अस्ट्रेलियाको न्यु साउथ वेल्समा व्यापक वर्षापछि आइतबार आएको बाढीका कारण सयौँ व्यक्ति प्रभावित भएका छन् । उत्तरपूर्वी सिड्नीमा भारी वर्षापछि बाढी र डुबानको जोखिमबाट सुरक्षा दिन करिब ३०० घर खाली गराइएको आपत्कालीन सेवाले जनाएको छ ।
संघीय विपद् व्यवस्थापनमन्त्री क्याथरिन किङले बाढीको पानीले छोटो समयमा नै राज्यभरि व्यापक क्षति पुर्याएको बताएकि छन्। “न्यु साउथ वेल्स सरकारले क्षतिको आकलन गर्न र यस विपत्तिको प्रभाव बुझ्ने कार्यलाई जारी राखेको छ,” मन्त्री किङले भनिन् ।
आपत्कालीन सेवा राज्यमन्त्री जिहाद डिबका अनुसार, उद्धारकर्मीले करिब २०० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थलमा पुर्याएका छन् । उनका अनुसार, करिब पाँच हजार स्वयंसेवकले रातभर काम गरेर प्रभावितलाई सहयोग गरेका थिए ।
राज्यका आपत्कालीन आयुक्त कार्लिन योर्कले बाढी प्रभावित क्षेत्रमा बाढीजन्य जोखिमबाट बच्न नियमित सूचना जारी गरिरहेको जानकारी दिएका छन् ।