
म्यान्मार – चैत २६
म्यान्मार, लन्डनकालागि म्यान्मारका राजदूतले आफूलाई राजदूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन्। समाचारसंस्था रोएटर्ससँग कुरा गर्दै लन्डनस्थित म्यान्मारका राजदूतले आफूलाई राजदूतावास प्रवेश गर्न नदिइएको जानकारी दिएका हुन्। क्व जो मीनले सैनिक सहचारीले कर्मचारीहरूलाई राजदूतावासबाट निस्किन निर्देशन दिएको र आफूलाई उनले अब देशको प्रतिनिधि नरहेको जानकारी गराएको जनाएका छन्।
म्यान्मारमा सेनाले माघ १९ गते देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो। त्यसपछि त्यहाँ विरोधप्रदर्शनहरू भइरहेका छन्। म्यान्मारमा प्रजातान्त्रिक नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न दबाव दिनका लागि आयोजना गरिएका प्रदर्शनहरूमा ५०० जनाभन्दा बढी सर्वसाधारणहरूको ज्यान गइसकेको छ। तीमध्ये दर्जनौँ बालबालिका पनि छन्। एजेन्सी
