Fast Nepal News

खाद्यले खरीद गर्‍यो ७८ करोड १४ लाखको धान

banner single news

काठमाडौं – चैत २४

काठमाडौं, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष ७८ करोड १४ लाख ८५ हजार रुपैयाँ बराबरको धान खरीद गरेको छ । कम्पनीले आफ्नो मातहत रहेका देशभरका खरीद केन्द्र तथा शाखामार्फत चैत १२ सम्ममा उक्त रकम बराबरको २७ हजार ७९१ मेट्रिक टन धान खरीद गरेको हो ।

कम्पनीले चालू आर्थिक वर्षका लागि सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद कार्य अन्तिम चरणमा रहेको बताएको छ । अहिले निकै न्यून मात्रामा मात्र धान विक्री गर्ने किसान आएकाले केही समयभित्रै खरीद कार्य स्थगित हुने जानकारी दिइएको छ । चालू आर्थिक वर्षका लागि ६० हजार मेट्रिक टन धान खरीदको लक्ष्य लिएको कम्पनीले सो लक्ष्य नभेट्ने देखिएको छ । किसानबाटै व्यापारिक प्रयोजनका लागि मोटा धान कम मात्रामा आएपछि खरीद लक्ष्य भेट्न कठिन भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् ।

देशमा आइपर्ने विभिन्न किसिमका महामारी, भोकमरी जस्ता समस्याका बेलामा तत्काल आपूर्ति गर्न सरकारले करीब ३३ हजार मेट्रिकटन खाद्यान्न मौज्दात राख्ने गर्दछ । खाद्यान्नको मौज्दात पर्याप्त राख्न कम्पनीले हालै करीब ५ हजार मेट्रिक टन चामल खरीदका लागि टेन्डर आह्वान गरेको न्यौपानेले जानकारी दिइन् ।

Inside Article Ads

कम्पनीले गतवर्षको वैशाखमा कोरोना महामारीका कारण गहुँ समेत लक्ष्य अनुरूप खरीद गर्न सकेको थिएन । ३ हजार मेट्रिक टन खरीद लक्ष्य भए पनि ६० मेट्रिक टन मात्र खरीद भएको थियो । चालू आर्थिक वर्षका लागि भने कम्पनीले ५ हजार मेट्रिक टन गहुँ खरीद गर्ने तयारी थालेको छ ।

केही दिनअघि कृषि तथा पशुपन्छी मन्त्रालयले यस वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेसँगै कम्पनीले खरीदको तयारी थालेको हो । मन्त्रालयले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३१ सय ११ रुपैयाँ निर्धारण गरेको छ । यो मूल्य गत आर्थिक वर्षको भन्दा ९६ रुपैयाँ बढी हो । गतवर्ष मन्त्रालयले प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ मूल्य निर्धाण गरेको थियो । आर्थिक अभियान दैनिकबाट

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.