पछिल्लो समय बागमती प्रदेशमा डेंगु संक्रमित बढ्दै गएका छन् ।
प्रदेशमा ७९ जना डेंगु सङ्क्रमित थपिएका हुन । असारको २७ गते बिहीबारसम्म काठमाडौँमा ३५, चितवनमा २४, काभ्रेपलान्चोकमा १५, ललितपुर ३ र मकवानपुर, नुवाकोटमा एक एक जना डेंगु संक्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा सात जना डेंगु संक्रमित थपिएका छन् । वैशाखपछि बागमती प्रदेशका जिल्लाहरूमा डेंगु संक्रमण बढ्न थालेको तथ्यांक छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार असारमा प्रदेशका काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, नुवाकोट र काभ्रेपलान्चोकमा डेंगुका बिरामी फेला परेका हुन् । चालू आर्थिक वर्षको साउनदेखि असार २७ गते बिहीबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार ८८३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
चालू आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५४५ र सबैभन्दा कम रसुवामा ३ जनामा डेंगु पुष्टि भएको थियो । तथ्याङ्कअनुसार चालू आवको हालसम्म काठमाडौँमा तीन हजार १७९‚ चितवनमा एक हजार ७७३‚ ललितपुरमा एक हजार ४५८‚ मकवानपुरमा ८९३‚ भक्तपुरमा ५२२‚ काभ्रेपलान्चोकमा २०२ जनामा डेंगु पुष्टि भएको छ ।
त्यस्तै नुवाकोटमा ९१‚ दोलखामा ७९‚ रामेछापमा ३८‚ सिन्धुपाल्चोकमा ६७ र सिन्धुलीमा ३३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा।रविन भुसालले जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार चालू आवको साउनमा दुइ हजार ५१८‚ भदौमा दुई हजार ८०९‚ असोजमा दुई हजार ८१६‚ कार्तिकमा दुई हजार ७०‚ मङ्सिरमा ७६९‚ पुसमा २१५‚ माघमा ६७‚ फागुनमा ७९ र चैतमा २०९, वैशाखमा १३६, जेठमा ११६ जनामा डेंगु संक्रमण पुष्टि भएको तथ्याङ्क छ ।