काठमाडौं, कात्तिक २३ – अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो गृह राज्य डेलावेरमा पुगेर सम्बोधन गरेका छन्। यसअघि उनले हालका राष्ट्रपति रिपब्लिकन पार्टीका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको पक्षमा मत हाल्नेहरुलाई एकता र मेलमिलापको सन्देश पठाएका छन्।
पूर्व उपराष्ट्रपतिसमेत रहेका बाइडेनले यो अब एकले अर्कोलाई सुन्ने समय भएको बताएका छन्।यो कठोर वक्तव्यबाजी गर्ने समय नभएको उल्लेख गर्दै जोले यसलाई तनाव कम गर्ने र एकले अर्कोलाई सुन्ने समय भएको बताएका छन्। त्यसैगरी उनले आफ्ना विपक्षीलाई शत्रुका रुपमा व्यवहार नगर्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘हामीले हाम्रो विपक्षीलाई शत्रुको रुपमा व्यवहार गर्न रोकौं। उनीहरु हाम्रा शत्रु हैनन्। सबै अमेरिकी हुन्।’
डेलावेरको सम्बोधनमा उनले अब देशलाई रेड एन्ड ब्लु स्टेटका रुपमा नहेरिने बताए। अमेरिकालाई विश्वमै सम्मानीय बनाउने उल्लेख गर्दै उनले यो उपचारको समय भएको बताए। कोभिड-१९ संक्रमण अमेरिकामा तीव्र रुपमा फैलिएको छ। झन्डै एक करोडलाई संक्रमण हुँदा दुई लाख ३७ हजार बढी जनाको ज्यान गइसकेको छ। यस्तो बेलामा अब सबै उपचारमा खटिनुपर्ने उनको भनाई थियो।
सम्बोधनका क्रममा उनले आफ्ना छोराको अन्तिम संस्कारमा बजाएको गीत बजाउन लगाएका थिए। त्यसैगरी उनले आफ्नी पहिलो श्रीमतीलाई पनि सम्झेका थिए। उनकी पहिलो श्रीमती जिल ज्याकब र छोराको कार दुर्घटनामा परी निधन भएको थियो।