Fast Nepal News

जोखिमका वेला काबुलमा काम लगाएका नेपालीलाई डिपोर्ट गर्दै बेलायत

banner single news

२३ चैत, काठमाडौं अफगानिस्तानमा तालिबानको शासन सुरु भएसँगै काबुलस्थित बेलायती राजदूतावासको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मी लन्डन फर्काएको बेलायतले अहिले उनीहरूलाई नेपालतर्फ ‘डिपोर्ट’ गर्न लागेको छ । बेलायती राजदूतावास हटेसँगै काबुलबाट लन्डन लगिएका र त्यहीँ काम गरिरहेका ११ जना नेपाली सुरक्षागार्डलाई हिरासतमा राखेर नेपाल फर्काउन लागिएको हो ।

नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल
स्थायी बसोवास अनुमति पाएकालाई पनि किन डिपोर्ट गर्न लागिएको हो भनेर हामीले जवाफ मागेका छौँ

बेलायतको समाचारपत्र द गार्जियनले समाचार प्रकाशित गरेपछि लन्डनस्थित नेपाली राजदूतावासले बेलायतसँग यसबारे जानकारी मागेको छ । ‘हामी ती नेपालीसँग सम्पर्कमा छौँ । उनीहरूसँग आइएलआर (बेलायतमा उनीहरूले चाहेसम्म बस्न, नोकरी गर्न र बेलायती नागरिकताका लागि आवेदन गर्न सक्नेसम्मको हैसियतको डकुमेन्ट) हुँदाहुँदै किन डिपोर्ट गर्न लागिएको हो भनेर जानकारी पनि मागेका छौँ,’ लन्डनस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनालले नयाँ पत्रिकासँग भनिन् । गार्जियनका अनुसार बेलायतबाट दुईजना भारतीय र ११ जना नेपाली सुरक्षाकर्मीलाई डिपोर्ट गर्न लागिएको छ । उनीहरू सबैजनालाई हिरासतमा राखिएको छ ।

हिरासतमा रहेकामध्ये ३७ वर्षीय नेपाली नागरिक बमबहादुर गुरुङले एक दशकभन्दा बढी समय अफगानिस्तानको काबुलमा काम गरेको, बेलायती दूतावासमा काम गरिरहँदा तालिबानले सत्ता लिएसँगै लन्डन फर्केको गार्जियनलाई बताएका छन् । उनीहरूलाई २७ मार्चमा बेलायतको अध्यागमनले पक्राउ गरेको छ । कतिपयसँग स्थायी बसोवासका लागि अनुमति नभएको भन्दै बेलायत सरकारले पक्राउ गरेर सम्बन्धित देश पठाउन लागेकोमा गुरुङ पनि परेका छन् ।

Inside Article Ads

उनीहरूलाई ११ अप्रिलदेखि बेलायतबाट पठाउन लागिएको गार्जियनले समाचार छापेको छ । गुरुङ र अर्का नेपालीको प्रतिनिधित्व गर्ने डंकन लुइस सलिसिटरका जेमी बेलले भने गार्जियनसँग भनेका छन्, ‘यी मानिसले आफ्नो ज्यान जोखिममा राखेर काबुलस्थित बेलायती दूतावासको सुरक्षाका लागि काम गरे । उनीहरूलाई कानुनी रूपमा बेलायत लगियो र उनीहरूलाई बेलायतमा स्थायी बसोवास दिइनेछ भन्ने विश्वास दिलाइयो । बरु, बेलायतमा जीवन बिताउन अनुमति दिएपछि उनीहरूलाई धोका दिएर हिरासतमा राखिएको छ । सरकारी अधिकारीले उनीहरूप्रति यस्तो व्यवहार गर्नु खेदजनक छ ।’

समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.