
अकल्याण्ड, न्यूज़ील्याण्ड — नेपाली जनसम्पर्क समिति न्यूज़ील्याण्डले आफ्नो आसन्न अधिवेशनलाई केन्द्रमा राख्दै सङ्गठन सुदृढीकरण र लोकतान्त्रिक संस्कारको गहिरो आधार निर्माण गर्ने अभियान अन्तर्गत क्रियाशील सदस्यता संकलन अभियान सुरु गरेको छ।
यस ऐतिहासिक पहलको अग्रभागमा छन् — समितिका ऊर्जाशील, दूरदर्शी र समर्पित सभापति बुद्धि सागर घिमिरे।
घिमिरेको नेतृत्वमा समिति पछिल्लो समय सङ्गठनात्मक स्पष्टता, विचारधारात्मक निष्ठा र समावेशी सहभागिताको संयोजनमार्फत उदाहरणीय यात्रा तय गर्दैछ। अभियानको घोषणा गर्दै उनले सशक्त भनाइ दिएका छन्:
“नेपाली जनसम्पर्क समिति केवल संगठन मात्र होइन, प्रवासी नेपालीहरूको आत्मा बोकेको साझा मञ्च हो। यो संस्थाको आधारशिला हामी सबैको सक्रिय सहभागिता हो।आजको दिन नेतृत्व होइन, संगठनप्रतिको उत्तरदायित्वबोध चाहिएको छ। म सबै नेपाली काँग्रेस समर्थकलाई आग्रह गर्दछु – कृपया क्रियाशील सदस्यता फारम भरी सहभागिता जनाउनुहोस्।
हामी सँगै छौं भने अधिवेशन मात्र होइन, प्रवासी भूमिमा काँग्रेसको उज्यालो भविष्य पनि सुनिश्चित हुन्छ।”उनको प्रेरणादायी पहललाई साथ दिँदै नेविसंघ केन्द्रीय सदस्य रोशन श्रेष्ठले पनि प्रवासी भूमिमा विचारधाराको जग बलियो बनाउन आवश्यक रहेको बताए।
उनले स्पष्ट शब्दमा भने:“बुद्धि सागर दाइको नेतृत्वले हामी प्रवासी काँग्रेस समर्थकहरूलाई एउटै सूत्रमा बाँधेको छ।
अधिवेशन हाम्रो संगठनको शक्ति प्रदर्शन मात्र होइन, लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धताको कसम पनि हो।”
त्यस्तै, युवा आवाजको प्रतिनिधित्व गर्दै शंकरदेव क्याम्पस स्ववियु सदस्य सुलभ हमालले भने,
“बुद्धि दाइजस्तो दूरदर्शी नेतृत्वमा युवाहरूलाई ठाउँ दिइने विश्वासले हामी उत्साहित भएका छौं।
प्रवासी भूमिमा युवाको ऊर्जाशील सहभागिताले पार्टीलाई नयाँ दिशा दिनेछ। हामी सबै मिलेर अधिवेशनलाई ऐतिहासिक बनाउनेछौं।” सदस्यता संकलन कार्य सम्बन्धित संयोजक वा प्रतिनिधिमार्फत व्यवस्थित ढंगले अगाडि बढाइने जनाइएको छ।
समितिका अनुसार अधिवेशनको मिति, स्थान र विस्तृत कार्यतालिका चाँडै नै सार्वजनिक गरिनेछ।