी पर्छन् ।।

सहकारी भकारीमा धुन्दुकारी पसे
दुनियाको दानापानी खान कम्मर कसे ।
खानेलाई जोगाएर अरुलाई डसे
दिनेलाई भगाएर दरबारमा बसे ।।

नागरिक हकलाई भद्रगोल पारे
विदेशीको बथानमा रैथानेले हारे !
सदनको चालामाला सिक्किम झैं होला
फिजी हुन बेर छैन भरेपछि झोला !!

गणतन्त्र गाडियो लुटेर !
लोकतन्त्र भाँडियो फुटेर !!

Inside Article Ads
Visited 121 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.