
भदौ, काठमाडौं । लामो समयदेखि बिरामी रहेका मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
मस्तिष्कको सर्जरी गरेर दिल्लीस्थित आर्मी आरआर अस्पतालमा उपचाररत उनी कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितसमेत बनेका थिए । सोमबार उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका हुन् ।
लगतै राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल टि्वटरमा लेखेकी छन्, ‘भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज भएको दुःखद् निधनबाट मर्माहत भएको छु ।राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको बताएकी छन् । नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुखर्जीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालले एक महान् मित्र गुमाएको बताएका छन् । ओलीले टि्वटरमा लेखेका छन् ‘सार्वजनिक जीवनको विभिन्न तहमा नेपाल-भारतको सम्बन्ध बलियो बनाउनका लागि उनको भूमिकालाई सम्झनेछौं’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले मुखर्जीको निधनले दक्षिण एसियाले एक परिपक्क र अनुभवी बौद्धिक नेता र नेपालले एक अनन्य मित्र गुमाएको उल्लेख गरेका छन् । प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्‘मैले प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिको रूपमा नेपालमा स्वागत गर्न पाएको अवसरको स्मरण गर्दै यस दुःखद् क्षणमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु’
देउवाले टि्वटरमा भनेका छन् ,नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुखर्जीलाई नेपालको साँचो मित्र तथा दूरदर्शी नेताको रूपमा चित्रण गरेका छन् । ‘शोकसन्तप्त परिवारजन र भारतीय जनताप्रति समवेदना प्रकट गर्दछु’
जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुखर्जीको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् । भट्टराईले टि्वटरमा लेखेका छन्, ‘उहाँ नेपालको असल मित्र र दक्षिण एसियाकै अनुभवी नेता हुनुहुन्थ्यो ।’
विगत दुई दशकदेखि मुखर्जीसँग निरन्तर सम्पर्कमा रहेका नेपाली कांग्रेस नेता डा. शेखर कोइराला मुखर्जीले नेपालका नेताहरूलाई आदर सम्मान गर्ने गरेको स्मरण गर्छन् । उनी नेपालमा लोकतान्त्रिक शासन व्यवस्था हुनुपर्छ भन्ने पक्षमा रहेको कोइरालाको भनाइ छ ।
‘उहाँले शान्ति प्रक्रियामा दलहरूबीच सहमति जुटाउन महत्वपूर्ण भूमिका खेल्नुभयो’ डा. कोइराला भन्छन्, ‘आफ्नो देशमा पनि उहाँ सहमतिको राजनीतिकै लागि चर्चित हुनुहुन्थ्यो ।’
विदेशमन्त्री भएपछि पहिलोपटक मुखर्जी सन् २००६ को डिसेम्बरमा राजा ज्ञानेन्द्रलाई सार्क सम्मेलनको निम्तो दिन नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला उनले राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेका थिए ।
