Fast Nepal News

‘नेपालको विदेश नीतिमा प्राथमिकता दुई छिमेकी मुलुक नै हुनुपर्छ’

banner single news

११ असार,काठमाडौँ-पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले नेपालको विदेश नीतिमा सबैभन्दा बढी प्राथमिकता दुई छिमेकी मुलुक (भारत र चीन) हुनुपर्ने बताएका छन् ।

‘प्रोफेसर यदुनाथ खनाल लेक्चर सिरिज’ को दोस्रो शृंखला अन्तर्गत ‘नेपालको राष्ट्रिय हितको सुरक्षाः परिवर्तनशील अन्तर्राष्ट्रिय वातावरणमा विदेश नीति विकल्प’ बारे आफ्नो प्रस्तुती दिँदै पूर्वराजदूत समेत रहेका आचार्यले भने,‘नेपालको एउटा छिमेकी (भारत) छिटो दौडिएको हात्तीको जस्तो अवस्थामा छ भने अर्को छिमेकी (चीन) उडिरहेको ड्र्यागन हो ।’

उनले नेपाल भने कछुवाको गतिमा विस्तारै अघि बढिरहेको टिप्पणी गरे । आचार्यले नेपालले समयमै ‘ट्रान्जिट इकोनोमी’ को मौकालाई सदुपयोग गर्नुपर्ने बताएका थिए । ‘हामीले भारत र चीनले सहकार्य गर्दा होस् या प्रतिस्पर्धा गर्दा फाइदा लिन सक्नुपर्छ,’ उनले भने ।

यस्तै नेपाल एकका विरुद्ध अर्को शक्तिबाट प्रयोग हुन नहुने उनको सुझाव थियो । साथै, नेपालले आर्थिक प्रस्तावलाई मात्र स्वीकार गर्नुपर्ने उनले सुझाव दिए । उनले नेपालमा नेताहरुले राष्ट्रिय हितभन्दा पनि माथि उठेर सामाजिक सञ्जाल, पार्टीको लाइन र अन्य कारणले पक्ष लिने गरेको आरोप लगाए । ‘हाम्रा नेताहरुले कुनै समयमा त विदेशी हस्तक्षेप नै आन्तरिक राजनीतिमा निम्त्याउँछन्,’ उनले भने,‘विदेश नीतिका विषयमा हामीले गल्ती गर्न हुँदैन । यसले मुलुकलाई ठूलो क्षति पुर्‍याउँछ ।’

आचार्यले नेपालले ‘प्रो–एक्टिभ पब्लिक डिप्लोमेसी’ अपनाउनु पर्ने सुझाव दिए । उनले भने, ‘सोसल मिडिया डिप्लोमेसी पनि गर्नुपर्छ । उदाहरणको लागि अहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका दौरान अमेरिका र भारत दुवैले सोसल मिडियामा पोस्ट गरिरहेका छन् ।’

आचार्यले नेपालले करिब ८५ मुलुकमा फैलिएका डायस्पोरालाई संलग्न गराउने गरी काम गर्नुपर्ने पनि बताएका थिए । ‘अन्य मुलुकहरुले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई सामेल गरिरहेका छन् र नेपालले पनि त्यो गर्न आवश्यक छ,’ उनले भने ।

Inside Article Ads

उनले नेपालको आर्थिक कूटनीति पनि सिर्जनशील हुनुपर्ने बताए । साथै नेपालको कूटनीतिक क्षेत्रमा लगानी बढाउनु पर्ने उनको सुझाव थियो । ‘जम्मा बजेटको सानो भागबाट परराष्ट्र मन्त्रालयलाई छुट्याइएको छ । उदाहरणको लागि एक सय रुपैयाँमा २५ पैसा मात्र परराष्ट्र मन्त्राललाई छुट्टाइएको छ । सरकारले कूटनीतिमा लगानी गर्नुपर्छ । कूटनीतिमा लगानी गर्नु भनेको विलाशिताको लागि होइन,’ उनले भने ।

यस क्रममा उनले लुम्बिनीलाई पर्यटकीय क्षेत्र मात्र नभएर विश्वमा आध्यात्मिक र सांस्कृतिक सम्पदाको रुपमा पनि विकास गर्नुपर्ने सुझाव दिएका थिए । परराष्ट्र मन्त्रालयलाई बाइपास गरेर कूटनीति मामिलाका विषयमा काम गर्न नहुने पनि उनको भनाइ थियो । ‘एमसीसी र एसपीपीमा के भयो भन्ने हामी सबैले देख्यौं । त्यो सम्बन्धित परराष्ट्र मन्त्रालयलाई बाइपास गरेको कारणले भएको थियो,’ उनले भने ।

कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्यालले शृंखलामा राष्ट्रिय, क्षेत्रीय र विश्वका विभिन्न विषयमा छलफल गरिने र जसले नेपालको राष्ट्रिय हितलाई सहयोग पुर्‍याउने बताए ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 42 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.