मस्को र किएभबीच चलिरहेको द्वन्द्वका बीच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह गरेको छ ।
अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिल्ली–मस्कोको बलियो सम्बन्धलाई उल्लेख गर्नुका साथै पुटिनलाई संयुक्त राष्ट्रको बडापत्रको सम्मान गर्न आग्रह गरेका छन् ।
‘रुससँग भारतको लामो समयदेखि सम्बन्ध रहेको हामी सबैलाई थाहा छ । हामीले भारतलाई रुससँगको त्यो लामो समयदेखि रहेको सम्बन्धलाई चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि उपयोग गर्न आग्रह गर्दछौँ । साथै राष्ट्रपति पुटिनलाई युद्धको अन्त्य गर्दै न्यायपूर्ण, स्थायी शान्ति खोज्न आग्रह गर्न भारतलाई प्रोत्साहित गरेका छौँ,’ मिलरले भनेका छन् ।
हालै मस्कोको आधिकारिक भ्रमणमा आएका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका क्रममा प्रधानमन्त्री मोदीले भावी पुस्ताका लागि शान्ति ‘सबैभन्दा महत्त्वपूर्ण’ रहेको बताएका थिए ।
उनले युद्धको मैदानमा कुनै समाधान नभएको र बम, बन्दुक र गोलीको बीचमा शान्ति वार्ता सफल नहुने बताउँदै द्वन्द्व अन्त्य गर्न पनि अनुरोध गरेका थिए ।