
१५ मंसिर ,काठमाडौं-छत्तीसऔँ विश्व एड्स दिवसको अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएको छ ।
सन् २०१० देखि २०२२ सम्म नयाँ एचआइभी सङ्क्रमण दर ७७ प्रतिशतले घट्नु, एड्सका कारण हुने मृत्यु ८० प्रतिशतले घट्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताउनुभयो ।
मन्त्री बस्नेतले सन् २०३० सम्म नेपालबाट एचआइभी उन्मूलन गर्ने लक्ष्य चुनौतीपूर्ण भएको उल्लेख गर्दै एचआइभी उन्मूलनका लागि समुदायसँग हातेमालो गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छाले एचआइभी सङ्क्रमण दर घटाउन नेपालले सफलता हासिल गरे पनि अन्त्य गर्न अझै चुनौती रहेको बताउनुभयो ।