जापानको विमानस्थलमा दोस्रो विश्वयुद्ध ताकाको अमेरिकी बम विस्फोट भएको छ।
जमीनमुनि गाडिएको बम विस्फोट हुँदा ट्याक्सीवेमा एउता ठूलो खाल्डो भएको छ। जसकारण ८० भन्दा बढी उडान रद्द गर्नुपरेको जापानी अधिकारीले बताएका छन्।
जापानको भूमि तथा यातायात मन्त्रालयका अधिकारीले यस घटनामा कोही पनि घाइते नभएको जानकारी दिएका छन्। उनीहरूका अनुसार बुधबार जापानको दक्षिण(पश्चिमी क्षेत्रको मियाजाकी विमानस्थलमा बम विस्फोट हुँदा घटनास्थल नजीक कुनै विमान थिएन।
आत्मरक्षा दल र प्रहरीले गरेको घटनाको अनुसन्धान अनुसार उक्त विस्फोट ५०० पाउन्डको अमेरिकी बमबाट भएको हो। अधिकारीहरुले अहिले थप कुनै खतरा नभएको बताएका छन्।
दोस्रो विश्वयुद्धकालीन यो पुरानो बम अचानक किन विस्फोट भयोरु यसको कारण पत्ता लगाउने प्रयास जारी छ। समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार स्थानीय जापानी टेलिभिजन फुटेजले देखाएको थियो कि ट्याक्सीवेमा भएको खाल्डो करीब सात मिटर व्यासको र एक मिटर गहिरो थियो।
मियाजाकी विमानस्थल नजीकै रहेको एक उड्डयन विद्यालयले रेकर्ड गरेको विस्फोटको फुटेजले फोहोरा जस्तै हावामा अस्फाल्टका टुक्राहरू उडिरहेको देखिएको छ। जापानी रक्षा मन्त्रालयका अधिकारीले बताए अनुसार दोस्रो विश्वयुद्धको समयमा अमेरिकी सेनाद्वारा खसालिएका तर नफुटेका धेरै बम उक्त क्षेत्रमा फेला परेका छन्। मियाजाकी विमानस्थल सन् १९४३ मा निर्माण गरिएको थियो।