Fast Nepal News

ग्रिनल्यान्डमा अमेरिकाले कदम नचाले रूस–चीन अघि सर्ने ट्रम्पको दाबी

banner single news

 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई लिएर कडा अभिव्यक्ति दिएका छन् । अमेरिकाले ग्रिनल्यान्ड सम्बन्धी कुनै कदम नचाले रूस र चीनले ग्रिनल्यान्ड कब्जा गर्न सक्ने दाबी गर्दै उनले त्यसो हुन नदिने चेतावनी दिएका छन् । डेनमार्कको सन्दर्भमा ट्रम्पले ५०० वर्षअघि एउटा डुंगा त्यहाँ पुगेकै आधारमा जमिनको स्वामित्व दाबी गर्न नमिल्ने टिप्पणी गरे ।

तेल तथा ग्यास क्षेत्रका शीर्ष कार्यकारीहरूसँगको भेटका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने,“ग्रिनल्यान्डको विषयमा हामी केही न केही गर्नेछौं, उनीहरूलाई मन परोस् वा नपरोस् । यदि हामीले केही गरेनौं भने रूस वा चीनले त्यहाँ कब्जा जमाउनेछन् र हामीलाई रूस वा चीन छिमेकी चाहिँदैन ।” उनले थपे,“म सजिलो तरिकाले सम्झौता गर्न चाहन्छु, तर सजिलो बाटो नआए कडा तरिकाबाट पनि गर्नेछौं ।”
डेनमार्कप्रति आफू सकारात्मक रहेको उल्लेख गर्दै उनले भने,“म डेनमार्कको समर्थक हुँ । उनीहरू म प्रति राम्रो छन् । तर ५०० वर्षअघि एउटा डुंगा त्यहाँ पुगेको भन्दैमा त्यो जमिन उनीहरूको हुन्छ भन्ने होइन । हामीका पनि धेरै डुंगा त्यहाँ पुगेका थिए ।” उनले हाल ग्रिनल्यान्ड वरिपरि रूसी र चिनियाँ युद्धपोत तथा पनडुब्बीको उपस्थिति बढेको दाबी गर्दै अमेरिका त्यसलाई स्वीकार नगर्ने स्पष्ट पारे ।

ग्रिनल्यान्ड ‘किन स्वामित्वमा लिनुपर्छ’ भन्ने प्रश्नमा ट्रम्पले भने,“स्वामित्व भएको कुरा हामी रक्षा गर्छौं, भाडामा लिएको जस्तै होइन । देशहरूले स्वामित्व लिनुपर्छ र त्यसको रक्षा गर्नुपर्छ । यदि हामीले गरेनौं भने चीन वा रूसले गर्नेछन, तर त्यो हुन दिइनेछैन ।” उनले नाटोबारे टिप्पणी गर्दै भने,“म नाटोको समर्थक हुँ । मैले नै नाटोलाई बचाएँ । म नभएको भए नाटो रहने थिएन ।”
ट्रम्पले प्राकृतिक स्रोतसाधनले धनी अर्ध–स्वायत्त डेनिस भूभाग ग्रिनल्यान्डलाई कब्जा गर्ने आफ्नो प्रयास पुनः तीव्र पारेका छन् । ग्रिनल्यान्डमा दुर्लभ खनिज, युरेनियम र फलामजस्ता स्रोतहरू रहेको बताइन्छ । सन् २०१९ मा आफ्नो पहिलो कार्यकालका क्रममा उनले ग्रिनल्यान्ड खरिद गर्ने प्रस्ताव गरेका थिए, तर डेनमार्कले त्यो बिक्रीमा नरहेको बताएको थियो ।

रूस र चीनले अन्य मुलुकका भूभागमा दाबी गर्न सक्ने चिन्ता ट्रम्पले यसअघि पनि दोहो¥याउँदै आएका छन् । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने हालैको कारबाहीबारे उनले भने, “हामीले त्यो नगरेको भए चीन वा रूस भेनेजुएलामा पुगिसक्थे ।”
युरोपसम्बन्धी अर्को प्रश्नमा ट्रम्पले वायु ऊर्जाप्रति कडा आलोचना गरे । उनले भने, “म वायु चक्कीको समर्थक होइन । म गर्वका साथ भन्न सक्छु—म राष्ट्रपति भएपछि एउटा पनि वायु चक्की अनुमोदन गरिएको छैन र अब पनि गरिने छैन ।” उनका अनुसार वायु चक्कीले घाटा बेहोर्छन्, प्राकृतिक दृश्य नष्ट गर्छन्, चराचुरुङ्गी मार्छन् र अधिकांश चीनमा बनाइन्छन् ।

Inside Article Ads

ट्रम्पले चीनले आफैं कति वायु चक्की प्रयोग गर्छ भनेर युरोपले प्रश्न गर्नुपर्ने बताए । “चीनले कोइला, तेल, ग्यास र केही परमाणु ऊर्जा प्रयोग गर्छ । उनीहरूसँग वायु चक्की छैनन् । उनीहरू बनाउँछन् र युरोप तथा पहिले अमेरिकाजस्ता ‘भोका’ मुलुकलाई बेच्छन्,” उनले भने ।

यसैबीच, ट्रम्पले बुधबार अमेरिकाका हितविपरीत रहेका अन्तर्राष्ट्रिय संस्था, महासन्धि र सम्झौताबाट बाहिरिने निर्देशनसहित एक राष्ट्रपतीय स्मरणपत्रमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसद्वारा सार्वजनिक विवरणअनुसार अमेरिका ३५ गैर–संयुक्त राष्ट्रसंघीय संस्था र ३१ संयुक्त राष्ट्रसंघीय निकायबाट बाहिरिनेछ ।

गैर–संयुक्त राष्ट्रसंघीय संस्थामध्ये भारत र फ्रान्सको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन), अन्तरसरकारी जलवायु परिवर्तन प्यानल (आईपीसीसी), अन्तर्राष्ट्रिय ऊर्जा मञ्च, अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी लगायतका संस्थाहरू समावेश छन् । एएनआई

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.