
लन्डन — ७ जेष्ठ
लन्डन , बेलायती संसद्को उपल्लो सदन हाउस अफ लर्ड्समा नेपाललाई कोभिडविरुद्ध सहयोग गर्नेबारे बहस भएको छ । बिहीबार दिउँसो १२:४० देखि करिब ११ मिनेटसम्म भएको बहसमा सदनका सदस्यहरूले नेपाल कोभिड १९ महामारीबाट ज्यादै प्रभावित भइरहेको उल्लेख गर्दै तत्काल बेलायती सहयोग पठाउन माग गरेका हुन् ।
सुरुमा लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले भाइरसविरुद्ध लड्न नेपाल सरकारले २० लाख खोप उपलब्ध गराउन ब्रिटेनसँग गरेको आग्रहबारे जिज्ञासा राखेका थिए । उनले दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटेनको हरेक द्वन्द्व र संकटमा नेपालीहरूले लडेर आफ्नो ज्यानको आहुति दिएको स्मरण गर्दै अहिले नेपालले संकट झेलेका बेला आफूहरूले पनि किन सहयोग नगर्ने भनी प्रश्न गरे ।
प्रत्युत्तरमा बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले ब्रिटेनले कोभ्यासका लागि ५ सय ४८ मिलियन पाउन्ड उपलब्ध गराएको जनाउँदै तीन महादेशमा ५९ मिलियन डोज खोप आपूर्ति भइसकेको बताएका थिए । उनले कोभ्याक्सअन्तर्गत करिब २० लाख डोज नि:शुल्क छुट्टयाएको र त्यसमध्ये ३ लाख ४८ हजार डोज नेपालमा डेलिभरी भइसकेको सदनलाई जानकारी गराए ।
लर्ड अहमदले आफू नेपाल सरकारसँग प्रत्यक्ष सम्पर्कमा रहेको र नेपालका परराष्ट्रमन्त्रीसँग बुधबार प्रमुख आवश्यकतासम्बन्धमा रचनात्मक बैठकसमेत भएको जनाउँदै नेपाली राजदूत लोकदर्शन रेग्मीसँग भेट गर्ने बताए ।
बेलायतले नेपाल प्रहरी अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि आर्थिक सहयोग गरेको उल्लेख गर्दै लर्डले थप सहयोग के गर्न सकिन्छ भनेर विभिन्न सरोकारवाला निकायसँग काम गरिरहेको पनि उनले सदनलाई जानकारी दिएका छन् ।
लर्ड पोपटले पनि नेपाल र बेलायतबीच दक्षिण एसियामै सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै गोर्खा सैनिक र आरोहीहरूको प्रतिनिधित्व गर्ने मित्रराष्ट्रका लागि प्रभावकारी माध्यमबाट सहयोग गर्न के–कस्ता कदमहरू चालिएका छन् भनेर सोधेका थिए ।
जवाफमा लर्ड अहमदले काठमाडौं र बेलायतस्थित नेपाल सरकारका प्रतिनिधिसँग सिधा सम्पर्क भइरहेको र नेपालको स्वास्थ्य मन्त्रालयलाई सहयोग एवं प्राविधिक विज्ञहरू पठाउन लागिएको जनाए । उनले काठमाडौं र बेलायतमा नेपाल सरकारका प्रतिनिधिसँग संवाद जारी राखिने पनि बताए ।
बहसमा अर्ल अफ स्यान्डविचले नेपालको सन् २०१५ को शक्तिशाली भूकम्प र अहिलेको आपत्कालीन अवस्थाबारे बताउँदै बेलायतले खोप र अक्सिजनको मागबारे पर्याप्त प्रतिक्रिया दिइरहेको छ कि छैन भनेर सोधेका थिए ।
जवाफमा लर्ड अहमदले ब्रिटेनले अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर सम्भव भएसम्म नेपालको आवश्यकता पूर्तिका लागि कदम चालिने आश्वासन दिएका छन् ।
उता, यूके नेपाल व्यापार तथा लगानी मञ्चका संस्थापक तथा अध्यक्ष एवं बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल उपाध्यक्ष लर्ड सेखले नेपाल ज्यादै संकटपूर्ण अवस्थामा रहेकाले तत्काल सहयोग आवश्यक रहेको बताए ।
आफ्नो बेलायतस्थित नेपाली डायस्पोरा र राजदूतसँग कयौं पटक छलफल भएको उल्लेख गर्दै लर्ड सेखले नेपाललाई यतिखेर आइसीयू भेन्टिलेटर्स, अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट, आइसीयू बेड, परीक्षण किट्स र खोप अति जरुरी भएको पनि स्मरण गराए । उनले मुस्लिम च्यारिटीलाई नेपालमा तत्काल सहयोग गर्न आग्रह गरिरहेको पनि बताए ।
लन्डनस्थित नेपाली दूतावासले यसअघि नै बेलायत सरकारसँग सहायताका लागि आग्रह गरिसकेको छ । तर, अहिलेसम्म के–कति सहायता नेपाल पठाउने भन्ने निर्णय आइनसकेको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले कान्तिपुरलाई बताइन् ।
बेलायतको नेपाली समुदाय पनि अहिले नेपालमा सहयोग पठाउन जुटिरहेको छ । एनआरएनए यूकेको संयोजनमा नेपालमा एक सयवटा अक्सिजन कन्सन्ट्रेटर मसिन पठाउने तयारी भइरहेको संघले जनाएको छ ।
( आजको कान्तिपुर दैनिकमा )
